बागलुङ, १९ चैत – महान्यायाधिवक्ता रमन कुमार श्रेष्ठले सरकारी तथा महिलाहरुको मुद्धाह चाडो भन्दा चाडो सुनवाई गरिनुपर्ने बताएका छन् । शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय बागलुङको नवनिर्मित भवनको उद्घाटन गर्दै श्रेष्ठले सरकारी तथा महिलाहरुको मुद्धाको चाडो सुनवाई नहुँदा अपराधीहरु छुटने गरेको बताए । उनले उक्त मुद्धाहरुको ढिलो सुनवाई गरिदा वकपत्र दर्ता गर्नेहरुलाई डर तथा धम्कीले सत्य कुरा लुक्ने भएकोले चाँडो सुनवाई गरिनुपर्ने बताएका छन् । उक्त अवसरमा बोल्दै महान्यायधिवक्ता श्रेष्ठले सरकारी मुद्धाहरुको लागि जिल्ला प्रहरी कार्यालयका प्रमुख र सरकारी वकिल कार्यालयका प्रमुखहरु दुवै कार्यालयमा हप्तामा १ दिन जानुपर्ने बताउँदै अहिले जिल्लामा नजाने गरेकोमा दुःख व्यक्त गरेका थिए । उनले सरकारी वकिल कार्यालयले हेरेको मुद्धा हार्दा सरकारी वकिल कार्यालयले प्रहरीले अनुसन्धान नगरेको र प्रहरीले वकिल कार्यालयले राम्रो काम नगरेको भन्दै एक आपसमा दोष लगाउने प्रवृतिको अन्त्य गर्नको अनुरोध गरे । उनले अपराधिहरुलाई कुनै पनि हालतमा कानुनबाट उम्कन नदिनको लागि प्रहरी र वकिलहरु लाग्नुपर्ने बताए । श्रेष्ठले भवन निर्माण पछि सरकारी वकिल कार्यालयलाई काम गर्नको लागि सजिलो हुने बताए । कार्यक्रममा उच्च अदालत पोखरा बागलुङ इजलासका न्यायाधिश रतन बहादुर बागचन्द, वरिष्ठ अधिवक्ता पद्मानाथ शर्मा, प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, जिल्ला न्यायधिश हिमलाल बेलबासे, नागरिक समाज बागलुङका अध्यक्ष काजीगाउँले श्रेष्ठ, उच्च अदालत बार एसोसियशन बागलुङका अध्यक्ष केशव पराजुली, भवन डिभिजन कार्यालयका डिभिजन इन्जीनियर प्रकाश अर्यालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । भवन निर्माणको प्रगतिको बारेमा जानकारी गराउँदै सरकारी वकिल कार्यालय बागलुङका प्रमुख रामचन्द्र शर्माले भवन ३ करोड २९ लाख ६२ हजार ७ सय ९४ रुपैयाँको लागतमा निर्माण भएको जानकारी गराए । नायव महान्यायाधिवक्ता खगराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत जिल्ला न्यायधिश धर्मराज पौडेल र संचालन सहायक जिल्ला न्यायधिवक्ता केदारनाथ उपाध्यायले गरेका थिए ।