म्याग्दी, २४ चैत-गुल्मी जिल्लाको नेटाको लिलिङ गाउँकी ७१ बर्षिया गोमा मगर छिमेकी बागलुङको बुर्तिवाङमा उपचारका लागि आइन् । बुढेशकालमा रोगबाट ग्रसित भएपछि आमाको उपचारको खोजीमा निस्किएका कर्ण बहादुरले बुर्तिवाङमा चिकित्सलाई आमाको समस्याका बारेमा सुनाए । शरीरका विभिन्न भाग दुख्ने, हिड्न समेत समस्या हुने समस्याका बारेमा जानकारी गराएलगत्तै चिकित्सक र स्वास्थ्यकर्मीले म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पतालमा पुग्न अनुरोध गरे । थोरै आर्थिक र परिवारलाई समेत बुर्तिवाङबाट उपचार गरेर फर्कने जानकारी गराएर आएको कर्णबहादुर त्यहाँबाट सिधा बागलुङ बजारमा आएर अर्को सवारी परिवर्तन गरी बेनीमा आए । परिवारका जेठा छोरा कर्ण बहादुरले बेनी अस्पतालमा पुगेपछि त्यहाँका स्वास्थ्यकर्मीले दिएको नाम लिएर चिकित्सक समक्ष पुगे । स्वास्थ्यकर्मीले आवश्यक परिक्षण गरी चिकित्सकलाई जानकारी गराएलगत्तै शरीरको तल्लो भाग दुख्ने, आवतजावत गर्न समस्या हुने लगाएतका समस्या सहित विगतका रिर्पोटको आधारमा उनको पाठेघरमा खरावी देखिएपछि तत्कालै अप्रेसन गरियो । ‘तपाईलाई सहज हुन्छ जानुहोस् भन्नुभएको थियो, यहाँ प्रवेश गरेदेखी भनेजस्तै सुविधा पाइयो’ कर्ण बहादुरले भने । उनले विगतमा समेत आफुँले बेनी अस्पतालका बारेमा धेरै सुनेपनि उपचारका लागि आमालाई लिएर आउनुपर्छ भन्ने कल्पना समेत नगरेको बताए । ‘आमा पनि खुसी हुनुहुन्छ, मैले पनि छोराको जिम्मेबारी पुरा गरेजस्तो महसुस गरेको छु‘ कर्ण बहादुरले खुसी हुदै भने । उनले आमासंगै आफ्नो समेत चेकजाँच गरेको बताए । करिव तीनदशक अगाडी देखी विभिन्न समस्या देखिएपछि गोमाले त्यसलाई बेवास्ता गदैं परम्परागत मान्यताको आधारमा उपचार गराउँदै आइरहेकी थिईन् । ‘यो छोरा जन्मिएको केहीबर्ष पछाडी म विरामी हुन थाले, सन्चो होला भन्दै धेरै बर्ष वित्यो’ उनले भनिन् । बेनी अस्पतालका चिकित्सक डा. धिरेन मल्लले उपचार पछि आमाछोरा निकै उत्साहित भएको बताए । ‘छिमेकी जिल्ला बागलुङबाट समेत विरामी उपचारका लागि आउने क्रम बढेको छ । यहाँ सम्भव भएको उपचारलाई प्राथमिकता दिने गरेका छौ’ उनले भने । नियमित चेकजाँचको अभावमा महिलामा पाठेघरको समस्या जलिट बन्दै गरेकाले अन्तिम अवस्थामा बाध्य भएर अस्पतालमा आउने गरेको डा. मल्लको भनाई छ । जिल्लामा शिविर सञ्चालन भइरहेको पाठेघरको अप्रेसन गरिएपनि अन्य समयमा पनि अप्रेसन सेवा निरन्तर रहेको बेनी अस्पतालले जनाएको छ । केही महिना अगाडी छिमेकी जिल्ला बागलुङको हटिया काउलेकी ३० बर्षिया रिता घर्तीको अस्पतालका डा. मल्लको नेतृत्वमा देब्रे डिम्बकोषमा रहेको ८÷४ सेन्टिमिटरको ट्यूमर निकालिएको थियो । २०५९ साल देखी पेट दुख्ने, पेट पोल्ने जस्ता समस्या देखिएपछि स्थानीय स्वास्थ्यचौकी, अञ्चल अस्पताल बागलुङ सहित पाल्पा मिसन अस्पतालमा देखाँउदा ग्यास्ट्रिकको औषधी दिएर फर्काएपछि झन्डै १५ बर्ष पेटमा भएको समस्या झल्दै आएकी घर्तीले बेनीमा उपचार पाएपछि गाउँ र आसपासका क्षेत्रमा समेत प्रचारप्रसार गर्ने बताएकी थिईन् । एकपटक उपचार गरेर फर्किएका विरामीका आफन्तको प्रचारका कारण समेत जटिल समस्या लिएर अस्पतालमा आउने विरामीको संख्या बढ्न थालेको बेनी अस्पतलाका प्रमुख एवम् वरिष्ठ मेडिकल सुपरीटेण्डेण्ड डाक्टर रोशन न्यापानेले बताए। उनका अनुसार निक साईमन इन्टिन्यूट अमेरिकाले डाक्टर सहित आधुनिक मेसिन सहितको टोली, सेवा क्षेत्रका विरामीको सहयोग र विश्वासले समेत जटिल अप्रेसनको उपचार सम्भव भएको बताए ।