तीते करेली
कृष्णराज शर्मा
यतिखेर देशमा स्थानीय चुनावको माहौल बन्दै गैरहेको चर्चा व्यापक छरिएको छ । विश्वास नगर्दा नगर्दै पनि ०६४ र ०७० मा भएका दुईटा चुनावका आधारमा चुनाव अझैपनि हुन्छ कि हुन्नको दोसाँधमा छ । चुनावको मिति तोकिएको छ । तैपनि, बीस बर्षपछि हुन थालेको यो चुनावमा नगरपालिकाको मेयर उपमेयर बन्ने लालसा धेरैमा जागेको छ । जनमत जेसुकै होस् पार्टीको संबन्धित ईकाईमा रहेकै कारण म मेयर किन नहुने ? भन्ने अहं पनि चढेको छ । फुरूक्क फुर्काई दिएको आधारमा भारी बोक्न नसके पनि बोक्छु भन्दै हिंड्नेहरू पनि छन् । मैले त्यो पदमा पुगेर पदीय दायित्व निर्वाह गर्नसक्ने हिम्मत र आत्मविश्वास नहुनेहरू पनि निन्याउरो मुख लगाउँदै लुसुलुसु बजार डुल्छन् । मेयरको उम्मेदवार भन्दिए पनि जितेकै ठान्दै बजार टहलिन्छन् । जो नहुनेवाला छ बजार चक्कर मारेको मारेई छ,जो हुनेवाला छ नेताको चक्कर मारेको मारेई छ । पार्टीको टिकट त चाहियो उम्मेदवार हुन । हुलाक टिकट देखाएर नहुने । नेताको विश्वास जित्न दौडादौड छ । तैपनि मेयरमा ख्वाब राख्नेहरू आजकल छ्याप्छ्याप्ति देखिन थालेका छन् बजारमा । धन भएको देखाउन थालेका छन् । धन नभए नेताले पनि पत्याउन छाडे, जनताले पनि पत्याउन छाडे । यही मेसोमा मेरो मनमा तीनवटा कुरा खेले । यौटा हुलाक टिकट, अर्को पार्टीको टिकट र मुख्य पैसाको टिकट ।
नेपालमा हुलाक टिकट संकलन गर्ने पहिलो व्यक्तिमा मोतीराम भट्टलाई मानिन्छ । सामान्य ज्ञानको आईक्यूमा यो सुनेपछि म मा टिकट संकलन गर्ने यौटा उत्सुकता जागेको हो । मेरो घर नजिक अञ्चल हुलाक नियन्त्रण कार्यालय थियो । यही हुनिकाले मेरो टिकट संकलन गर्ने उत्सुकता र कौतुहलता मेटाउने काम गरेको थियो । र मैले बाह्र तेह्र बर्षको हुँदा देखि टिकट संकलन गर्ने गर्थें । म फुच्चे भएकाले सबैलाई अंकल भन्दै टिकट माग्थें । चिट्ठी पत्रहरूमा टिकट टाँस गरेर चिट्ठी आदान–प्रदान हुन्थे । पत्र खोलेर टिकट सहीतका खाम रद्दीका टोकरीमा मिल्काउनु पूर्व उप्काएर मलाई दिन्थे । ति सबै अँकलहरूलाई मैले बोलाई रहने हुँदा कुनै नयाँ टिकट आयो कि मलाई दिनुहुन्थ्यो । म औधी खुशी हुन्थें । मनमनै ति अंकललाई धन्यवाद दिईरहेको हुन्थें । गर्दा गर्दै टिकटको थुप्रो हुनथाल्यो मसँग । अरूको सौंख सुनेर म टिकट संकलनको सौखिन बन्दै गैरहेको थिएं । नेपाल फिलाटेलिक सोसाईटीका अध्यक्ष बागलुङका ॐकार प्रसाद गौचन थिए । उनै हुलाक टिकटका संग्रहकर्ता छन् रे भन्ने पछि थाहा पाएँ । एक मनले मलाई यो सौंख पलाएर लाग्दा के नै उपति हुन्छ र भन्ने लाग्थ्यो । लङ्गडो सौंख जस्तो पनि भएको थियो मलाई । उनको नाम जोडिए पछि म अझ हौसिएँ । टिकट देख्यो कि टपटप टिपी हाल्थें । वरीपरीकाले टिकटको किरो भन्थे मलाई । थुप्रै थिए मेरा टिकट । एक दिन आँधी हुरी बतासले मेरो सौंख निमेष भरमा उडाई दियो । मैले सहें । सहन नसकेर पनि सहें । म बाँचे । मेरा टिकट सबै मरे । बस् । मेरो दिमागमा छाप परेको टिकट यही थियो ।
देश निर्दलीय पँचायत व्यवस्थामा बेफिक्री दौडिरहेको थियो । निर्विकल्प पँचायतको बिकल्प पनि हुने रहेछ भन्ने त्यतिबेला ज्ञान मिल्यो, जति बेला छयालिस साल चैत्र छब्बीस गते राती सवा एघार बजे रेडियो नेपालबाट राजा वीरेन्द्रको शाही घोषणा सुनें । मलाई त के थियो र, हुनेलाई पो हुनु भयो । यो के भयो ? कसरी भयो ? भयंकर उच्छाहट् उनीहरूलाई भयो । मेरो टिकट आँधीले बढार्दा मलाई के भयो र उनीहरूलाई त्यसो भयो । देशमा परिवर्तन आयो अनि बहुदल आयो । कसलाई के को चिन्ता, कसलाई के को चिन्ता घर ज्वाईंलाई खान कै चिन्ता भने झैं मलाई टिकट संकलनकै चिन्ता थियो । बहुदल पछि मैले क–कस्ता अंकल भेटाउने हो । टिकट हातमा देलान कि नाईं । मेरो चिन्ता यो रह्यो । समयले फड्को मार्दै गयो । टिकटका कुरा चले । बुझ्दै जाँदा हुलाक टिकटका कुरा नभै दलका टिकटका कुरा भए । बल्ल अर्को ‘टिकट’ बुझें । बल्ल बहुदल बुझें । नेता बुझें । दलको कार्यकर्ताले चुनावमा दलको टिकट नपाई आँफुखुशी चुनावमा उठ्न नपाउने रहेछ । टिकट पाउनेहरू चुनावी मैदानमा लडे । हार जित भयो । प्रजातन्त्र बुझियो । हुलाक टिकट र दलको टिकटमा भेद भेटाएँ ।
बहुदल पछिको पहिलो आमनिर्वाचनमा २५ बर्ष उमेर नपुगेर छिड्की खाएका थिए राम प्रसाद आचार्यले । बागलुङ निर्वाचन क्षेत्र नं. ३ का थिए यिनी । ’कन्फर्म चुनाव जित्ने’ ठानेर टिकट ल्याएका उनी उम्मेदवारको नामावली माथीको दावीबिरोध पछि टिकट रद्द भयो । उनी पनि रद्द भए । उमेदवार हुन पाएनन् । यही ठाउँ उनै ॐकारले लिए र स्वतन्त्र भएर जिते । आँफूखुशी उठ्ने विजयी बने र दलको टिकटका व्यक्तिले हावा खाए । ०४८ को चुनावमा दलको टिकट पायो भने कुकुरले पनि चुनाव जित्ने विश्वास थियो । त्यतिबेला गणेशमानका धेरै लौराले टिकट पाए । चुनाव पनि जिते । काठमाण्डौमा त्यतिबेला गणेशमानको लौरो उठाए पनि जित्छ भनिन्थ्यो । लामो समय प्रतिबन्धित भएकाले हरेक पार्टीमा अनुशासन त्याग तपस्या संघर्ष बलिदानको मूल्याङ्कन हेरेर टिकट पाउँथे । दलमा लागेकाहरूमा पनि नैतिकता र ईमान्दारिता तथा देश र जनताप्रतिको उत्तरदायित्वलाई मिहीन ढङ्गले लिईन्थ्यो । त्यस्तैले मात्र जनप्रतिनिधि हुन पाउने हक राख्थ्यो । अहिले त्यस्तो मूल्याङ्कन छैन । धन पैसाको कुम्लो जोसंग छ, उही दलको योग्य उम्मेदवार बन्दैछन् । पार्टीको ईमान्दार सिपाहीको पहिचान कमाण्डरले गर्दैनन् । तै पनि विचरा सिपाहीहरू लिखि–लिखा नेताकँहा धाउँछन् । भयङ्कर ठूलो आश्वासन पाउँछन् । काँधमा नेताको धाप् परेपछि ढुक्क पर्छन् । जाऊ जिल्लामा गएर आफ्नो कार्यक्षेत्रमा लाग । टिकट उहीं पठाई दिन्छु । बिचरो, पत्याएर मख्ख पर्दै दौडिन्छ जिल्लातिर । नेता भने धनाढ्य उम्मेदवार कतिबेला मेरो ढोकाबाट छिर्ला भनेर बसेको छ । धनको मायाँ भएका नेतालाई ईमान्दार कार्यकर्ताको के मायाँ ? पार्टी सँगठन बलियो बनाउने, आन्दोलनमा ज्यान फालेर लाग्ने, जनताको आँखामा नबिझाउने ईमान्दार कार्यकर्ताको उसलाई जरूरतै छैन । ईमान जमान नैतिकता आस्था निष्ठा धनका अगाडी सबै बेकार कुरा हुन् । भू–माफिया, जल माफिया, बिजुलि माफिया, शैक्षिक माफिया, स्वास्थ्य माफिया र तस्करहरू सँगको हिमचिमले शान शौकतको धाक रवाफको जिन्दगिमा निम्छरा ईमान्दार कार्यकर्ता आँखाका कसिंगर बनेर उसको घरमा पस्नु नेताको काउसो हो । यिनै माफियाहरूले टिकट पाउने संभावना हटेको छैन ।
विगत सत्ताईस बर्षदेखि नेपालमा बहुदलीय व्यवस्था कायम छ । त्रिसट्ठी पछि बहुदलमा गणतन्त्र मिसाएर कायम अस्थिर व्यवस्थामा चुनाव जारी छ । सत्ताईस बर्षमा सातवटा चुनाव भए । गणतन्त्रमा दुईटा चुनाव भए यस अबधिमा । अहिले अविश्वासका बीच स्थानीय चुनावको ह्वीम चलेको छ । पार्टीका गुट उपगुटहरू विकासि कुखुरा र विकासी रक्सि लिएर कोठा चोटामा रँगीन रात बिताउन थालेका छन् । रक्सिका डिलरहरू ट्रकका ट्रक रक्सि भित्र्याउन थालेका छन् । गाउँमा सुस्ताएका खाजाघरहरू जुर्मुराउन थालेका छन् । गाउँका टाँठाबाठाहरू मुख मिठाउन थालेका छन् । निर्वाचनको यसरी माहौल बन्दैछ ।
अबका चुनावमा उम्मेदवार हुनको लागि दुईचार लाखले छुस्स पनि हुन छाडेको छ । दुईचार करोड नहुनेले चुनाव जितेर मेयर उपमेयर हुन्छु भनेर नचिताए पनि हुन्छ । दुईचार लाखले त वडाध्यक्ष पनि भईन्न । स्थानीय निकायका घरघरमा र टोलटोलमा कोसंग कति पैसा छबाहेक अरू चर्चा चल्न छाडेको छ । घर घडेरी सुन चाँदी नगद कति छ हिसाब किताब हुन थालेको छ । केन्द्रका नेतालाई छुट्टै, पार्टीलाई छुट्टै र चुनावमा पछि लाग्ने आउरे–बाउरे गुण्डालाई छुट्टा–छुट्टै बिटा नबुझाएसम्म चुनाव जित्ने सपना नदेखे हुन्छ । फलानासंग कति पैसा छ र चुनावमा उठ्न खोजेको छ ? आदी प्रश्नहरूका उत्तर मिलाउन थालिएको छ । गाउँ शहर बजारमा सुनिने आवाजहरू हुन् यिनी । अबका चुनाव यि आवाजका अतिरिक्त हुनै सक्दैनन् । असल मान्छेले गलत धन्दा गर्दैन । गलत धन्दा नगरे धन आर्जन हुन्न । धन नभए चुनाव जितिन्न । यी यथार्थतालाई बुझेर समाजका ईमान्दार र नैतिकवान मान्छेहरू राजनीति देखि पर–पर हुँदै किनारा लाग्न थालेका छन् । जोसँग धन छ, जोसंग गुण्डा पछि लाग्छन् उही व्यक्ति जनताको नजरमा पर्नथालेको छ । यस्तै प्रवृत्ति पार्टीको नजरमा पर्न थालेको छ । मेरा हुलाक टिकट आँधी हुरीले उडाए जस्तै दलको टिकट धनले उडाई दिएको छ । जनताले धन र गुण्डागर्दीको बिरूद्ध आवाज उठाउन सक्ने अवस्था छैन । खरिद बिक्रिका नेता जनताले चाहेका छैनन् ।
अन्तमा, धनमायाँको प्रसँग छुटे मेरो कुरा अपुरो हुनेछ । धनको मायाँ गर्ने ‘धनमायाँ’को कुरा हो यो । जतिसुकै राष्ट्र र जनताका सेवक भनेपनि धनमायाँले देश पीडामा छ । धनमायाँको सँस्कृतिले आम राजनीति गिजोलिएको छ । जनताको सेवा गर्नेले अर्थोपार्जनको ध्येय लेस पनि राख्दैन । जसले खर्च गर्न सक्छ उसले कमाउन पनि सक्छ भन्ने व्यवशायिक मानसिकता राजनीतिमा हुबहु उतार्नु दुर्भाग्य भएको छ । आज सच्चा सेवक बनेर चवालीस बर्षे ठिटो योगी आदित्यनाथ भारतको सबभन्दा ठूलो राज्य उत्तर प्रदेशको मुख्यमन्त्री बन्न पुगेका छन् । यौटा सन्यासी त्याहाँको मुख्यमन्त्री बन्नु चानचुने कुरा होईन । उसमा कुनै लोभ लालच स्वार्थ केही पाईंदैन । मात्र देश र जनताको सेवा गर्ने उसको लोभ र लालच छ । बीस करोड जनताको राजनेता बनेर आफ्नो राज्य हाँकी रहेको छ । तर यहाँ त पदमा पुग्ने महँगा गाडी चढ्ने । शुरा सुन्दरीमा झुम्ने । गरीब जनताका नीर्धा हातको नमस्कार खाने । म अब ठूलो मान्छे भएँ भन्ने आत्मरतिमा रम्ने बाहेक केही देखिएन । राजनीती गर्ने हो भने जनताको मायाँ गर धनको मायाँ त्याग । धनमायाँहरू जनताको दैलो टेक्दै नटेकुन् । देश र जनताको मायाँ गर्ने जनताको बीचमा पुगुन् । चुनाव भएको खण्डमा उम्मेदवारको धनमायाँ प्रवृत्तिलाई धपाउन सकौं ।
Previous Articleथे्रसहोल्ड र सामाजिक न्याय
Next Article काठेखोलामा एमालेको उम्मेदवार दाबी