केपी ओली नेतृत्वको सरकारले मृगौला पीडित नागरिकको निशुल्क डायालोसिस गर्नै व्यवस्था गरेपछि अहिले धेरै मृगौला पीडितलाई राहत मिलेको छ । मृगौला रोग लागेपछि आर्थिक अभाव हुँदा धेरै नागरिकले अनाहकमा ज्यान गुमाएका छन् । उपचार खर्चको समेत जोहो गर्न नसक्दा मृगौला रोगबाट पीडित नागरिकलाई राहत दिनको लागि प्रचण्ड नेतृत्वको सरकारका स्वास्थ्य मन्त्री गगनकुमार थापाले मृगौलादेखि मुटु रोगका विरामीको औषधि उपचारमा छुट गर्ने समेत बताएका छन् । औषधि उपचार गर्न आर्थिक समस्या भएपछि जटिल प्रकारका रोगीहरुले अस्पतालको छतबाट समेत फाल हानेर मृत्यु वरण गर्न विवश बनेका छन् ।
यस्तै आर्थिक अभावबाट गुज्रिएकी म्याग्दीको फुलमाया भण्डारीलाई बचाउनको लागि देश तथा विदेशबाट सहयोग जुटाउने कार्य शुरु भएको छ । रक्तक्यान्सरबाट पिडित म्याग्दीको धौलागिरी गाउँपालिका अन्तरगत साविक ताकम गाउँ विकास समिति वडा नं. ४ की ३३ वर्षिया फुलमाया भण्डारीको उपचारका लागि कतारबाट एक लाख १४ हजार रुपैया नगद सहयोग प्राप्त भएको छ । भरतपुरस्थित विपी कोईराला मेमोरीयल अस्पतालमा उपचार गराइरहेकी भण्डारीको सहयोगका लागि कतारमा रहेका ताकम काफलडाँडाका खिमबहादुर फगामी, शिवाङका प्रकाश फगामी र मोना कतारका निवर्तमान उपाध्यक्ष बालकृष्ण आचार्यको पहलमा संकलित रकम बुधबार हस्तान्तरण गरिएको छ । मोना कतारका निवर्तमान उपाध्यक्ष आचार्यले फुलमाया बचाउ अभियान सञ्चालन गरेको परोपकारी संस्था ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्य र अभियानका संयोजक सन्तोष गौतमलाई रकम उपलब्ध गराएका हुन् ।
फगामीद्धयले आफू कार्यरत कम्पनी र आचार्यले सहकर्मी तथा मोनाका पदाधीकारीहरुमार्फत सो सहयोग जुटाएका हुन् । अभियानमा स्वदेश तथा बिदेशमा रहेका म्याग्देलीहरुबाट सहयोग प्राप्त हुने क्रम जारी छ । दुई छोरा र दुई छोरीकी आमा फुलमायाको घरपरिवारको आर्थिक अवस्था कमजोर भएकाले सहयोग संकलन अभियान सञ्चालन गरिएको हो । उनको स्वास्थ्य अवस्थामा सुधार आएको परिवारका सदस्यले बताएका छन् । फुलमाया भण्डारी जस्ता धेरै गरिबहरु जो औषधि उपचार गर्न नसकेर जीवन रक्षाको लागि अपील गरिरहेका छन् । उनीहरुलाई बचाउने दायित्व हाम्रो पनि हो । त्यसैले एक छाक भोको बसेर भएपनि धेरै फुलमायाको जीवन बचाउनको लागि हामीले हाम्रो ठाउँबाट सानो भएपनि पहल गर्नुपर्छ । मानव सेवा नै धर्म हो । हामीमाथि पनि भोलि बज्रपात पर्न सक्छ । त्यसैले हाम्रो सानो सहयोगबाट कसैको जीवन बाँच्छ भने सहयोग गर्न आनाकानी गर्नुहुँदैन ।