बागलुङ, २३ चैत – वातावरणीय तथा मानवजन्य प्रदूषणका कारण पानीमा अक्सिजनको मात्रा कमी हुन गई कालीगण्डकी नदीको जलचक्र प्रणाली प्रभावित हुनुको साथै नदीको अस्तित्व समेत खतरामा परेको छ ।
तापक्रम वृद्धिसँगै हिमालमा हिमस्खलन हुने क्रम बढ्दै जाँदा हिमनदी कालीगण्डकीको बहावमा आएको परिवर्तनले नदी क्षेत्र वरपरको जमिन कमजोर बन्दै गएको छ । उद्योग तथा कलकारखानाबाट निस्कने फोहरमैला, रसायनयुक्त पानी र अनियन्त्रित रुपमा ढल मिसाउने जस्ता गलत मानवीय कारणले गर्दा कालीगण्डकी नदीको पानी अत्यधिक प्रदूषित बन्नगई पर्यावरणीय दृष्टिकोणले यो नदीको अस्तित्व खतरामा पर्दै जान थालेको हो ।
दामोदरकुण्डदेखि मुस्ताङको जोमसोम, म्याग्दीको बेनी, बागलुङ, पर्वतको कुश्मा र गुल्मीको रिडी बजारसम्म पुग्दा कालीगण्डकी नदीमा प्रसस्तै जैविक तथा औद्योगिक फोहरमौला थुप्रिने गर्दछ । हिन्दूधर्मावलम्बीका लागि पूजापाठ गर्ने थलो तथा धार्मिक आस्था र विश्वास बोकेको नदीको साथै शालीग्राम पाइने विश्वकै एकमात्र नदीको रुपमा कालीगण्डकी नदीलाई लिने गरिन्छ । धार्मिक, सामाजिक र सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण एवम् वातावरणीय हिसाबले संवेदनशील नदी हेर्दाहर्दै कुरुप एवम् मित्र जीवको सट्टा हानिकारक शत्रु जीवको उर्बर बासस्थानका साथै प्रदूषणको स्रोत बन्न पुगेको सरोकारवालाले बताएका छन् । हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको अंशका रुपमा पूजा आराधना गर्ने र विश्वमै दुर्लभ शालीग्राम शिला पाइने विश्वको एकमात्र नदी कालीगण्डकी जैविक प्रदूषणको चपेटामा परेको छ ।
प्रकृतिमा देखिएको असामयिक परिवर्तन र मानवजन्य प्रदूषणका कारण पानीमा अक्सिजनको मात्रा कमी हुन गई कालीगण्डकी नदीको जलचक्र प्रणाली प्रभावित वनेको वातावरण र वन संरक्षणको क्षेत्रमा क्रियाशील चन्द्रमणि सापकोटाले बताए ।