म्याग्दी, १९ चैत- नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनमा आवश्यक पर्ने म्यादी प्रहरी भर्ना खुलाएपछि म्याग्दी जिल्लामा झण्डै १ हजार जनाले फाराम भरेका छन् । आगामी वैशाख ३१ गते तोकिएको स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी भर्ना हुन भन्दै कुल ९ सय ७४ जनाले दरखास्त दिएका हुन् । दरखास्त दिएकामध्ये ८ सय ६५ जना पुरुष र १ सय ९ जना महिला रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी सहायक निरीक्षक अर्जुनबिक्रम महतले जानकारी दिए । गत आइतबारदेखि शुरु भएको म्यादी प्रहरीको दरखास्त दिन जिल्ला प्रहरी कार्यालय परिसरमा युवाहरुको भीड लागेको थियो । म्यादी प्रहरी भर्नाका लागि बिहीबारदेखि म्याद सकिएको छ भने भर्ना भएकालाई शुक्रबार कार्यालयमा सम्पर्क राख्न भनिएको छ । यसैगरी १९ गतेबाट म्यादी प्रहरीको छनोट प्रक्रिया शुरु, २२ गते रिजल्ट प्रकाशन र २५ गतेदेखि तालिम शुरु हुने जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । म्यादी प्रहरी भर्ना मापदण्ड छनोट निर्दे्शिका २०७३÷७४ अनुसार स्थानीय निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी भर्ना लिइएको प्रसनि महतको भनाई छ । भर्नाका लागि कुनै फौजदारी अभियोग नलागेको व्यक्ति, साधारण लेखपढ गर्न सक्ने, नेपाली नागरिकले दरखास्त दिन पाउने व्यवस्था गरिएको थियो । युवाहरुले नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाण साथै भुपु आर्मी, प्रहरीले सेवानिवृत हुँदाको प्रमाणपत्रका साथ १० रुपैयाँको हुलाक टिकट टाँस गरी फारम भरेर जिल्ला प्रहरी कार्यालयमा बुझाएका छन् । म्यादी प्रहरीले नेपाल प्रहरीको जवानले पाएसरहको सेवासुविधा दिइने व्यवस्था गरिएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न गराउनका लागि नेपाल अधिराज्यभर ७५ हजार म्यादी प्रहरी भर्ना गरिने नेपाल प्रहरीको योजना रहेको छ । म्यादी प्रहरी भर्ना भएकाको सेवाअवधि ५५ दिन रहेको छ भने एकजना म्यादी प्रहरीले तलब भत्ता, सेवासुविधा र रासनलगायत गरी ४० हजार बढी पाउन सक्ने बताइएको छ । धौलागिरिका लागि अञ्चल प्रहरी कार्यालयले म्यादी प्रहरीको नियुक्ति दिने र धौलागिरी क्षेत्रमा ती प्रहरीलाई खटाउने जनाइएको छ ।
Previous Articleम्याग्दीमा पहिलो पटक पाठेघरको अप्रेशन
Next Article बा.न.पा. १३ मा दलित मुक्तिमोर्चा