म्याग्दी, ३ चैत – धौलागिरी गाउँपालिकाको केन्द्रको विवाद समाधानका लागि पहल थालिएको छ ।
गाउँपालिकाको केन्द्र स्थापनाका लागि मुनातर्फ हिडेको टोलीलाई ताकमका बासिन्दाले अवरोध गरेर मंगलबार फर्काएका थिए । जिल्ला समन्वय समितिमा बुधबार बसेको जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरुको बैठकले धौलागिरी गाउँपालिका नागरिक आन्दोलन संघर्ष समितिलाई वार्तामा बोलाउने निर्णय गरेको हो ।
समितिको समन्वयमा राजनीतिक दलको जिल्ला स्तरीय नेतृत्व र संघर्ष समितिका प्रतिनिधिहरुलाई बिहीबार ११ बजे वार्ताका लागि बोलाईएको योजना अनुगमन तथा प्रशासकीय अधिकृत बिष्णुप्रसाद पौडेलले बताए । समितिले अनुकुल र सुरक्षित भुवनोट, बस्ती विकासको सम्भावना, पुर्वाधारको उपलब्धता र प्रशासनिक सुगमताका आधारमा ताकमलाई केन्द्र कायम गर्नुपर्ने माग राख्दै आन्दोलन गरीरहेका छन् ।
आयोगले मुनालाई केन्द्र कायम गरेको छ । जिल्ला प्राबिधिक सहयोग समितिले ताकम वा मुना केन्द्र कायम गर्न सिफारीस गरेको थियो । गाउँपालिकाको केन्द्र र नामको विषयमा निर्वाचित जनप्रतिनिधिले छ महिनाभित्र टुङ्गो लगाउन सक्ने व्यवस्था रहेको छ । दलबीच धौलागिरीको केन्द्र ताकम–मुना कायम गर्ने विषयमा छलफल चलेको छ । एउटै गाउँपालिका, नजिक र सिमाना जोडिएका वडाहरु भएकाले कार्यालयहरु बाँडेर दुईतिरैबाट सञ्चालन गर्ने वातावरण बनाउन छलफल केन्द्रित भएको हो । यसैबीच ताकममा अवरोध भएपछि सदरमुकाम फर्कीएको धौलागिरी गाउँपालिका कार्यालय स्थापना गर्न गएको निमित्त कार्यकारी अधिकृत सोमबहादुर खत्री र वडा सचिवहरुले सुरक्षाको माग गरेका छन् ।
निमित्त कार्यकारी अधिकृत खत्रीसहित ८ वटै वडाका सचिवहरुले कार्यालय स्थापना गर्न जाने क्रममा ताकममा अवरोध भएको र सुरक्षाको व्यवस्था नभएसम्म पुनः जान नसकिने जिल्ला समन्वय समितिमा जानकारी लिखित पत्रमार्फत जानकारी गराएका छन् । म्याग्दीका अन्य ४ वटा स्थानीय तह कार्यान्वयन प्रक्रिया अघि बढेपनि धौलागिरी संगै रघुगंगामा समेत कार्यालय स्थापना हुन सकेको छैन् ।
निमित्त कार्यकारी अधिकृत हुमनारायण देवकोटा बिरामी भई बिदामा बसेको र केन्द्रको विषयमा बिवाद हुँदा कार्यालय स्थापना हुन ढिलाई भएको छ । रघुगंगा गाउँपालिका नागरिक आन्दोलन संघर्ष समितिले बुहसंख्यक बासिन्दालाई प्रशासनीक सुगमताका आधारमा मौवाफाँटमा केन्द्र बनाउनुपर्ने माग राख्दै निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन् ।
बेनी नगरपालीका, मालीका, मंगला र अन्नपूर्ण गाउँपालीकाको भने कार्यालय स्थापना भई नयाँ काम सुरु भएको छ ।
Previous Article२०७३ चैत ३ गते बिहीबारको राशिफल
Next Article उद्घोषण तथा समाचार लेखन तालिम