कमल खत्री/ म्याग्दी, २४ चैत-सरकारी तवरबाट विनियोजन हुने बजेट काम नै नगरी सक्ने प्रवृत्ति मौलाइरहेको सन्दर्भमा म्याग्दीको एक गाउँका स्थानीयवासीले भने उदाहरणीय कार्य गरेका छन् । जिल्लाको मालिका गाउँपालिका–१ निस्कोट गाउँका स्थानीयवासीले सरकारी बजेटको योजना श्रमदानमार्फत सम्पन्न गरी उक्त योजनाको रकम विद्यालयलाई सहयोग गरेका हुन् । चालु आ.व.मा तत्कालीन निस्कोट गाविसले निस्कोटको पर्यटकीय स्थल बराहतालदेखि देउराली सम्मको गोरेटो बाटोमा पदमार्ग निर्माणका लागि रु. एक लाख ३९ हजार तीन सय विनियोजन गरेको थियो । गाविसले पदमार्ग निर्माण योजनामा विनियोजन गरेको बजेटलाई स्थानीय सामुदायिक विद्यालय सञ्चालनार्थ सहयोग गर्ने उद्देश्यले सामूहिक श्रमदानबाट पदमार्ग बनाएको सामाजिक परिचालक भबहादुर पुनले बताए । उनका अनुसार, गाविसका चार सय घरधुरीबाट श्रमदान गरी गाविसले बजेट विनियोजन गरेको बराहतालदेखि देउरालीसम्मको करिब तीन किलोमिटर पदमार्ग तयार गरिएको छ । जङ्गलको झाँडी सफा गर्दै पुरानो गोरेटो बाटोमा सिँढी चिनेर पदमार्ग बनाइएको पुनले बताए । स्थानीयवासीले डेढ मिटर चौडाइमा ढुङ्गाले सिँढी चिनेर पदमार्ग बनाएका छन्भने कतिपय ठाउँमा साँघुरो बाटोलाई फराकिलो बनाइएको छ । मालिका गाउँपालिका–१ निस्कोटका वडा सचिव छविलाल उपाध्यायले गाविसबाट पदमार्ग निर्माण योजनामा बजेट विनियोजन गरिएको भएपनि स्थानीयवासीले सो योजना श्रमदानमार्फत सम्पन्न गरी उक्त रकमलाई विद्यालयमा सहयोग गर्ने सहमति गरी उदाहरणीय काम गरेको बताए । बराह तालहुँदै देउराली पु¥याइएको पदमार्गमा बागलुङको ताराखोला जाने बाटो जोडिएको छ । पदमार्ग निर्माण भएपछि दुवै गाउँतर्फ आवत–जावत गर्ने स्थानीयवासी र बराह तालको अवलोकनका लागि जाने पर्यटकलाई सुविधा पुगेको छ । चालु आ.व.मा नै तत्कालीन निस्कोट गाविसले निस्कोट माविमा बालमैत्री शौचालय निर्माणका लागि विनियोजन गरेको ७२ हजार रुपैयाँसमेत स्थानीयवासीले श्रमदानमार्फत योजना सम्पन्न गरी सो रकम विद्यालयलाई नै उपलब्ध गराउने भएका छन् । ‘पदमार्ग र बालमैत्री शौचालयका लागि गाविसले विनियोजन गरेको रकम विद्यालयलाई सहयोगस्वरुप प्राप्त हुने भएको छ, सो योजनालाई श्रमदानमार्फत सम्पन्न गरी विद्यालयलाई रकम उपलब्ध गराउने स्थानीयवासीको काम प्रशंसनीय छ’ –विद्यालयका प्रधानाध्यापक हरि पुनले भने । उनले निजी स्रोतबाट मावि तह सञ्चालन भएको विद्यालय चलाउनै मुस्किल भइरहेको अवस्थामा स्थानीयवासीले बर्सेनि लाखौँ रुपैयाँ विभिन्न माध्यममार्फत विद्यालयलाई उपलब्ध गराउँदै आएको बताए । चार प्रावि, दुई राहत निमावि दरबन्दी रहेको विद्यालयमा दुई सय ५१ जना विद्यार्थी अध्ययनरत रहेका छन्भने निजी स्रोतका शिक्षकका लागि मासिक ५२ हजार रुपैयाँ विद्यालयले आन्तरिक स्रोतबाट जुटाउँदै आएको छ । ‘राज्यले आधारभूत तहको शिक्षालाई निःशुल्क घोषणा गरे पनि के गर्ने ? यहाँ अभिभावकले नै पैसा नउठाए विद्यालय चल्दैन, यसअघि हामीले गाविसका सबै घरधुरीबाट मासिक तीन सय उठाउँदै आएका थियौँ’ –विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलकुमार पुनले भने । विद्यालयले २०७१ देखि २०७३ पुस मसान्तसम्म गाउँ भेलाकै निर्णयअनुसार विद्यालय सञ्चालनार्थ प्रतिघरधुरी मासिक तीन सय शुल्क उठाएको थियो । प्रतिघरधुरी पैसा उठाउँदा विपन्न वर्गका घरपरिवारलाई आर्थिक भार परेपछि यो वर्षदेखि स्थानीयवासीले वैकल्पिक स्रोतको पहिचान गरेका छन् । विद्यालयका अनुसार, यो वर्षदेखि निस्कोटमा रहेको घर छाउने ढुङ्गाखानीबाट वार्षिक ६० हजार र सिद्धथानमा पूजापाठबाट उठ्ने ६० हजार विद्यालयको आम्दानीमा जनिने प्रबन्ध मिलाइएको छभने वार्षिकरुपमा देउसी, भैलो, लाहुरे स्वागतजस्ता कार्यक्रममार्फत निजी स्रोतका शिक्षकको तलब सुविधा जुटाउने अभियान थालिएको छ ।
Previous Articleउपचार खोज्दै गुल्मीदेखि बेनीसम्म
Next Article मालिका गाउँपालिकामा कांग्रेसबाट मगर भीड्ने