तीते करेली
कृष्णराज शर्मा
‘मुस्कान सहीतको प्रहरी’ भन्दै नेपाल प्रहरीले जनतासंग निकटको सम्बन्ध बनाउन खोज्यो । केही समय पछि अर्को नारा बनायो ‘प्रहरी मेरो साथी’ भनेर जनतासँग अझ घुलमिल हुन खोज्यो । जनता र प्रहरीबीचको सम्बन्ध सुमधुर बन्यो भने सामाजिक विसंगति, विकृति र अपराध नियन्त्रण गर्न विना वर्दीका नागरिक प्रहरीहरूबाट प्रहरी संगठनलाई ठूलो मद्दत पुग्छ भन्ने आशयले माथीका नाराहरू प्रयोगमा आएका हुनसक्छन् । जुन उद्देश्यले नारा तय गरिएको थियो, सार्थकता पायो कि पाएन प्रहरी संगठन जानकार होला । तर आम सर्वसाधारण जनताले ऐन मौकामा न त प्रहरीको मुहारमा मुस्कान भेटाउँछ न त साथी नै पाउँछ । नाराको उद्देश्य बमोजिम प्रहरी आँफैले कति सार्थक परिणाम हासिल गर्यो, प्रहरी सँगठनले नै महशुस गर्ने कुरा भयो ।
प्रहरीले मुस्कान छर्दा कैलालीको टीकापुर घटना घटेको हो भन्दा फरक परेको छैन । यता अस्ति भर्खर सप्तरीको मलेठमा भएको दँगामा टीकापुरको पाठ सिकेर गोली नचलाएको भए दर्जनौं सुरक्षाकर्मी प्रहरीहरू र आम नागरिकको सर्वनाश हुन सक्ने अनुमान घटनापछि सार्वजनिक भए । प्रहरीको उपस्थिति शान्त, सभ्य र संमृद्ध समाजमा मात्रै हुँदो रहेनछ । आधुनिक राज्यमा रामराज्यको कल्पना गरिएको पनि कहीं देखिंदैन । तत्कालका लागि राज्यहरू शान्त देखिए पनि हिंश्रक मानेर तयारी अवस्थामा रहनु पर्दछ । हुलदँगा, हिंसा र आन्दोलनका जनतासंग प्रहरीले साक्षात्कार गर्दा ति उपरोक्त नाराले काम दिने रहेनछन् ।
अर्कोतिर मुस्कान पस्केर र साथी बनेर प्रहरी सँगठन भित्रै अपराधीहरूले खेल्ने अबसर पाए । ठूल्ठूला तस्करहरूमा प्रत्यक्ष प्रहरीनै संलग्न रहेर भएका अपराधले मुस्कान सहीतका अपराधी पनि प्रहरीका साथी बने । यिनै साथीको प्रभावमा परेर प्रहरी संगठनको छविमा गम्भीर आँच पुगेको सबैले देखे जानेकै अवस्था हो । मुस्कुराएर रमाउँदा युद्धकालमा सेनाका व्यारेक पनि उडेको कथा पुराना भएका छैनन् । भर्खरै मात्र प्रहरीको अपराध महाशाखा भित्रका दुई प्रहरीनै अपराधीका साथी बनेर पक्राउ पर्नु पनि मुस्कानकै कमाल मान्नु पर्छ । राजधानी बाहिर मोफसलमा प्रहरी अधिकारीहरूलाई सिमीत झुण्डले संधै भरी घेरी राखेको भेटिन्छ । सरूवा भएर गएपनि नयाँ आउनेसंगको ‘चक्रीय संबन्ध’ले प्रहरी अधिकारीहरू रूमल्लिन बाध्य छन् । समाजको यथार्थतालाई “चक्रबहादुर’’हरूले ढाकिदिन्छन् । यि बहादुरहरूको मुस्कानले राज्यप्रणाली नै गतिहिन बनाई दिएको छ । मोफसलको सम्बन्ध राजधानीमा पुगेपछि अपराधको सञ्जाल बन्दछ । यो त भयो मुस्कान सहीतका प्रहरी साथीको कुरा । यही प्रसँग जोडेर यहाँ मुस्कान सहीतका गुण्डाको कुरा गर्न खोजिएको छ ।
निर्धो दुब्लो पातलो अथवा भनौं कमजोर प्रति बलियाले आफ्नो अनुकुल बनाउन प्रयोग गर्ने बल अथवा शक्ति नै यहाँ गुण्डा भन्न खोजिएको हो । बृहद नेपाली शब्दकोषमा गुण्डाको परिभाषा जे लेखिएको भएपनि यति भनेपछि आम नेपालीले गुण्डा यिनैलाई सम्झन्छन्, बुझ्छन् । गुण्डाले मुसुमुसु हाँसेर मान्छेलाई प्रभावमा पार्दैन । शुरूमै उसको हाउभाउ राक्षसि बन्नु पर्छ । त्यसपछि बल्ल निर्बलियो ऊ संग तर्सन्छ डराउँछ । जे भन्यो त्यही मान्ने बन्छ । यो नै गुण्डा हो । यिनै गुण्डाको रूपान्तरित रूप यतिखेर हाम्रो समाजमा देखा परेको छ । यस्ता गुण्डाको अजँङ्गको रूप हुनै पर्दैन । कुटिल मुस्कानका धनी हुन्छन् यिनीहरू । फरक शैलिमा गुण्डागर्दी गर्छन् यिनीहरू । यही गुण्डागर्दी हाम्रो समाजमा मौलाएको छ । हेर्दा सज्जन धर्मराज युधिष्ठीर जस्तो लाग्ने तर, व्यवहारमा दूर्योधनको आकृति उसको मुहारमा झुण्डिनेहरू हिंजोआजका मुस्कान सहीतका गुण्डा हुन् भन्न खोजिएको हो ।
आफ्नै अन्नपानी भन्दा अरूकै दानापानीमा यिनिहरूको ज्यान लाएको हुन्छ । यि गुण्डाहरू आजकल नेपाली जनता माथी मुस्कान सहीत निर्मम शोषण गरिरहेका छन् । अर्थात गुण्डागर्दी द्वारा समाजमा महान समाजसेवी र जनताका बीचमा महान जनसेवी बनेर आईरहेछन् । यिनको अस्सली रूप खुट्याउन ढिलो भैसकेको छ । खोजीनीति गर्ने जिम्मेवारहरू उनीहरूकै ‘जाली रूमाल’ले मुख पुछेर चुप्प बस्छन् ।
काठमाण्डौका रविन्द्र मिश्रको बोली सुरिलो छ । चौतर्फी प्रतिभाका धनी हुन मिश्र । उनले समसामयिक भत्केको राजनीतिक समयमा चुनी चुनी राजनीतिक पात्र पक्डेर बीबीसीको माध्यमबाट झ्याँको झार्थे । हामी श्रोताहरू मन्त्रमुग्ध भएर सुन्थ्यौं । रेडियो सुन्दापनि टिभी हेराउँथे उनले । त्यति प्रभावकारी थियो उनको प्रश्तुती । छोडेर गए उनी हामी श्रोता बीचबाट । गए अर्कै संसारमा । अहिले त्यो उनको आफ्नै प्रतिभाको अनादर गरे उनले जस्तो लाग्छ । साझा पार्टी खोलेर । यस्तो पार्टी खोल्नुभन्दा सामाजिक ठाँटी खोलेका भए कति सुहाउँथ्यो । पाटीमा रात बिताउन छाडे बटुवाहरू । बरू ठाँटीमा आउँदा जाँदा विश्राम गर्छन बटुवाहरू । त्यसो भएको हुँदा ठाँटीमा मान्छे अडिन्थे होला भन्न खोजेको मैले । यो मेरो व्यक्तिगत विचार हो । उनी जस्तो क्षमतावानलाई यो मेरो अर्ती उपदेश पनि होईन । यहाँ खासमा रविन्द्रलाई सम्झनुको अर्थ अर्कै छ । उनले फेसबुक मार्फत देश विदेशमा रहेका हजारौं नेपालीलाई सहयोगको अपील गरे । नेपाललाई सहयोग गरौं भन्दै हेल्प नेपाल खोले । उनको मुस्कान भरी चेहरा र बीबीसीको प्रभावकारी प्रतिभाको कदर गर्दै उनले थापेको झोलीमा विदेशमा बसेका नेपालीहरूले मिनेट मिनेटमा पसिनाका धारा र रगतका थोपाले झोली भरिदिए । करोडौंको झोली भयो उनको झोली । उनले त्यो रगत पसिना हिनामिना पनि गर्दैनन् होला । उनको आदर्शले त्यसै भन्छ । तर राजनीति भन्दा माथी उठेर उनको स्वच्छ छवि देखेर सहयोग गर्नेहरूले अहिले के भन्दै होलान् ? अलिकति विश्वास भरिंदैमा रविन्द्र जीले पृथ्वी नै पल्टाउन खोजेकोमा उनको मुस्कान सहीतको दादागिरी हो नभने के भन्ने ? सहयोगी सहृदयीहरू रबिन्द्रको मुस्कान सहीतको गुण्डागर्दीमा परे । उनको मुस्कानले मार खाएकाहरू निरीह बने । यो खालको प्रवृत्ति नै ‘मुस्कान सहीतको गुण्डा’ हो ।
पछिल्ला चर्चित लेखक दिल निशानीले पनि यौटा परोपकारी कार्यका लागि निश्चित रकमको माग गर्दै सामाजिक सञ्जाल मार्फत सहयोगी हात खोजे । तर उनले माग गरेको रकम लगभग चौबीस घण्टा भित्रै पुरा भएपछि धन्यवाद सहीत थप रकम नपठाउन फेसबुक मार्फतै अनुरोध गरे । अर्थाभावले औषधी गर्न नसकि गुम्न लागेको जीवन बचाए । एकै दिनमा यत्रो मोटो रकम उठ्ने रहेछ । उठाउँदै जाउँस उठेको रकमले परोपकारै गरेपनि आफ्नो स्वार्थ पुरा गर्ने ठाउँमा खर्च गरौंला भन्ने महत्वाकाँक्षा उनले राखेनन् । यदि यिनको कलमको प्रभाव छ भन्दै त्यसो गर्दा हुन् त यि पनि मुस्कान सहीतका गुण्डा बन्न सक्थे । निशानीले त्यसो गरेनन् ।
उता जिल्ला जिल्लामा धर्मको नाउँमा, शिक्षाको नाउँमा, समाज सेवाको नाउँमा र राजनीतिको नाउँमा दुहुनो गाई बनेका छन् जनताहरू । जिल्लाका विकास आयोजनाहरूमा भैरहेका अनियमितताको चियोचर्चो गरेर देश लुटेकाहरूको पर्दाफास हुनुपर्नेमा दुईचार हजार चन्दा झारेर भ्रष्ट कुपात्रहरूको ढाकछोप गर्न पल्केकाहरू पनि हाँसी हाँसी समाज माथी गुण्डागर्दी गर्दैछन् । गाउँगाउँमा छरिएका यस्ता पात्रहरूको धन्दा बन्द गर्नुपर्ने ठाउँमा झन प्रोत्साहन थपिएको छ । स्थानीय जनताहरू मात्रै होईन परदेशमा दुईचार पैसा आर्जन गरेकाहरू पनि मुस्कान सहीतको प्रभावमा परेर दिक्दार छन् । मुस्कान सहीतको गुण्डाको अनुरोध उल्लंघन गरे स्वदेश फर्कंदा अनेक लफडा श्रृजना गरिदिने परदेशीहरू बताउँछन् । परदेश गएदेखि स्वदेश नफर्केका परदेशीको कमलो सहयोगी स्वभावको फाईदा लिनेहरू तेल घसेर सहयोग माग्छन् । बागलुङको एक स्थानीय धार्मीक संस्थामा त्यस्तै भएको घटना बाहिर चर्चामा छ । दशक बढी परदेशमै बिताएका व्यक्तिले एकलाख चन्दा पठाएकोमा संबन्धित धार्मीक संस्थाले एक तिहाई रकम पनि हात पारेन । यही मुस्कान सहीतको गुण्डाले बीचैमा आईफोन खेलायो । परमात्मामा लीन हुन थोरै समय बाँकी रहेकाले त यस्तो गुण्डागर्दी गर्छन् भने भर्खरका चल्लाहरूले भोली कसो गर्दै रहलान् !
भनिन्छ– देखिने सर्प भन्दा नदेखिने सर्प खतरनाक हुन्छ । गाउँमा दाउरा घाँस गर्दा आमाहरूले यसै भन्नु हुन्थ्यो । देखिने कालो सर्प देखेर सतर्क बन्न सकिन्छ । तर घाँसको रँग संग मिल्ने उस्तै हरियो सर्प (हर्रेउ)ले संधै डस्छ । संधै दुःख दिन्छ । यो प्रसंग अहिलेको नेपालको हरेक क्षेत्रमा जोड्न मिल्छ । राजनीतिक आर्थीक सामाजिक साँस्कृतिक धार्मीक लगाएतका यावत क्षेत्रमा हर्रेउको प्रसँग जहाँ लगेर जोडेपनि अमिल्दो हुँदैन । साधुसन्तबाट पनि गुण्डाबाट अपेक्षा गरेभन्दा दुगुना अपराध भएका थुप्रै उदाहरण छन् । उसका कर्म र कुकर्मले उसको बारेमा धारणा कायम हुन्छ ।
आम सर्वसाधारणहरू यतिखेर देखिने गुण्डा भन्दा नदेखिने गुण्डाबाट त्राहीमाम् छन् भन्ने कुरा कसले बुझ्ने ? यि नदेखिने गुण्डाले नेपाल प्रहरीको त के कुरा अन्तरराष्ट्रिय प्रहरी सँगठनलाई पनि चकित पारेका छन् । मुसुक्क हाँसेर गुण्डागर्दी गर्दै ईण्टरपोललाई समेत चक्मा दिन्छन् यिनीहरूले । देखिने गुण्डा क्रोधित मुद्रामा हुन्छ । लुक्न खोजेर पनि लुक्दैन । तर नदेखिने गुण्डा सामुन्नेमा उभिएर मुस्कान सहीत गुण्डागर्दी गर्छ । मुस्कान सहीतका गुण्डा छ्याप् छ्याप्ति पाईन्छन् । हाँसी हाँसी लुट्छन् । हाँसी हाँसी सताउँछन् । सकारात्मक वाक्य बोलेर लुट्पुटाउँछन् । नदेखिने गुण्डा मुस्कान लिएर चौतर्फी आक्रमण गर्छ । चौतर्फी लुट्छन् । चौतर्फी ताण्डव नृत्य मञ्चन गर्छ । नेपालको पछिल्ला राजनीतिक परिवर्तन संगै मौलाएका यस्ता तत्वलाई बेलैमा हतोत्साही नगराउने हो भने राज्यका हरेक अँग अछुतो रहने छैनन् । यो तत्व हावी हुँदै जानु भनेको देश बर्वादी तर्फ उन्मुख हुनु हो । यस्ता मुस्कान सहीतका गुण्डागर्दीलाई समयमै चिनौं । समयमै रोकौं !
Previous Articleसत्य स्पष्ट पार
Next Article ताराखोला गाउँपालिकाको केन्द्र भातखाने डाँडामा