बागलुङ, २२ चैत – राष्ट्रिय जनमोर्चा निसीखोला गाउँपालिका स्तरीय कार्यकता भेला सोमबार बोहोरागाउँको झिवाखोलामा सम्पन्न भएको छ । भेलामा त्यस गाउँपालिका स्तरका ७ वटै वडाका अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको बताइएको छ । भेलाले आगामी बैशाख ३१ गते हुने स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै गाउँपालिका स्तरीयका ७ वटै वडामा समन्वय समिति गठन तथा निर्वाचन परिचालन समिति र प्रचार प्रसार समितिको गठन गरेको छ । भेलाले विभिन्न वडामा निर्वाचन समन्वय समिति गठन गरेको छ । जस अनुसार वडा नं. १ मा मुक्तसिंह ठकुरी वडा नं. २ मा मानबहादुर नेपाल वडा नं. ३ मा रामबहादुर चन्द वडा नं. ४ मा टंकप्रसाद शर्मा वडा नं. ५ मा चिनबहादुर घर्ति वडा नं. ६ मा मनसुर बुढा र वडा नं. ७ मा दानबहादुर विकलाई चयन गरिएको छ । यसैबीच भेलाले थम्मनबहादुर घर्ति मगरको संयोजकत्वमा १ सय ५१ सदस्यीय चुनाव प्रचार प्रसार समिति गठन गरेको छ । भेलाले यही चैत महिनाको २७ गतेदेखि २०७४ बैशाख ३ गतेसम्म निसीखोला गाउँपालिकामा वडा स्तरको भेला गर्ने र प्रस्तावित उमेदवारहरुको नामावली समेत संकलन गर्ने निर्णय गरिएको राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य थम्मनबहादुर घर्ति मगरले बताए । जसअनुसार, वडा नं. १ मा चैत २८ गते भेला आयोजना गरिएको छ । वडा नं. २ मा २९ गते वडा नं. ३ मा ३० गते वडा नंं ४ मा ३१ गते, तथा वडा नंं ५ मा २०७४ बैशाख २ गते, वडा नंं ६ मा ३ गते र वडा नंं ७ मा यही चैत्र २७ गतेनै वृहद वडा स्तरको भेलाको आयोजना गरिने निर्णय गरिएको बताइएको छ । सबै वडाको भेलामा जिल्ला स्तरका नेताहरुको उपस्थिति रहने जनाइएको छ । कार्यकर्ता भेलासँगै स्थानीय स्तरमा चुनाव केन्द्रित गतिविधिलाई तीव्र पारिने संगठन निर्माण, जनभेटघाट, सदस्यता वितरण लगायत प्रचार प्रसारका गतिविधिहरुलाइ अभियानकै रुपमा सञ्चालन गरिने भएको छ । चुनावी अभियानका क्रममा एक गाउँ एक समिति, एक टोल एक नेतृत्व तथा समिति र एक व्यक्ति एक पर्चा सहितको अभियान सञ्चालन गरिने बताइएको छ । निसीखोला गाउँपालिका समन्वय समितिका संयोजक खीम विक्रम शाहीको अध्यक्षता रहेको गाउँ पालिका स्तरीय भेलामा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमर बहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो । भेलालाई संवोधन गर्दै प्रमुख अतिथि थापाले, राष्ट्रिय जनमोर्चा अव स्थानीय तहको निर्वाचनमा होमिने र जनताकै पक्षबाट योग्य, इमान्दार र कर्तव्यनिष्ट उमेदवार बनाउने बताए । भेलामा उपस्थित सबै अगुवा कार्यकर्तालाई संबोधन गर्दै अध्यक्ष थापाले, जनमोर्चा समर्थकहरुलाई अबको मुख्य ध्यान स्थानीय निर्वाचनमा केन्द्रित गर्न निर्देशन दिए । स्थानीय तहको निर्वाचनमा सम्भावित उमेदवार सदस्य, पार्टि कार्यकर्ता र समर्थकहरु आफ्नो क्षेत्रमा जनस्तरमै पुगेर आफूलाई स्थापित गर्न र निर्वाचन आफ्नो पक्षमा पार्न लाग्न समेत उनले आग्रह गरे । अध्यक्ष थापाले पार्टिले स्थानीय निकायको निर्वाचनमा विचार र सिद्धान्तसँग मिल्ने शक्तिसँग तालमेलको प्रस्ताव केन्द्रबाटै खुल्ला रहेकाले, जिल्ला स्तरमा बामपन्थी तालमेलका विषयमा बहस चलिरहेको पनि बताए । तालमेल भएपनि नभएपनि आफ्ना जनतासँग निरन्तर साथमा रहन उनले कार्यकर्तालाई निर्देशन दिए । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य गौरीश्वर पाण्डे जिल्ला सदस्य मुक्तशिंह ठकुरी लगायतले बोलेका थिए ।