बागलुङ, २६ चैत -जिल्लामा स्वास्थ्य बिमा गर्नेको संख्या बढ्दै गएको छ । नेपाल सरकारले बागलुङमा पहिलो चरणमा नमुनाका रुपमा गत भदौ देखी शुरु गरेको सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगत हाल सम्म २ हजार ७१ परिवारका ९ हजार ५ सय ५९ सदस्यले बिमा गरेका छन् ।
सामाजिक सुरक्षा कार्यक्रम सञ्चालनको ठिक एक बर्ष पुगेको अवसरमा स्वास्थ्य बिमा कार्यक्रम जिल्ला कार्यालय बागलुङद्धारा आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रवन्धक जिवलाल खरेलले पछिल्लो समय बिमा गर्नेको संख्या बढ्दो क्रममा रहेको बताए । कार्यालयका अनुसार बिमा गरेका मध्ये धौलागिरी अञ्चल अस्पतालबाट १५ सय ५०, बुर्तिबा प्राथमिक स्वास्थ्य केन्द्रबाट २ सय १७, गलकोट प्राथमिक स्वास्थ्य केन्द्रबाट २ सय ३५ र कुश्मिशेरा प्राथमिक स्वास्थ्य केन्द्रबाट १ सय ५० जनाले सेवा समेत लिइसकेका छन् ।
‘हामीले बुझाउन धेरै प्रयत्न गर्नुपरेको छ, बिभिन्न बिमा र कम्पनिहरुको गलत छाप र सरकारी अस्पताल प्रतिको कम बिश्वासका कारण अभियानलाई अपेक्षाकृत रुपमा अघि बढाउन सकिएको छैन, उनले भने, कार्यक्रमका बारेमा बुझेर बिमा प्रतिको आकर्षण शहरदेखी गाउँ सम्म बढ्दै गइरहेको छ ।’ तर, अझै पनि आर्थिक अभावले ग्रस्त नागरिकको पहुँचको कार्यक्रम पुग्न सकेको छैन ।
गरिब घर परिवार पहिचान कार्यक्रम मार्फत परिचय पत्र उपलब्ध हुन नसकेकाले आर्थिक पहुँच कम भएका बर्गलाई समेट्न नसकिएको जिल्ला प्रवन्धक खरेलले बताए । कार्यक्रममा धौलागिरी अञ्चल अस्पताल बागलुङका मेडिकल सुपरिटेण्डन्ट डा.सागरराज राजभण्डारीले कुनै पनि नागरिक उपचार पाउनबाट बञ्चित हुन नपरोस् भन्ने असली मनसायबाट कार्यक्रम आएकाले सबैले दैनिक ७ रुपैयाँ जोगाएर बिमित बन्न आग्रह गरेका थिए ।
५ जना सम्मको परिवारले बार्षिक २५ सय तिरेर स्वास्थ्य बिमासँग सम्झौता भएका सेवा प्रदायक स्वास्थ्य संस्था अस्पताल मार्फत एक बर्षमा ५० हजार सम्मको स्वास्थ्य उपचार लिन सक्छन् । पाँच जना भन्दा बढी भएमा प्रति सदस्य ४ सय २५ तिरेर थप सदस्यता लिन सकिनेछ ।
बिमा कार्यक्रममा सहभागी भए औषधि, प्रसुती सेवा, अक्सिजन सेवा, मेडिकल वार्ड, मधुमेह, बाल रोग, प्रजनन्, आँखा, दन्त परीक्षण, बहिरंग, प्रयोगशाला, एक्सरे, कार्डियोग्राफि, घाउ चिरफार, अल्ट्रा साउण्ड, इन्डोस्कपी, कोलोनोस्कपी, फिजीयोथेरापी लगायतका सेवा प्राप्त गर्न सकिने कार्यालयले जनाएको छ ।
Previous Article‘संघीय संरचना अनुसारआर्थिक नीति आउने’
Next Article धौलागिरी गाउँपालिकाको केन्द्र विवाद टुंगियो