हरिकृष्ण गौतम, बागलुङ, १९ चैत-पोखरास्थित गण्डकी अस्पतालबाट जटिल अवस्थामा फर्किएकी लुलाङकी एक महिलाको सफल अप्रेसन गरेको केहीदिन नवित्दै बेनी अस्पताल म्याग्दीका चिकित्सकले जिल्लामै पहिलोपटक अर्को जटिल अप्रेसनमा सफलता प्राप्त गरेका छन् । बेनी अस्पतालमा बिहिबार देखी सञ्चालित साताब्यापी पाठेधर (आंङ) खस्ने रोगको निशुल्क उपचार शिविरमा पाठेघरमा पलाएको साढे दुई किलोको ट्यूमर निकालिएको छ । पश्चिम म्याग्दीको ताकम स्थायी घर भएकी ४० बर्षिया एक महिलाको पाठेघरबाट करिव दुईघण्टा लगाएर चिकित्सकले सफल अप्रेसन गरेका थिए । बेनी अस्पतालका डा. धिरेन मल्ल, डा. ज्योती, डा. अनिल पोख्रेल लगाएतको टोलीले जिल्लामै पहिलो पटक ठुलो आकारको ट्यूमर निकाल्न सफल भएको बेनी अस्पतालका प्रमुख डा. रोशन न्यौपानेले भने । ‘जिल्लाका अस्पतालमा यस्ता अप्रेसन कमै गरिन्छ । अहिलेसम्मका जटिल समस्याभित्र यो पनि पर्छ’ डा. न्यौपानेले भने । अस्पतालमा रहेको जनरल एनेस्थेसिया मेसिनको प्रयोग गरी अप्रेसन गरिएको थियो । बिहिबार नै अर्की एक महिलाको पाठेघरबाट समेत सानो ट्यूमर निकालिएको डा. घिरेन मल्लले बताए । ‘काठमाण्डौमा औषधीबाट निको हुन्छ भनेर फर्किएको अवस्थामा भिडियो एक्सरे गर्दा ट्यूमर देखियो । उहाँहरुको जटिल समस्यालाई पहिचान गर्न सफल भयौं डा. मल्लले भने । चिकित्सा क्षेत्रमै दुर्लभ मानिएका अप्रेसन समेत स्थानीय प्रविधि र उपकरणको साहायतमा सफल अप्रेसन गरेका डा. मल्लले विहिबारको सफल अप्रेसनबाट उत्साहित भएको बताए । आर्थिक अवस्था कमजोर भएका, जनचेतजाको अभाव लगाएतका समस्याले दुर्गम क्षेत्रमा महिलाहरुले रोग लुकाउने गरेको अवस्थामा सदरमुकाम आसपासमा बस्ने महिलाहरुमा समेत समस्या देखिएको बताए । केही महिना अगाडी छिमेकी जिल्ला बागलुङको हटिया गाविस–३ काउलेकी २९ बर्षिया रिता घर्तीको अस्पतालका डा. धिरेन मल्लको नेतृत्वमा देब्रे डिम्बकोषमा रहेको ८÷४ सेन्टिमिटरको ट्यूमर निकालिएको थियो । उनी दुईदिनको यात्रा गरेर अस्पतालमा उपचारका लागि आएकी थिईन् । बिहीबारदेखि पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय पोखरा र जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना तथा देवदह मेडिकल कलेज शिक्षण अस्पताल रुपन्देहीको प्राविधिक सहयोगमा पाठेघरको अप्रेसन सम्बन्धि शिविर सुरु भएको छ । चैत्र २३ गते सम्म चल्ने शिविरमा देवदह कलेज शिक्षण अस्पतालका विशेषज्ञ डाक्टरका साथमा जिल्ला अस्पताल बेनीका डाक्टरहरुले विरामीको स्वास्थ्य उपचार गर्ने भएकाले लाभ लिन बेनी अस्पताल विकास समितिले अनुरोध गरेको छ । शिविरको पहिला दिने २० भन्दा बढीले सेवा लिएका छन् । जिल्ला बाहिर महंगो खर्च हुने पाठेघरको अप्रेसन निशुल्क हुने भएकाले पाठेघरमा समस्या देखिएका महिलालाई लक्षित गरी प्रचारप्रसार समेत तिब्र
बनाइएको छ ।
Previous Article१८ चैत २०७३, ढोरपाटन दैनिक
Next Article १ हजारले भरे म्यादी प्रहरी भर्नाको फाराम