म्याग्दी, ११ चैत – हाम्रो अभियान, लोकसंस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन’ भन्ने मूल नारासहित प्रथम धौलागिरि सांस्कृतिक महोत्सव शुरु भएको छ ।
कलाकारहरुको कल्याणकारी कोष स्थापना गर्ने उद्देश्यसहित बिहीबारदेखि म्याग्दीको सदरमुकाम बेनीमा प्रथम धौलागिरि सांस्कृतिक महोत्सव आयोजना गरिएको हो । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान धौलागिरि अञ्चल कार्यसमितिको आयोजनामा शुरु भएको सांस्कृतिक महोत्सव आगामी चैतको २० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले महोत्सव आयोजना गरिएको समय र परिस्थिति फरक रहेको हुँदा हावाहुरी र वर्षातका कारण हुनसक्ने सम्भावित दुर्घटनाप्रति सुरक्षित हुनुपर्ने बताएका छन् । उनले विद्यालय तहको परीक्षाको समय भएकाले विद्यार्थीलाई प्रवेश निषेध गर्नुपर्नेमा जोड दिँदै ७० वर्ष उमेर पुगेका वृद्धवृद्धाहरुले आफुहरुलाई खुलामञ्च प्रवेशका लागि सहुलियत वा निःशुल्क व्यवस्था हुनुपर्ने माग गरेको हुँदा उनीहरुको व्यवस्थापन गर्न सुझाव दिए । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष अमर बिरही गुरुङ र वर्तमान केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश बिजीले कलाकारहरु सधैं अरुले आयोजना गरेका कार्यक्रममा मात्रै सहभागी हुनुभन्दा आफूले पनि कार्यक्रमहरु गर्नुपर्नेमा जोड दिएका छन् ।
लोकसंस्कृतिको संरक्षणसहित कलाकारहरुको कल्याणकारी कोष स्थापना गर्नका लागि सांस्कृतिक महोत्सवको आयोजना गरिएको अञ्चल अध्यक्ष राजेन्द्र सापकोटाले बताए । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान गण्डकी अञ्चल अध्यक्ष शङ्कर विरही गुरुङ, धौलागिरिका निवर्तमान अध्यक्ष तारानाथ आचार्य, पर्वत अध्यक्ष दिपक गदाल र म्याग्दी अध्यक्ष कृष्ण जिसीले मन्तव्य राखेका थिए ।
राष्ट्रियस्तरका चर्चित कलाकारहरुको विशेष साङ्गीतिक प्रस्तुती रहने सांस्कृतिक महोत्सवमा खुला लोकगीत, सालैजो नृत्य, मौलिक झाँकी प्रदर्शन, भजन प्रतियोगितालगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विविध सांस्कृतिक प्रस्तुतीहरु रहने बताइएको छ । कार्यक्रमको उद्घाटनसत्र अञ्चल अध्यक्ष राजेन्द्र सापकोटाको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष कृष्ण अखेलीको स्वागत र महासचिव पूर्ण परियारको सञ्चालनमा सम्पन्न भएको थियो । महोत्सव शुरु हुनुपूर्व जिल्लास्थित विभिन्न जातजाति र संघसंस्था सहभागी झाँकीसहितको ¥याली निकालिएको थियो ।
महोत्सवको मुख्य प्रायोजक शिवशङ्कर मल्टीट्रेड एण्ड हाउजिङ प्रालि बेनी, म्याग्दी रहेको छ । यसैगरी विशिष्ट प्रायोजकमा टुबोर्क गोर्खा ब्रुअरी हात्तीसार काठमाडौं, जिसी क्रसर उद्योग र बि एण्ड कन्टक्सन म्याग्दी, ॐश्री दक्षिणाम्काली क्रसर उद्योग पर्वत र आयोजकहरुमा माउण्ट एभरेष्ट आवासीय मावि, नमस्ते होटेल र बरदान छाला जुत्ता उद्योग रहेका छन् ।
महोत्सवको अवसरमा खुलामञ्च परिसरभित्र विभिन्न स्टलहरु राखिएको छ भने बहुउद्देश्यीय खेलमैदानमा रमाइलो मेला सञ्चालन गरिएको छ ।
Previous Articleआदित्य प्रतिभा प्रतिष्ठानबाट १५ जनालाई छात्रवृत्ति
Next Article ‘प्रधानमन्त्रीले चीनबाटै देश चलाइरहनु भएको छ ’