बागलुङ, ११ चैत – आदित्य प्रतिभा स्मृति प्रतिष्ठान बागलुङले जिल्लाका १५ जना जेहेन्दार तथा आर्थिक रुपमा विपन्न बालबालिकालाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । प्रतिष्ठानले बिहिवार एक कार्यक्रम आयोजना गरेर उक्त छात्रवृत्ति घोषणा गरेको हो ।
छात्रवृत्ति पाउनेमा भकुण्डेका सुमिना पौडेल, सुमन किसान, रेडिसन थापा, रेजिना थापा छन् । त्यस्तै तित्याङका अशोक थापा, अनिषा बोहोरा, मुलपानी माविका सन्देश किसान, पार्वती पौडेल, मालिकाका अस्मिता सापकोटा, दिपा रेग्मी, विश्वकर्मा माविकी सरस्वती गैहैे, लहरेपिपल माविकी अपिका थापा, धवि माविका सृष्टी शर्मा र कालिका कन्याका बेलबहादुुर नाइसा तथा चन्द्र बुढाथोकी छन् । बिद्यालय तहदेखि पढाई र खेलकुँदमा तीक्ष बुद्धि भएका आदित्य पन्तको निधनपछि परिवारले स्थापना गरेको यो कोषबाट यस अघि ३८ जना बालबालिकाले विद्यालयदेखि स्नातकसम्मको अध्ययन गर्ने मौका पाएका थिए ।
ती बालबालिकालाई हरेक बर्ष ६ हजार रुपैयाँको दरले छात्रवृत्ति दिइएको थियो । यो बर्ष घोषणा भएकालाई २०७४ सालमा छात्रवृत्ति दिइने प्रतिष्ठानका अध्यक्ष बिजयराज पन्तले बताए । त्यस्तै प्रतिष्ठानले शिक्षा क्षेत्रमा योगदान गरेको भन्दै समाजसेवी केवी राना र स्वास्थ्य क्षेत्रमा सेवा पु¥याएको भन्दै बागलुङ अस्पतालका पहिलो डाक्टर कृष्णबहादुर श्रेष्ठलाई सम्मान गरेको छ । २०४७ सालमा जन्मेका आदित्यको निधन २०६३ मा भएको थियो ।
उनकै स्मृतिमा २०६५ सालमा गठन भएको प्रतिष्ठानले शिक्षा, साहित्य र स्वास्थ्य क्षेत्रमा काम गर्नेलाई सम्मान गर्दै आएको हो । प्रतिष्ठानका अध्यक्ष बिजयराज पन्तको अध्यक्षता, सचिव धिरेन्द्रराज पन्तको संचालन र उपाध्यक्ष महेशचन्द्र प्रधानको स्वागतमा सम्पन्न कार्यक्रममा सांसद चम्पादेवी खड्काले प्रतिष्ठानको अभियानमा आफ्नो पनि सहयोग हुने बताइन् ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद मिश्र, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य हरिनारायण गौतम, सम्मानित व्यक्ति केवी राना र डा. कृष्णबहादुर श्रेष्ठ, प्रतिष्ठानका संस्थापक विश्वनाथ रेग्मी, रत्न पुरस्कार गुठीका संस्थापक प्रेम छोटा, विद्यार्थी कमला विक र नविन शिशिर विक लगायतले बोलेका थिए । प्रतिष्ठानको कोषमा ५२ हजार थप गरी ३ लाख २ हजार रुपैयाँ पु¥याइएको सचिव पन्तले जानकारी दिए ।