बागलुङ, १ चैत – नयाँ संरचना अनुसार सोमदेखि बागलुङ जिल्लामा चार नगरपालिका र ६ गाउँपालिका कार्यान्वयनमा आएका छन । जिल्लामा हात कायम एक जिल्ला विकास समिति र ५९ गाविस विघटन भई गाउँपालिका र नगरपालिकामा रुपान्तरण भएका छन् । हालको जिविस जिल्ला समन्वय समितिमा रुपान्तरण भएको छ भने गाविसहरु वडामा परिवर्तन भएका छन । २०४७ सालमा स्थापना भएको जिविस स्थापना भएको २६ वर्ष पछि विघटन भएको छ । गाविस र नगरपालिका हाल जुन नगरपालिका वा गाउँपालिकाका रुपमा कायम भएका छन् तिनैबाट कार्य सञ्चालन हुनेछन । स्थानीय तह कार्यान्वयनसँगै वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचन तयारीमा समेत सहयोग पुग्ने भएको छ । जिल्ला समन्वय समितिको निर्देशन बमोजिम गाउँपालिका र नगरपालिकाको नयाँ साइनबोर्ड, छाप, लेटरप्याड तयारी गरिएको छ । सो सम्बन्धी नगरपालिका र गाउँपालिकामा निमित्त प्रमुख समेत व्यवस्था गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख रामप्रसाद आचार्यका अनुसार निसी गाउँपालिकामा दिपक शर्मा, बूर्तिवाङ्ग नगरपालिका चण्डीराज पौडेल, तमान गाउँपालिकामा कमल भुर्तेल, बडिगार्ड गाउँपालिकमा थमनबहादुर रेश्मी, गलकोट नगरपालिका माधव शर्मा, बागलुङ नगरपालिका नगरकार्यपालिकाको कार्यालय बागलुङमा कार्यकारी अधिकृत रमेश ढकाल, काठेखोला गाउँपालिकामा चुणबहादुर कार्की, बरेङ्ग गाउँपालिका तमबहादुर खत्री, जैमीनि नगरपालिकामा चिरञ्जीवि शर्मालाई निमित्त प्रमुखको जिम्मेवारी प्रदान गरिएको छ । बागलुङ नगरपालिका बाहेक अन्य नगरपालिका र गाउँपालिकामा सम्बन्धीत स्थानीय निकाय अन्तर्गत कार्यरत गाविस सचिवहरु मध्ये जेष्ठताको आधारमा गाविस सचिवलाई निमित्त प्रमुखको जिम्मेवारी प्रदान गरिएको हो । स्थानीय तह पुनःसंरचना गर्दा कायम भएका गाउँ र नगरपालिकाको केन्द्र जहाँ कायम भएको छ त्यहीं नै कार्यालय बस्नेछ । मन्त्रालयले नयाँ व्यवस्था अनुसार पुनःसंरचना गर्दा कायम भएको नामबाट गाउँरनगरपालिका सञ्चालन गर्न भनेको छ । नाम र केन्द्र परिवर्तन गर्न आवश्यक देखिएमा निर्वा्चित जनप्रतिनिधिले बहाल भएको छ महिनाभित्र गाउँसभा वा नगरसभाको बहुमतले सरकारलाई सिफारिस गर्नुपर्ने र सरकारबाट स्वीकृत भएपछि राजपत्रमा प्रकाशित गर्नुपर्ने व्यवस्था मिलाइएको छ । जिल्ला समन्वय समितिले आगामी वर्ष कर लगाउने, परिषद् गर्नेलगायत काम गर्न नपाउने व्यवस्था गरिएको छ । कुनै मन्त्रालय वा निकायले प्रदान गरेको अधिकार गाउँरनगरपालिकाले प्रयोग गर्न सक्ने व्यवस्था छ । गाउँ र नगरपालिकाले सहरी योजना, बस्ती विकास र भवन निर्माण मापदण्ड कार्यान्वयन गर्नेछ भने जिल्ला सभा र समन्वय समितिको अधिकार हाललाई स्थानीय विकास अधिकारीले प्रयोग गर्नेछन । गाउँ र नगरपालिकामा निर्वा्चित अधिकारी बाहेक प्रशासकीय व्यवस्थापनका लागि कार्यकारी अधिकृत रहनेछन । गाउँपालिकामा उपसचिव वा शाखा अधिकृत स्तरको कार्यकारी अधिकृत, एक सिभिल इन्जिनियर, कम्प्युटर इन्जिनियर, नायबसुब्बा, लेखापाल, सबइन्जिनियर र कार्यालय सहयोगी रहनेछन् । नगरपालिकामा उपसचिव स्तरको कार्यकारी अधिकृत, सिभिल इन्जिनियर, कम्प्युटर इन्जिनियर, नायब सुब्बा, लेखापाल, सबइन्जिनियर, प्रशासन तथा लेखा सहायक र कार्यालय सहयोगी रहनेछन ।
गाउँपालिकाले दैनिक प्रशासन र जिल्लास्थित कार्यालयबाट अधिकार प्रत्यायोजन गरिएका काम गर्नेछन् । योजना तर्जुमा, कार्यान्वयन अनुगमन, तथ्यांक अद्यावधिक र संरक्षण, विकास निर्माण, नियमन, सिफारिस प्रमाणित लगायत काम पनि गर्नेछन् । हाल जिविस र गाविसबाट हुने सबै काम गाउँपालिकाले नै गर्नेछन ।
काठेखोला गाउँपालिका केन्द्रमा विवाद
बागलुङ/ काठेखोला गाउँपालिकाको केन्द्र अक्षते सुल्डाडा कायम राख्नुपर्ने माग राख्दै स्थानीय राजनीतिक दलले जिल्ला समन्वय समितिमा सोमबार ज्ञापन पत्र बुझाएका छन् । पूर्व सहमति विपरित राजपत्रमा काठेखोला गाउँपालिका केन्द्रको विहुँ गाविसको कार्यालय तोके पछि स्थानीय राजनीतिक दलहरुले पूर्वसहमति कार्यान्वय गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । नेपाली कांग्रेस महाधिवेशन प्रतिनीधि होमबहादुर हमाल, नेकपा एमाले जिल्ला सचिवालय सदस्य डिल्लीराज गौतम, नेकपा एमाले जिल्ला कमिटी सदस्य प्रेम लामिछाने, हुमा जिसी अन्जु, नेपाली काग्रेस भीमापोखरामा खिमानन्द कँडेल लगायतको टोलीले जिल्ला समन्वय समितिका प्रमुख रामप्रसाद आचार्यलाई ज्ञापन पत्र बुझाएका थिए । स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिले गत साउन २१ गते काठेखोला गाउँपालिकाको केन्द्र भीमापोखराको अक्षते र विहुँको सुल्डाडाँमा राख्ने गरी प्रास्ताव गरेको थियो । तर फागुन २७ गते राजपत्रमा विहुँ गाविस कार्यालय केन्द्र रहने गरी सूचना प्रकाशित भएको छ । पाला र सिगानाको केही भाग, भीमापोखरा, धम्जा, तग्राम विहुँ, लेखानी गाविस मिलाएर काठेखोला गाउँपालिका निर्धारण गरिएको छ । विहुँ गाविसको कार्यालय केन्द्र तोक्दा स्थानीय जनतालाई अपाए पर्ने बताउँदै तत्काल निर्णय सच्याउन माग गरेको एमाले जिल्ला लेखा समिति सदस्य खिमबहादुर कार्कीले बताए । पूर्वसहमति अनुसार केन्द्र निर्धाण नभए चरणबद्ध आन्दोलनका कार्यक्रम घोषण गर्ने बताइएको छ । ज्ञापनपत्र बुझदै जिल्ला समन्वय समितिका प्रमुख रामप्रसाद आचार्यले तत्कालको लागि सुल्डाडाबाट कार्यालय संचालन गर्न आग्रह गरेका छन्
Previous Articleआत्महत्या भनिएको युवकको हत्या भएको खुलासा
Next Article नेपालगञ्जमा उर्लिदो एमाले अभियान (फोटो फिचर)