-
काठमाडौं, १४ भदौ – ‘प्यान्जेया पोयट्री स्ल्याम’ मा नेपाली कवि रुपेश भट्टराई विजेता बनेका छन्। युट्युबमार्फत् आयोजना गरिएको यस अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालसहित फ्रान्स, बेलायत र अमेरिकाका चार कवि पनि विजेता घोषित भएका छन्।
एक महिनाभित्र चारवटा कविता भिडियोसहित युट्युबमा अपलोड गर्नुपर्ने यस प्रतियोगिताको नियम हुन्छ। युट्युबमा भएको भ्युज र लाइकको आधारमा जुरीले उत्कृष्ट १० छान्छन् र अन्तिममा पाँच जना विजेता बन्छन्। जसमा रुपेश पाँचमध्ये एक विजेता कवि हुन्। बेलायतबाट सञ्चालित हालसालै सम्पन्न प्रतियोगितामा विजेता बनेका भट्टराईले तीन सय पाउन्ड पुरस्कार पाउनेछन्।
प्रतियोगिताका लागि संसारका थुप्रै देशका कविले भाग लिएका थिए। नेपालबाट पनि रुपेशबाहेक केही कवि सहभागी भएका थिए तर प्रतियोगिताको नियमअनुसार एक महिनाभित्र चारवटा कविता अपलोड नगरेकाले उनीहरु सुरुमै बाहिरिएका थिए।
प्यान्जेया पोयट्रीका लागि भट्टराईले पाटन, अ काठमाडौं राइड, राइटर्स ब्लक इन बानेश्वर, सर्भाइभ्स द क्यापिटल शीर्षकका चार अंग्रेजी कविता भिडियोसहित युट्युबमा अपलोड गरेका थिए।
आफू वरिपरि रहेको ठाउँको विशेषतालाई आफूसँग जोडेर कविता लेख्ने भट्टराई ¥याप गीत हुँदै ‘पर्फमेन्स पोयट्री’ मा प्रवेश गरेका थिए। जसलाई ‘स्पोकन पोयट्री’ पनि भन्ने गरिन्छ।
‘म कुनै ठाउँको कविता लेखिरहेको छु भने आफू त्यो ठाउँको एउटा अंग भएर कविता लेख्न रुचाउँछु,’ रुपेशले सेतोपाटीसँग भने, ‘त्यो ठाउँका मान्छेका सोचाइ, त्यो ठाउँको नदेखिएको सुन्दरता उतार्न मन लाग्छ।’ उनी मुलतः अंग्रेजी भाषामा कविता लेख्छन्।
उनको यसअघि ‘बम्बे रिभ्यु’ नामक म्यागेजिनको कविता विशेषांकमा प्रकाशित ‘द मस्ट पावरफुल वुमन आइ नो’ शीर्षकको कविता प्रतिष्पर्धाबाट छानिएको थियो। जुन संसारका १२० देशमा पुग्छन्।
Previous Articleस्वदेशी पुँजीबाटै ६ सय मेगावाट जलविधुत उत्पादन गरिने
Next Article घायललाई स्मृति युवा सम्मान