बागलुङ, १ चैत – बागलुङको पैयुपाटामा आत्महत्या गरिएको भनिएको युवकको आत्महत्या नभई हत्या भएको खुलेको छ । गत फागुन २७ गते राति गाउँमै झुण्डिएको अवस्थामा भेटिएका २५ बर्षिय बिनोद हरिजनको आत्महत्या नभई हत्या भएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय बागलुङले सोमबार पत्रकार सम्मेलन गरी जनाएको छ । मृत्यु हुने हरिजन भारतको मद्रासमा बस्दै आएका थिए । उनी बिच–बिचमा पुख्र्र्याैली गाउँ पैयुपाटा आउने जाने गरेका थिए । हत्या आरोपमा सोही स्थानका भाउजु पर्ने २६ बर्षिया रिता नेपाली र उनलाई सघाउने टेकबहादुर थापालाई पक्राउ गरिएको प्रहरी उपरिक्षक चन्द्रकुवेर खापुङले बताए । घटनास्थलमा रगत, घाटी हात लगायतका भागमा चोटग्रस्त देखिएपछि स्थलगत अनुगमन सहित अनुसन्धान गर्दा घटना आत्महत्या नभई हत्या भएको पुष्टि भएको उनले बताए । शुरुमा आत्महत्या भनेर पोष्टमार्टम गर्न लगिए पनि मृत्युको प्रकृति र शव हेर्दा स्वभाविक आत्महत्या भएकोमा आशंका देखिएपछि कार्यालयले प्रहरी निरिक्षक खड्गनारायण शाहको कमाण्डमा अनुसन्धानका लागि टोली खटाएको थियो । अनुसन्धानका क्रममा हरिजनको भाउजु पर्ने रिता नेपालीसँग नाजायज सम्वन्ध भएको र यसकै कारण हत्याको अवस्था सम्म पुगेको पाइएको अनुसन्धानमा सम्लग्न शाहले बताए । उनले हत्या हुँदाको रात हरिजनले अत्याधिक मादक पदार्थ सेवन गरी भाउजु पर्ने रिता नेपालीलाई कुटपिट गरेपछि नेपालीले सोही गाउँका टेक बहादुर थापालाई बोलाई घाटी थिचि हत्या गरी उनलाई झुण्डाईएको अनुशन्धानबाट खुल्न आएको बताए । नेपाली र थापा विच पनि नाजायज सम्बन्ध रहेकोले अनुशन्धानबाट खुल्न आएको छ । पक्राउ परिएका नेपाली र थापालाई जिल्ला अदालतबाट थप अनुसन्धानका लागि ७ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
Previous Articleरोट्रयाक सप्ताह सुरु
Next Article नगर र गाउ“पालिकामा निमित्त प्रमुखको घोषणा