केशवप्रसाद पाण्डे
हजुरको छोराले ठीक गर्न नसकेको रोग ठीक गर्ने म छु नि आमा अब ।
उसले मेरो आँखामा छड्के हेर्दै भनी ।
किन यी सबमा मलाई कमजोर बनाएर ठट्यौली गरिरहिछे, बुझ्न सकिरहेको छुइन । पहिलो भेटमा यति नजिक कुनै स्त्री मसँग भएको रेकर्डमा पाउँदिन । त्यो पनि एक बैरागी लेखक र फिजियोथेरापी डाक्टर, अलि अस्वाभिक लाग्दा लाग्दै पनि पापी मनले सपनाको संसार सुदूरसम्मै नाप्न भ्यादिन्छ र पो ।
डाक्टर पन्तको चेकजाँचपछि केही समय फिजियोथेरापी गराउनु थियो । टिचिङ हस्पिटल पहिलोपटक थिएन र पनि आमालाई पहिलो नै ।बिहानी सत्र ९ः३० – ११ः३०, दिवा सत्र २–३ नोटिस गरिएकोमा बिहानी सत्रमा समयले साथ दिन्थ्यो । फिजियोमा छिर्ने मुखैमा ब्लाकबोर्डमा चकले लेखिएको थियो, “जुत्ताचप्पल बाहिरै राख्नुहोला” साइडमा जुत्ता चप्पल राख्ने काठको दराज । त्यसैमा चप्पललाई विश्राम दिएरभित्र कार्ड दर्ता भयो । ३५ नं. टोकन हात लाग्यो । भुइँ र भित्तामा पार्केटिङ गरिएको क्याबिन ३ मा डाक्टर स्मिताको नाममा थियो चेकजाँच । पहिलोपटक हाम्रो भेट त्यहीँ भएको थियो । मेसिन र तापसेक सकेपछि उसले क्याबिनमा कुनै टोकन नं. नबोलाई आमालाई तोकेर बिरामी र बिरामीको मान्छे आउनुस भनी । यस्तो सुविधा नचिनेकालाई त्यति सजिलो पाइँदैनथ्यो, त्यो पनि सरकारी अस्पताल ।
क्याबिन छिर्ने बित्तिकै आमालाई बेडमा सुत्न भनी र केही एक्सर्साइजहरु सिकाई ।
“लेखकज्यू कथा त खत्रा लेख्नुहुन्छ त ।”
मैले सोधेँ,
“कसरी चिन्नुभो ?”
“यस्तो फेमस मान्छेलाई चिन्न के र्गाह्रो, मैले त अघिदेखि वाच गरिराथेँ, हजुर पो हाम्रो वास्ता गर्नुहुन्न त !”
हल्का हाँस्दै भनेँ, “त्यस्तो त होइन ।”
अनि उस्ले पुरानादेखि पछिल्लो कथाको सेरिज र सिक्वेल “केटी हेर्न जाँदा आई ह्याभ ब्वाइफ्रेन्ड” सम्मको कुरा गरी र भनी, “मेरै कथा लेख्नुभएछ, के त्यो साँच्चै हो ?
रहस्यमय बनाउँदै हाँस्दै मैले भनेँ, “जे पनि हुनसक्छ ।”
त्यो दिन उसले मेरो मोबाइल नम्बर लिएकी थिई ।
भोलिपल्ट नेपाल बन्द थियो । गाडी पाउन र्गाह्रो भयो । पुग्नुपर्ने समयमा नपुगिएला भन्ने चिन्ता हुनथाल्यो । ट्याक्सी लिऊँ झैँ लागेर गोजी छामेँ, गोजीले अनुमति दिएन । यत्तिकैमा नयाँ नम्बरबाट फोन थियोे । स्मिताको फोन रहेछ ।
कहाँ आइपुग्नुभयो ? “आँउदैछु, टिकट नि लिएको छैन ढिला हुनेभो ।”
“सकेसम्म छिटो गर्नुस, टिकट लिन पर्दैन । सीधा मेरो क्याबिनमा आउनु ल ?”
“हस ।”
यो बिरानो शहरमा कसैले आफूलाई त्यसरी चिन्छु भन्नुमा पनि असिम आनन्द मिल्दो रहेछ । अझ व्यवहारले छुन्छ उस्तै .. ।
बालरोग ओ.पी.डी. उपचारमा औधी मन पर्ने साना स्मृति, आशिष, सपना, साकार हरुसंग बेलाबेला फिजियोमा बिरामीको चाप हुँदा बाहिरिएर जिस्किइरहन्थे । लाग्थ्यो यी बाबुनानीहरु बगैंचामा फूल बनेर फुल्दैछन् । बेलाबेला ब्यस्थताका बीच पनि पालाकपुलुक गर्दै– “के हो बच्चा खेलाउन खुब रहर लाग्यो कि क्या हो ?“
“आफ्नु चैँ कहिले ?” भन्न आइपुग्थी ।
कहिले त भन्थेँ, “अब मैले मात्रै चाहेर भएन म्याडम हजुरको के छ विचार !” ऊ हाँस्दै जान्थी ।
“कतिसँग अफेएर चलाउन सक्छन है लेखकहरु” भन्थी ।
“कहाँ त्यस्तो हुन्छ त ! राइटरहरु त शब्दसँग लभ गर्छन्, मनलागेका जस्ता शाब्दिक प्रेमिका निर्माण गर्न पाइन्छ, अफेएर चलाउन, रोमान्स, ब्रेकअफ,सक्सेस लभ, बिहे… अनि के के ..।
यही स्वेरकल्पनाको सुविधा न छ साहित्यमा । जवाफ दिन्थी, “के विश्वास ” उत्तर दिन्थेँ, “विश्वास गर्नु नि किन पर्र्यो र ?”
“उसो भए त लभ पो पर्ला नि ! हुन त प्रेममा समय बर्बाद गर्ने फुर्सदै पो किन हुन्थ्यो र म्याडमलाई ।”
उ बोली, “नोटबुक र रुमाल साथमा लिएर आउनु ।” रुमाल चैँ किन नि ? सोधेँ
“आँशु पुछ्न ।”
अबरुद्ध स्वरमा यति भन्दा ऊ भाबुक बनी । जुन रुप मैले कहिले देखिन, आँखा रसायजस्ता लागे ।
हो म यहीँ हजुरसँग सेयर गर्न खोज्दैछु, जुन कथा सबैले पढून र यस्तो लभस्टोरी कसैको नबनोस् । हुन्छ एक दिन बसम्ला भनेँ ।
उसले हसको भाबमा टाउको हल्लाई, सँधै मसंग जिस्किइरहने डाक्टर स्मिताको कहानी कस्तो होला ? कौतुहलता र उसको भावुक अनुहारको झझल्को लिएर आएँ ।
त्यसको भोलिपल्ट हस्पिटलका लागि आधा बाटो आइसकेपछि स्मिताले फोन गरी ।
“ला ! हेर्नू न, मैँले त भन्नै बिर्सेछु आजबाट मेरो ड्युटी दिउँसोमा छ, दिउँसो आउन सक्नुहुन्छ ?”
मैले आधा बाटोमा आइपुगेको र दिउँसोको समय नमिल्ने बताएँ ।
उस्ले भनी, “ठिकै छ म अर्को डाक्टरलाई भन्दिन्छु नि !”
त्यस दिनदेखि उसको ठाउँमा डाक्टर विकास रहेछन् । त्यतिबेलै स्मिताले आमाको बारे छिटो र राम्ररी हेर्दिन विकासलाई फोन गरेकी थिई । उनले सोधे, “डाक्टर स्मिताको मान्छे हो ?”
“हो” भनेँ ।
अघिपछि त्यही समयमा नजाँनिदो लिपस्टिक, बढी निलो जिन्स र सेतो डाक्टरी पोसाकमा देखिने स्मितालाई देख्न पाइन्नथ्यो, केही खल्लो लाग्दो रहेछ ।
होलीको अघिल्लो दिन शनिबार पथ्र्यो । त्यही दिन उसको ड्युटी अफ रहेछ । समय भए आउनुन भनी । म पनि ड्युटी अफमै हुँनाले दिउँसो १ बजे महाराजगञ्ज “इट एन्ड स्माइल क्याफे” मा भेटियौँ । उसको बिरहलाग्दो प्रेम बियोगको कथाले सन्नाटा छायो केही कप कफीको दस्तुर उसैले बुझाई र हिँड्यौँ । ऊ स्कुटीमा टिचिङ हुँदै आउने भई । म बालाजुको बसमा उहीँ प्रेमबियोग गुन्दै.. ।
बेलुका न्युज साइट अपडेट गर्न इमेल चेक गरेँ । दिउँसो तीन बजेतिर पठाएको एउटा इमेलमा ब्रेकिङ न्युज अपडेट गरिहाल्नुस सर ! भनेर कसैले इमेल गरेको थियो । टिचिङ हस्पिटल नजिकै स्कुटी र बाइक ठक्कर खाँदा टिचिङमा कार्यरत स्मिता गम्भीर घाइते ‘उहीँ स्कुटरको नम्बरसहित, अकल्पनीय समाचार थियोे । हतार हतार उसको नम्बरमा फोन गरेँ, उठेन अरु उपाए थिएन, सुतेँ अबेरसम्म निद्रा लागेन ।
बिहान आठ बजे अपरिचित नम्बरको फोनले झस्कायो । फोनको हतास र अर्धअबरुद्ध रुन्चे नारी आवाजले भन्थ्यो– “म स्मिताको साथी उसले मृत्युअघि हजुरको नाममा उसको प्रेम कथा लेखियोस् भनेर मलाई केही कुरा भनेकी छ र केही पर्सनल डायरीहरु मेरो जिम्मामा हजुरसम्म पुर्याइदिनु भनेकी छिन ।”
होलीको त्यो बिहानैको दुःखद समाचारले अलिकति रङ पनि नछोई बेरङ्गी होली बनेर गयो । म लेख्दैछु उसका अधुरो कथा…
Previous Articleठुला दल मत किन्न पैसा हालेर गाउँ पस्न थाले-भट्टराई
Next Article २०७३ चैत १४ गते सोमबारको राशिफल