त्यस्तो के फरक छ त भन्ने प्रश्नको जवाफमा हाँस्दै भनिन्, ‘पशुपतिप्रसादकी बुनु यसमा बेबी बनेकी छे।’ उनको हाँसो खित्कामा बदलियो।बुनुबाट बेबीमा रुपान्तरण हुन सहज नभएको पनि उनले बताइन्। उनकै अनुसार यसको भूमिका उनले यसअघि काम गरेका फिल्महरु (नाइ नभन्नु ल ३, सुब्बा साब र रिलिज हुन बाँकी कारखाना) भन्दा फरक मात्रै थिएन, वास्तविक जीवनमा उनी जस्ती छिन् त्योभन्दा ठीक उल्टो थियो।
वास्तविकतामा चाहिँ कस्ती छिन् त वर्षा शिवाकोटी ?
गोरो अनुहारलाई गम्भीर बनाउँदै भनिन्, ‘पर्दाबाहिर म निकै सफ्ट छु। कसैले थर्कायो भने पनि चुपचाप बस्ने खालकी।’ लप्पन छप्पनमा भने उनले पुरुष पात्रहरुलाई थर्काउनेदेखि बन्दुक बोक्ने सम्मको काम गरेकी छन्।
कहिलेकाहीँ यस्तो पनि हुन्छ, काम दिनेले पत्याउँछ तर लिनेले आफैंमा शङ्का गरिरहेको हुन्छ। वर्षालाई पनि यो फिल्मको प्रस्ताव आउँदा यस्तै भएको रहेछ। इमान्दारीका साथ भनिन्, ‘प्रस्ताव सुन्ने बित्तिकै म यस्तो स्ट्रङ र बोल्ड भूमिकामा फिट हुँला त भन्ने आशङ्का जन्मेको थियो।’
लप्पन छप्पन ‘ग्याङस्टर बेस्ड’ फिल्म हो। यसमा सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, सिड खरेल, प्रकाशजंग शाह जस्ता पुरुष पात्रसँग एक मात्र महिला पात्रका रुपमा आफूलाई स्थापित गर्नु पर्ने हुन्थ्यो। थपिन्, ‘मलाई निर्देशकलगायत फिल्मको टिमले विश्वास गरेपछि मैले पनि नाइ भन्नु हुँदैन, बरु मिहिनेत गर्नुपर्छ भन्ने लाग्यो। आखिर मेरो पनि हिरोसँग नाँच्ने भूमिकामा सीमित हुन चाहना कहाँ हो र भनेर आँट गरेँ।’
यो कुरा ठिक एक वर्ष अगाडिको थियो।
त्यसपछि उनको ‘बेबी’ चरित्रलाई बलियो बनाउने तयारी सुरु भयो। एक महिने वर्कसप सुरु भयो। लुक्सदेखि पात्रले अभिनयमा निखार ल्याउने अभ्यास गर्नु त सामान्य कुरा भयो। तर सबैभन्दा जोड चाहिँ शारीरिक रुपमा आफूलाई बनाउनुपर्ने थियो। सीतापाइला बस्ने उनले स्वयम्भूको चक्कर लगाउन थालिन्। द्वन्द्व निर्देशक चन्द्र पन्तसँग कक्षा लिइन्। चम्किला आँखा अझ जोसिलो बनाउँदै भनिन्, ‘पर्सीपल्टदेखि नै फाइटको क्लास सुरु भयो। बिहानदेखि बेलुकासम्मै खट्दा तौलसमेत घट्यो।’ उनलाई आफ्नो स्वर सानो र सफ्ट छ भन्ने थाहा थियो, त्यसैले आवाज बोल्ड बनाउन पनि ध्यान दिइन्।
लेन्स लगाउन उनलाई निकै डर लाग्दोरहेछ। तर फिल्ममा लेन्स लगाउनेदेखि नाकमा नत्थीसमेत झुण्ड्याएकी छिन्। केही सम्झेँ झैं गरिन्, ‘अँ खासमा ट्याटुइङ गर्ने कुरा पनि भएको थियो, तर पछि गरिएन।’
युरोपका बेल्जियम, नेदरल्यान्ड, स्विजरल्यान्ड र जर्मनी जस्ता सहरमा छायाङ्कन हुनु यो फिल्मको विशेषता हो। यस कुराले वर्षालाई निकै उत्साहित बनाएको थियो। तर एउटा समस्या पनि रहेछ। सुनाइहालिन्, ‘हामी १५/१६ जनाको टिममा केटी भनेको म मात्रै थिएँ। विदेशमा सुटिङ गरेको अनुभव नहुँदा केही डराएकी पनि थिएँ।’
फिल्मको समूह एक महिनाका लागि युरोप जाँदै थियो। उनी एक मात्र महिला कलाकार भएकोले मेकअपदेखि ड्रेसअपका आधारभूत कुरा सिक्ने पनि उनकै भागमा पर्यो। ‘सौगात दाइ, दया दाइलगायत सबैको मेकअप मैले नै गर्नु पर्ने कुरा सोच्दै रमाएकी थिएँ।’ खुसी पोख्दै भनिन्।फिल्ममा सिड र अर्जुनसँग बढी स्क्रिन सेयर गरेकी उनका लागि सबैभन्दा ठूलो चुनौती ज्यान फालेर कुद्ने दृश्यहरु नै थिए। किनकी फिल्मभरी पैसाका लागि एक पात्रले अर्को पात्रलाई ‘चेज’ गरिरहन्छ। राम्रै तयारी गरेर गए पनि छायाङ्कनका दौरानमा उनको जुत्ताले भने ठूलै धोका दियो। केही दृश्य खिचिसकिएको त्यो जुत्ताको विकल्प नभएपछि उनले जुत्ताभित्रको घाउको पीडा बिर्सेरै कुद्नु पर्यो।
आफ्नो देब्रे गोडा अलिकति माथि उठाउँदै भनिन्, ‘देब्रे खुट्टाको जुत्ता साँघुरो परेछ। त्यसै दौडदा त थकाइ लाग्छ, साँघुरो जुत्ताले निकै गाह्रो पार्यो। स्पिडमा दौडनु पथ्र्यो। घाउ मात्रै भएन भित्रभित्रै पाक्यो पनि। कतिपल्ट त आँखामा आँसु नै आयो।’
युरोपमा राति नौ दश बजेसम्म घाम लाग्ने भएकोले काम गर्ने समय बढी हुनु स्वभाविक थियो। झन्, फरक फरक सहरका दृश्य पनि एक महिनाभित्रै समेट्नु पर्ने थियो। विकसित सहरहरुमा छायाङ्कन गर्दाका मीठा सम्झना त हुने नै भए। तर वर्षाले यात्राका क्रममा केही नमिठा र अनौठा भोगाइ पनि भोग्नु परेको अनुभव सुनाइन्।
परिपक्व भाकामा बोलिन्, ‘यहाँ जति तयारी गरे पनि एक महिनाको मात्रै भिसा थियो। सीमित स्रोत साधनबीच सबैको समय मिलाएर काम गर्दा धेरै कुरा थपघट गर्नुपर्दोरहेछ।’
आफ्नै भूमिकाका बारेमा पनि उनलाई यस्तै भयो। फाइट कक्षामा सिकेका कुराहरु फिल्ममा मज्जाले ‘एप्लाइ’ गर्न चाहन्थिन् उनी। तर सोचेजति दृश्य नअटाउँदा उनले धेरै चोटी भनिछन्, ‘मेरो फाइटवाला सिन अझैं थपुम् नँ।’विदेशमा छायाङ्कन गर्दा मान्छेहरुको घुइँचो नलाग्दा घरीघरी उनलाई नेपालमा भीड पन्छाउन छुट्टै मान्छे खटाउनु पर्ने कुरा याद आउँदोरहेछ। राति नौ दश बजेसम्म घाम लागेको दृश्य उनलाई रोचक लागेको अर्को कुरा हो। घामकै कारण ढिलासम्म काम गर्नुपर्दा दौडेर थाकेकी उनलाई आराम गर्न मन लाग्दोरहेछ।
‘फ्रेस लोकेसन’ लप्पन छप्पनको विशेषता हो। तर नयाँ ठाउँका अज्ञात नियमहरु माझ धेरै पटक फिल्मको समूह नै रुमल्लिनु परेको रहेछ। ‘दुईटा गाडीमा सुटिङ स्पटतिर जाँदै थिइम्। पछिल्लो गाडी ट्राफिक लाइटमा पर्दा घण्टौ हरायौं।’ हाँसो रोक्ने प्रयास गर्दै थपिन्, ‘हराएर पनि रमाइलै भयो। नयाँ ठाउँमा मस्तले फोटो खिचियो।’
झन्डै महिना भागदौडमा बिताएपछि भिसा सकिनु तीन दिनअघि फिल्मको टोलीले नेपाल फर्कना टिकट काट्दा वर्षाले भने ग्रिसको टिकट काटिन्। उनकै शब्द सापटी लिइ भन्दा, ‘त्यो टिकट यति महँगो पर्यो कि के भन्नु!’उनकी सानीमा अस्ट्रियामा भएकोले बेल्जियमबाट ग्रीस हुँदै अस्ट्रिया जाने टिकट काटिन्। तर ग्रीसको समय बेल्जियमको भन्दा एक घन्टा छिटो रहेछ। उनी पुग्दा प्लेन छुटिसकेको थियो। मोबाइलको चार्ज सकिएको थियो। मोबाइलको चार्ज सकिएको अनि भएको पावर ब्याङ्क पनि हराएकोले उनलाई ठूलै तनाव भयो। निर्दोष पाराले भनिन्, ‘मसँग ट्वाइलेटमा गएर रुनुको विकल्प थिएन।’
फर्कने बेला भएकोले खल्तीको हालत बलियो थिएन। यताउता गर्दा छिनछिनमा पासपोर्ट देखाउने झन्झटले उनको तनाव झनै बढाइरहेको थियो। कसोकसो फोन चार्ज गरेर सानीमाको परिवारसँग सम्पर्क गरेर अस्ट्रिया पुगिन्।
लप्पन छप्पनले उनलाई अन्जान देशको यात्रामा सूचना र अनुभव दुबै कुराको खाँचो पर्ने ज्ञान दिएको छ। यही अनुभवले उनलाई अस्ट्रियाबाट नेपाल फर्कने बेला निकै चनाखो बनाएछ। सुनाइन्, ‘प्लेन नछुटोस् भनेर उड्नुभन्दा धेरैअघि नै चढेँ।’ त्योबेला उनी चढेको प्लेनले काठमाडौं एरपोर्ट ल्यान्ड गरेपछि मात्रै ढुक्क भएकी थिइन् रे।लप्पन छप्पन सार्वजनिक हुनु दुई दिनअघि मात्रै भएको भेटमा उनका आँखा र हाउभाउले फेरि अर्को सुरक्षित अवरतरणको प्रतीक्षा गरिरहेको भान गराउँथ्यो।
बुनुबाट बेबी बनेकी वर्षालाई भेटेर फर्किंदा लामो समयसम्म लागिरह्यो, फिल्मका कलाकार र स्कुल कलेजका विद्यार्थी उस्तै हुन्। दुबैले एकपछि अर्को परीक्षा दिइरहनुपर्छ। नेपालखवर