बागलुङ, २५ चैत – नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले अवको बजेट, आर्थिक नीति र मौद्रीक नीति कृषि, पर्यटन र उर्जाको विकासमा लगानी हुने गरी बन्ने बताएका छन् ।
बागलुङ उद्योग बाणिज्य संघले आयोजना गरेको अवको बजेट, आर्थिक र बित्तिय नीति बिषयक छलफलमा उनले राज्यको संघिय संरचनाको विकासकै लागि कार्यक्रम बन्ने बताए । ‘अबदेखि हरेक बैंकले जनतालाई केन्द्र मानेर नीति बनाउन नसकेमा पाखा लाग्नुपर्ने अवस्था आउँछ’ उनले भने, ‘त्यसका लागि जनताको चाहना अनुसारकै कार्यक्रम बन्न जरुरी छ ।’ देशको अर्थतन्त्र सुधार गर्ने, दोहोरो आर्थिक वृद्धि गर्ने र सुहाउँदो व्याजदर दिनेगरी बैंकको योजना आउनुपर्नेमा पनि उनले जोड दिए ।
जिल्लाका सरकारी देखि सबै बाणिज्य बैंकका प्रवन्धक, उद्योग बाणिज्य संघका पदाधिकारी, राजनीतिक दल, पत्रकार समेतको छलफलमा डेपुटी गर्भनर श्रेष्ठले राज्यको २ सय अर्व ढुकुटी अझै राष्ट्रबैंकमा मौज्दात रहेको बताए । राज्यका संयन्त्रले खर्च गर्न नसक्दा थन्केको पैसाले देशको अर्थतन्त्रमा नकारात्मक असर पारेको पनि उनले टिप्पणी गरे । ठूला विकासे आयोजना बन्न नसक्दा भुक्तानी नभएपछि फ्रिज भएको रकमले देशभरी तललता अभाव भएको पनि उनले प्रष्ट पारे । गाडि किन्ने, हाउजिङ लगायतको क्षेत्रमा गरिने लगानीमा कमी आएको भएपनि बैंकले लगानी पूर्ण बन्द नगरेको पनि बताएका थिए ।
उक्त अवसरमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैंकले कुनैपनि क्षेत्रमा लगानी बन्द नगरेको बताए । ‘तरलता अभाव भएकोले केही मन्दी देखिएपनि हामीले शाखालाई लगानी रोक्न लगाएका छैनौ’ शेरचनले भने, ‘राष्ट्रको विकासमा लगानी गरेरै हामीले पनि योगदान गर्न चाहन्छौं ।’ बैंकले पनि लगानीको सुरक्षा चाहेकोले केही अप्ठ्यारा परिस्थितिमा पर्ख र हेर भएको हुन सक्ने उनले बताए । साथै बागलुङमा निक्षेप संकलन र लगानीको दर अन्यत्र भन्दा राम्रो भएको पनि उनको भनाइ थियो ।
नीजि क्षेत्रका बैंकहरुले भने नोटकोषको व्यवस्था नहुँदा खुद्रा सटहीमा समस्या आएको बताएका थिए । साथै उनीहरले बागलुङको कोषको जिम्मा लिएको नेपाल बैंक लिमिटेडले सटहीमा अप्ठ्यारो पारेको पनि गुनासो गरेका थिए । श्रेष्ठले नीजि बैंकले पनि केही पूर्वाधार मार्फत साना दरका नोट संकलन गर्ने काम गर्न आग्रह गरेका थिए । दैनिक भन्दा साप्ताहिक रुपमा सटही व्यवस्था गर्न सकेमा बैंकहरुको काममा पनि अवरोध नआउने उनको तर्क थियो ।
उक्त अवसरमा बागलुङ उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष बसन्तकुमार श्रेष्ठ, उपाध्यक्ष नरेश कंडेल, महासचिव दयाराम पौडेल, कोषाध्यक्ष बिदेशकुमार श्रेष्ठ र नीजि बैंकका प्रवन्धकहरुले स्थानीय समस्या र भारतीय नोट सटही बारेको जिज्ञाशा राखेका थिए ।