बागलुङ, १७ चैत/चैत्राष्टमी मेलाको अवसरमा आयोजना गरिएको चैत्राष्टमी कप अन्तर कलेज स्तरीय फुटबलमा धौलागिरी बहुमुखी क्याम्पसले विजयी सुरुवात गरेको छ । बागलुङको बाङ्गेचौर खेलमैदानमा बुधबार भएको उद्घाटन खेलमा धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङलाई ट्राईबेकरमा पराजित गर्दै क्याम्पसले विजयी हात पारेको हो । निर्धारित समयमा दुवै तर्फबाट कुनै गोल हुननसकेपछि खेल सिधै ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकरमा क्याम्पसले प्रतिष्ठानलाई ४ का विरुद्ध १ गोल अन्तरले पराजित गरेको हो । प्रतियोगिताको उद्घाटन गर्दै बागलुङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले स्वस्थ्य जीवनका लागि खेल अति आवश्यक भएकाले खेल क्षेत्रको बिकासका लागि गुठीले संचालन गरेको अभियान सकरात्मक भएको बताए । जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद मिश्रले खेल मानविय मस्तिस्कसंग सम्बन्धित भएकाले खेलको सहि सदुपयोग हुनुपर्ने बताए । कार्यक्रममा चैत्राष्टमी पर्व र समग्र कार्यक्रमको वारेमा गुठीका अध्यक्ष राजु खड्काले जानकारी गराएका थिए । उद्घाटन कार्यक्रम कालिका भगवती गुठीका अध्यक्ष राजु खड्काको अध्यक्षता, फ्युचर ब्राइटर स्पोर्ट क्लवका अध्यक्ष एवँ फ्युचर ब्राइटर बोडिङका प्रिन्सीपल बालकृष्ण शर्माको स्वागत र पत्रकार ताराप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो । बिहीबार बिहान ८ बजे बिद्यामन्दिर माविका बिरुद्ध आदर्श बिद्या मन्दिर, दिउँसो २ बजे मुलपानी मावि र न्यु ओयसिस तथा दिउँसो ४ बजे अमृत आदर्श र सनराइज बोर्डिङ स्कुलका बीच हुने प्रतियोगिताका संयोजक फडिन्द्र खड्काले जानकारी दिए । १२ टिमको सहभागिता रहेको अन्तर कलेज फुटबलको विजेताले ४० हजार र उपविजेताले २० हजार प्राप्त गर्ने छन् । कालिका भगवती गुठीको आयोजना, फ्युचर ब्राइटर स्पोर्ट क्लब र बागलुङ खेलकुद क्लवको संयोजनमा प्रतियोगिता शुरु भएको हो ।