बागलुङ, ९ चैत-स्थानीय तहको निर्वाचनमा पार्टीलाई पहिलो शक्ति बनाउन मन र दिमाग दुवैलाई चलाएमान बनाउदै जनताको घरदैलोमा पुग्न एमालेले आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।
जिल्लामा पार्टीको नयाँ संरचना निर्माणपछि पहिलो पटक मंगलवार आयोजना गरिएको बागलुङ नगरपालिकाको संगठित कार्यकर्ता भेलामा खुट्टा हिड्ने–मन नहिड्ने, हात चल्ने–दिमाग नचल्ने प्रवृतिको अन्त्य गर्दै मन र दिमाग दुवैलाई चलाएमान बनाएर पार्टी काममा खट्न कार्यकर्तालाई निर्देशन दिएको हो ।
कार्यक्रममा निर्देशन दिदै पार्टीका वैकल्पिक केन्द्रिय सदस्य गोविन्द नेपालीले आन्तरिक जीवनमा देखा परेका गलत प्रवृतिका विरुद्ध जुट्न कार्यकर्तालाई निर्देशन दिदै भने– मन र दिमाग दुवैलाई चलाएमान नबनाएसम्म पार्टी जीवन अगाडि बढ्न सक्दैन, विगतमा खुट्टा हिड्ने–मन नहिड्ने, हात चल्ने–दिमाग नचल्ने भएकाले हार ब्यवहोर्न परेको हो । अव त्यो प्रवृतिलाई जरैदेखि फाल्नु पर्दछ ।
पार्टीले योग्य, वरिष्ठ र लोकप्रिय ब्यक्तिलाई नै उम्मेदवार बनाउने भएकाले उम्मेदवारको वारेमा चिन्ता नगर्न कार्यकर्तालाई आग्रह गरे । राष्ट्रिय राजनीतिमा एमालेको विकल्प नहुदाँ पनि बागलुङमा आफुहरुले जीत हात पार्न नसकेको भन्दै केन्द्रिय नेता नेपालीले काँग्रेस र माओवादीसंग जनताको घरदैलोमा जाने कुनै अधिकार नभएको दावी गरे ।
कार्यक्रममा पार्टीेका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले आजैको दिनदेखि जीतको उल्लास वोकेर अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिदै भने–एमालेमा अव हारको कुनै सम्भावना छैन, तपाईहरु विजयको उल्लास वोकेर नगरका प्रत्येक जनताको घरदैलोमा पुग्नुहोस र विगतको विरासतलाई कायम राख्नुहोस । बागलुङ नगरपालिकामा एमाले नै पहिलो शक्ति हो भन्ने पुष्टी मतगणनापछि हुनुपर्ने भन्दै अध्यक्ष सापकोटाले वामपन्थी एकतालाई जिल्लाब्यापी रुपमा अगाडि बढाइने भन्दै कार्यकर्तालाई हौसला प्रदान गरे ।
नगर संगठन कमिटीका संयोजक गोविन्द गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटीका सदस्य जनक पौडेल, जिल्ला उपाध्यक्ष कृष्ण पाठक, सचिव लालवहादुर थापा, सदस्य भरत पुरी लगायतका नेताहरुले स्थानीय तहको निर्वाचनमा पार्टीको भूमिका र कार्यकर्ताको दायित्वका वारेमा वोलको थिए । कार्यक्रमको सञ्चालन जिल्ला सचिवालय सदस्य गणेश थापाले र स्वागत सहसंयोजक तथा प्रचार विभाग प्रमुख धनवहादुरु परियारले गरेका थिए ।
कार्यक्रममा सहभागी कार्यकर्ताहरुले पार्टीभित्रको गुटवन्दीलाई अन्त्य गर्नुेपर्ने, वरिष्ठ र लोकप्रिय ब्यक्तीलाई उम्मेदवार बनाउनुपर्ने, पार्टीले गरेका असल कामको ब्यापाक प्रचार गर्नुपर्ने र पार्टीको अभियानलाई जनताको घरदैलोमा पुराउन विशेष अभियान सञ्चालन गर्ने नेतृत्वलाई सुझाव दिएका थिए ।
एमालेले अहिले नयाँ संरचना अनुसार संगठन कमिटी निर्माण गरेर पार्टी कामलाई अगाडि बढाएको र यसले कार्यकर्तामा थप उत्साह पैदा भएको प्रचार विभाग प्रमुख धन वहादुर परियारले वताए । उनले पार्टीले चैत १२, १४ र १५ गते जिल्ला ब्यापी रुपमा कार्यक्रम गरेर एकैसाथ सन्देश दिन गइरहेको वताए ।
Previous Articleकालिका कप बिजेतालाई १ लाख ३३ हजार पुरस्कार
Next Article जलविद्युत् आयोजनाका मुद्दा