कृष्ण कंडेल
बागलुङ, २६ चैत – स्थानिय निर्वाचनको मिति जनिकिँदै गर्दा पश्चिम बागलुङको ढोरपाटन नगरपालिकाको प्रमुखका लागि मुख्य राजनीतिक दलले कसलाई उम्मेद्वार बनाउलान् भन्ने चर्चा निकै बढेको छ ।
बागलुङको निर्वाचन क्षेत्र नम्बर–३ को प्रशासनिक तथा व्यापारिक केन्द्र बुर्तिबाङ बजारलाई केन्द्र मानेर बनार्ईको ढोरपाटन नगरपालिकामा को–को उम्मेद्वार बन्नलान् भन्ने जिज्ञासासँगै आकांक्षीहरुको चर्चा पनि उत्तिकै छ । बुर्तिबाङलाई केन्द्र मानी वरिपरिको भुगोल समेटेर नगरपालिका बनाउने अभ्यास यसअघि देखि नै स्थानियले सुरु गरेका थिए ।
स्थानिय पुनर्संरचनाका क्रममा साबिकका ४ गाविस समेटेर ढोरपाटन नगरपालिका कायम भएपछि स्थानिय तहको निर्वाचनमा पश्चिममा रहेका अरु तिन गाउँपालिका भन्दा ढोरपाटन नगरपालिकाको बिषय स्थानिय रुपमा बढि महत्वको बनेको छ । नगरपालिकाको प्रमुख नगर सरकार अर्थात नगरकार्यकारी र नगर संसद अर्थात नगरसभा दुबै तर्फको प्रमुख हुने र स्थानिय तह आफैमा बलियो संरचना भएका कारण पनि नगरप्रमुखको चर्चा हुनु स्वभाबिकै हो । ढोरपाटन नगरपालिकाको प्रमुखमा मुलुककै ठुलो दल नेपाली कांग्रेस भित्र आधा दर्जन बढिको आकाङ्क्षा रहेको कार्यकर्ता विच चर्चा हुने गरेको छ ।
महाधिवेशन प्रतिनीधिहरु धिरप्रताप सिंह, अर्जुन शेरचन, सागर छन्त्याल, जित शेरचन, सिंहबहादुर राना र पुर्बजिल्ला कार्यसमिति सदस्य मेषलाल शर्मा लगायतको चाहना रहेको चर्चा छ । क्षेत्रीय सभापती द्रोणकुमार कुँवरको नाम पनि चर्चामा छ तर कुँवरले आफु मेयरको दावेदार नभएको बताएका छन् । काँग्रेसमा उम्मेद्वारी लिन चाहनेविच सबैभन्दा बढि रस्साकस्सि रहेको स्वयं नेताहरु नै बताउँछन् ।
प्रमुख प्रतिपक्षि नेकपा एमालेमा संघिय मालिया तथा स्थानिय विभाग प्रदेश नम्बर–४ का सदस्य टंकप्रसाद पौडेल, जिल्ला सचिवालय सदस्य लक्ष्मण पुन र जिल्ला सदस्य वीरबहादुर विश्वकर्माको आकाङ्क्ष रहेको अड्कल काट्ने गरिएको छ । सत्ताको नेतृत्वकर्ता माओवादी केन्द्रमा राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य चन्द्र आर्याल र केन्द्रिय सल्लाहकार शेरमान घर्तीको नाम कर्यकता माझ चर्चामा छ ।
यसअघि दोस्रो संविधानसभा निर्वाचनमा दोस्रो स्थान प्राप्त गरेका माओवादी नेता तुल्सिराम अर्यालको नाम ढोरपाटन नगरको प्रमुखका लागि चर्चामा रहेपनि अर्यालले आफ्नो चाहना नरहेको बताएका छन् । संघियताको बिपक्षमा रहेको पार्टि राष्ट्रिय जनमोर्चा भित्र जिल्ला सदस्य गौरिश्वर पाण्डे मेयरको उम्मेद्वार बन्न सक्ने चर्चा रहेको छ ।
बाम पार्टिहरु विच चुनाबी तालमेल गरेर निर्वाचनमा जाने चर्चापनि रहेका कारण त्यसो भएमा राजनीतिक दलको विचमा हुने सहमतिका आधारमा उम्मेद्वार तय गरिने छ । बागलुङमा बाम एकताको चर्चा माझ एमाले र जनमोर्चा विच चुनावी तालमेलको नीतिगत निर्णय भईसकेको नेताहरुले बताउने गरेका छन् ।
माओवादी केन्द्रको जिल्ला कार्यालय बैठकले भने स्थानिय आबश्यकताका आधारमा त्यहाँकै पार्टि कमिटिले को सँग तालमेल गर्ने भन्ने कुरामा निर्णय गर्न सक्ने अधिकार दिएको माओवादी नेताहरुले बताएका छन् । झण्डै दुई दशक पछि स्थानिय निकायलाई नयाँ संरचना गरि अधिकारसम्पन्न स्थानिय तह बनाएपछि हुन लागेको निर्वाचन भएका कारणले पनि यो स्थानिय निर्वाचनको धेरै महत्व रहेको जानकारहरु बताउँछन् ।