बागलुङ, २१ चैत – स्थानीय तहको निर्वाचनका कारण नेपाल पत्रकार महासंघको २५ औ महाधिवेशन एक महिनापछि सरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवस मे ३ (वैशाख २०) का लागि तय गरिएको महासंघको महाधिवेशन वैशाख ३१ गते स्थानीय तहको चुनावी कार्यक्रम भएकाले पछि सारिएको हो ।
केन्द्रीय समितिको बैठकले जेठ २० गते काठमाडांै महाधिवेशन गर्ने नयाँ मिति तोकेको अध्यक्ष महेन्द्र विष्टले बताए । ‘तर मुलुकमा विद्यमान विशेष परिस्थिति परिवर्तन भई वैशाख २० मै महाधिवेशन गराउन सक्ने अवस्था भएमा भने महासंघको सचिवालयले पुन: अर्को निर्णय गर्नेछ,’ विष्टले भने ।
केन्द्रीय समितिले आगामी २५औं वर्षको मूल नारा ‘व्यावसायिक पत्रकारिताको आधार, प्रेस स्वतन्त्रता र श्रम अधिकार’ तय गरेको छ । महाधिवेशनका लागि अध्यक्ष विष्टको संयोजकत्वमा १ सय १ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ ।
अधिवेशन गर्न बाँकी शाखा, प्रतिष्ठानले वैशाख ७ भित्र गरिसक्नुपर्ने र उक्त अवधिमा अधिवेशन नभए महाधिवेशनमा भाग लिन नपाइने निर्णयसमेत बैठकले गरेको छ ।