बागलुङ, १३ चैत – मानव मिलन नारी जागरण केन्द्र पोखरा र रिजनल अस्पताल पोखराको संयुक्त आयोजनामा बागलुङको पैयुँपाटामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शनिवार आयोजना गरिएको शिविरमा एक हजार बढीले विभिन्न रोगको उपचार तथा स्वास्थ्य परिक्षण पनि गरेका थिए । स्त्रि रोग, महिलाहरुको पाठेघरको क्यान्सर सम्बन्धी निशुल्क परिक्षण, मुटु, छाति, मृगौला लगायतका रोगको पनि निशुल्क परिक्षण र उपचार समेत गरिएको हो । शिविरमा पैयुँपाटा, नारायणस्थान र आसपासका स्थानीयहरु सहभागि थिए ।
अस्पतालकी डा. तारा गुरुङको नेतृत्वमा अस्पतालका अध्यक्ष जगतबहादुर खड्का, दिलिप न्यौपाने, लक्ष्मी पौडेल, प्रमिला श्रेष्ठ, लगायत १७ जनाको टोलीले रगत, पिशाव परिक्षण लगायतका सबै सेवा प्रवाह गरेका थिए । साथै विरामीलाई आवस्यक पर्ने औषधि पनि निशुल्क दिइएको आयोजक केन्द्रकी सचिव कमला गिरीले बताइन् ।
शिविर उद्घाटन गर्दै प्रजिअ भागिरथ पाण्डेयले ग्रामीण बस्तीका जनताको स्वास्थ्यमा चासो राखेर निशुल्क शिविर संचालन गर्दा अस्पताल जान नसक्नेले पनि सहज सेवा पाएको बताए । उनले महिलाको समस्या बारेमा गरिएको चासो र उपचारले धर्म पनि मिल्ने बताए । केन्द्रकी अध्यक्ष पार्वती पौडेलको अध्यक्षता, सचिव कमला गिरीको संचालन र उपाध्यक्ष रमा ढकालको स्वागतमा सम्पन्न कार्यक्रममा केन्द्र स्थापनाका लागि मार्गदर्शन दिने मानव मिलन संस्थाका संस्थापक नेपाल केशरी डा.मणीभद्र मुनी जी महाराजले जीवन उपयोगी मार्गदर्शन बारेमा प्रवचन गरेका थिए । उनले मानव स्वास्थ्यकै लागि २५ हजार किमी पैदल यात्रा पनि गरिसकेका छन् । उक्त अवसरमा नेपाली काँग्रेस क्षेत्र नं. २ का सभापति नारायण पौडेल, पत्रकार महासंघकी केन्द्रीय सदस्य सुष्मा पौडेल, राधिका कुँवर लगायतले बोलेका थिए ।
Previous Articleअनेम संघ क्रान्तिकारीको भेला
Next Article महासंघको सहयोग अभियान चैत १६ देखि