पर्वत, २८ फागुन – प्रत्यक्ष निर्वाचित सांसदको निर्वाचन क्षेत्रमा पूर्वाधार विशेष क्षेत्रमा खर्चिनुपर्ने रकम पर्वतमा भने कृषि र आयआर्जनमा खर्चिएको छ । पर्वत क्षेत्र नं १ का सांसद अर्जुनप्रसाद जोशीमार्फत भित्रिएको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकमले जिल्लाका कृषकलाई यान्त्रिक हलो वितरण गरिएको छ । कृषिमा आधुनिकीकरण गर्ने उद्देश्यले किसान र उद्यमीलाई विभिन्न सामग्री वितरण गरिएको हो । उक्त रकमले कृषि, पशु र उद्यमी महिलाका लागि रु १० लाख बराबरका औजार वितरण गरिएको कृषि विकास कार्यालयले जनाएको छ । कृषि कार्यालय सँंगको समन्वयमा सांसद जोशीले मिनी पावरटिलर १८, सिलाइ मेसिन १०, माइक्रोस्कोप १० थान र तीनवटा कुटानी–पिसानी मिल वितरण गरिएको हो । जिल्लाका सबै गाविसका प्रत्येक वडामा सडक र घरघरै विद्युत् पुगेकाले आयमूलक व्यवसाय नगरी ग्रामीण क्षेत्रका नागरिकको जीविका उकास्न नसकिने भन्दै जोशीले अहिलेसम्म अरू विकासमा करोडौँ रुपैयाँ बाँडेको तथा सडक, बिजुली र खानेपानी पुगिसकेकाले अब आयमूलक विकास पहिलो आवश्यकता रहेको बताए । ५ हजार मूल्य पर्ने मिनी पावरटिलर किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरिएको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताए । गोरुको अभावमा खेत बाँझो राख्न बाध्य किसान छानेर पावरटिलर वितरण गरिएको उनले बताए । कार्यालयले थालेको जमिन बाँझो नराख्ने अभियानलाई यसले सघाउ पुर्याउने उनको विश्वास रहेको छ । गाउँका पशु सेवा केन्द्रमा माइक्रोस्कोप नहुँदा किसानले गाईभैँसीको मलमूत्र जाँच गर्न सदरमुकाम नै आउनुपर्ने बाध्यता अब हट्ने वरिष्ठ पशु विकास अधिकृत सुधिर थापाले बताए । त्यस्तै, सिलाइ मेसिनको अभावमा गाउँबाट मेसिन मगाएर सिकाउनु परेकामा अब सहज हुने व्यावसायिक सीप विकास तालिम केन्द्रका प्रमुख किरणचन्द्र सुवेदीले बताए ।