म्याग्दी, १४ चैत – आगामी वैशाख ३१ गते तोकिएको स्थानीय तहको निर्वाचनका लागि सरकारले म्यादी प्रहरी भर्नाको दरखास्त आह्वान गरेपछि युवाहरु म्यादी प्रहरी भर्ना हुन कस्सिएका छन् ।
शुक्रबारदेखि शुरु भएको म्यादी प्रहरी भर्नाका लागि म्याग्दीमा फाराम भर्न युवाहरुको घुइँचो लागेको हो । जिल्ला प्रहरी कार्यालयमा आइतबार म्यादी प्रहरी भर्नाका लागि युवाहरुको लाइन लागेको थियो । आज मात्रै कुल १ सय १४ जनाले म्यादी प्रहरीका लागि दरखास्त फाराम भरेको र तीमध्ये ८ जना महिलाहरु रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी सहायक निरीक्षक अर्जुनबिक्रम महतले जानकारी दिए ।
म्यादी प्रहरी भर्नाका लागि आउँदो १७ गतेसम्म भर्ना फाराम लिइने, १८ गते सम्पर्क गरिने, १९ गतेबाट छनोट प्रक्रिया शुरु, २२ गते रिजल्ट प्रकाशन र २५ गतेदेखि तालिम शुरु हुने जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । म्यादी प्रहरी भर्ना मापदण्ड छनोट निर्दे्शिका २०७३/७४ अनुसार स्थानीय निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी भर्ना लिइएको हो ।
म्यादी प्रहरी भर्नाका लागि १८ वर्ष उमेर पुरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने, कक्षा ५ उत्तीर्ण, नेपाली नागरिक भएको र कुनै फौजदारी अभियोगमा सजायँ नपाएको लगायतका आधारहरु तोकिएको जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख दिवाकर घिमिरेले बताए । म्यादी प्रहरी भर्ना फारामका लागि रु. १० को टिकट टाँस गरी निःशुल्क फाराम भर्ने व्यवस्था रहेको छ । यसअघि म्यादी प्रहरी भएका, भूपू भारतीय सेना, नेपाल प्रहरी, सशस्त्र र वनरक्षकलाई प्राथमिकता दिइएको प्रहरीको भनाई छ । स्थानीय तहको निर्वाचन सम्पन्न गराउनका लागि नेपाल अधिराज्यभर ७५ हजार म्यादी प्रहरी भर्ना गरिने सरकारको योजना रहेको छ ।
म्यादी प्रहरी भर्ना भएकाको सेवा अवधि ५५ दिन रहेको र नेपाल प्रहरीको जवानसरह सेवासुविधा पाउने व्यवस्था उल्लेख गरिएको छ । एकजना म्यादी प्रहरीले तलब भत्ता, सेवासुविधा र रासनलगायत गरी ४० हजार बढी पाउन सक्ने बताइएको छ । धौलागिरिका लागि अञ्चल प्रहरी कार्यालयले म्यादी प्रहरीको नियुक्ति दिने र धौलागिरि क्षेत्रमा ती प्रहरीलाई खटाउने जनाइएको छ ।
Previous Article२०७३ चैत १४ गते सोमबारको राशिफल
Next Article थ्रेस होल्डको विरोधमा साना दल एक भए