बागलुङ, १३ चैत – आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा काठेखोला गाउपालिकामा एमालेका नेताहरुले आफ्नो उम्मेदावरीको दावी पेश गरेका छन ।
गाउपालिकाको केन्द्र विहुँ सुल्डाडाँमा शनिवार आयोजित गाउपालिका स्तरीय अगुवा कार्यकर्ता भेलामा त्यस क्षेत्रका नेताहरुले आ–आफ्नो उम्मेदवारीको दावी पेश गरेका हुन् । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय प्रचार विभागका पूर्व सदस्य तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य हरिनारायण गौतम, पार्टी जिल्ला कमिटीका सदस्य अमर थापा, क्षेत्रिय कमिटीका कावा अध्यक्ष डिलवहादुर कार्की र पूर्व जिल्ला सल्लाहकार सदस्य परमानन्द कँडेलले गाउपालिकाको निर्वाचनमा अध्यक्ष पदमा आफ्नो उम्मेदवारीको दावी प्रस्तुत गरे ।
निर्वाचनलाई केन्द्रित गरेर एमालेले शनिवार काठेखोला गाउपालिका स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमको उदघाटन गर्दै पार्टी जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले निर्वाचनमा नेकपा एमालेको पक्षमा माहोल सिर्जना गर्न कार्यकर्ताहरुलाई निर्देशन दिए । अव मुलुकमा राजनैतिक स्थायित्वका लागि एमालेको विकल्प नरहेको वताउदै अध्यक्ष सापकोटाले काठेखोला गाउपालिकामा निर्वाचन जितेर पार्टीको झण्डा फहराउनुपर्ने वताए । मुलुकका हरेक आन्दोलनको अगुवाई नेकपा एमालेले गरेको वताउदै अध्यक्ष सापकोटाले एमाले नै राष्ट्रियता पर्यावाची भएको दावी गरे ।
पार्टीका नेता कार्यकर्ताले आफ्नो उम्मेदवारीका दावी पेश गरे पनि पार्टीले प्रक्रियागत रुपमा उम्मेदवारीको टुंगो लगाउने वताए । उनले गाउपालिका र नगरपालिकाको प्रमुख र उपप्रमुखको टुँगो जिल्ला कमिटीको सिफारिशमा प्रदेश कमिटीले र वडा अध्यक्ष र सदस्यको टुंगो वडा कमिटी र गाउपालिका संगठन कमिटीको सिफारिशमा जिल्ला कमिटीले लगाउने वताए ।
कार्यक्रममा जलस्रोत तथा उर्जा विभागका सदस्य हिरावहादुर खत्रीले आगामी निर्वाचनमा पार्टी कार्यकर्ताको भूमिका विषयमा र कानुन तथा निर्वाचन विभागका सदस्य ममतादेवी शर्माले संघिय संरचना र संविधानका विषयमा प्रशिक्षण दिएका थिए ।
गाउपालिका संगठन कमिटीका संयोजक डिल्लीराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी विभागका सदस्य रामवहादुर जिसी, प्रचार विभागका पूर्व केन्द्रिय सदस्य हरिनारायण गौतम, प्रदेश विभागका सदस्य बालकृष्ण कँडेल, विद्यापति शर्मा, जिल्ला कमिटीका सदस्य गंगादेवी शर्मा र सुरेश विकले नेकपा एमालेका कार्यक्रम, निर्वाचन र पार्टी कार्यकर्ताको भूमिकाको वारेमा मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सदस्य अमर थापाले र स्वागत उपसंयोजक हुमा कुमारी जिसी अन्जुले गरेका थिए ।