म्याग्दी, २६ फागुन/बेनी नगरपालीका–१४ डाँडाखेतमा रहेको बालमन्दिर निमावीमा बुधबार आगोलागी हुँदा दश कोठे भवन जलेर ध्वस्त भएको छ । आगोलागीबाट काठ, ढुङ्गामाटोले बनेको दुई तले दश कोठे भवन जलेर ध्वस्त भएको हो । विद्युत सर्ट भएर आगोलागी हुँदा भवनका साथै फर्नीचर लगायतका भौतीक सामाग्री जलेर नष्ट भएको शिक्षक रामप्रसाद शर्माले बताए । ‘विद्यालयका महत्वपुर्ण साम्रागी सबै जलेर नष्ट भयो’ शर्माले भने । आगलागी भएको भवनको भुईतलामा कक्षा सञ्चालन र माथिल्लो तलामा प्रशासन, कम्प्युटर ल्याब र पुस्तकालय रहेको थियो । प्रशासनका कागजात, कम्प्युटर, पुस्तकालयका करिव ७ हजार पाठ्यपुस्तक, ९ वटा कम्प्यूटर सहित विद्यालयका महत्वपुर्ण दस्तावेज सहितको साम्रागी जलेर नष्ट भएको छ । केहीदिन अगाडी विद्युतीय पुस्तकालय समेत जडान गरिएको थियो । कक्षा ८ सम्मको पाठनपाठन हुने विद्यालयमा १७४ जना विद्यार्थी अध्ययनरत छन् । भवन जलेपछि पठनपाठनमा समस्या भएको जनाइएको छ । साँझ सवा पाँच बजेदेखि सुरु भएको आगोलागी राती आठ बजे नियन्त्रणमा आएपनि यो समाचार पर्दासम्म प्रहरीको टोलीले केहीभागमा नियन्त्रणको प्रयास गरिरहेको थियो । आगोलागीको जानकारी पाएलगत्तै डाँडाखेत र भीरमुनिका करिव ४ सय जना स्थानीय घटनास्थलमा पुगेका थिए । त्यस्तै अर्थुङ्गे स्थित श्रीबक्स गुल्म, जिल्ला प्रहरी कार्यालय र तातोपानी प्रहरी चौकीको टोलीले आगोलागी नियन्त्रणका लागि पुगेको स्थानीय यूवा सुमन बानियाँले बताए । उनका अनुसार आगो नियन्त्रणका लागि जोखिम मोलेपनि सम्भव नभएको बताए । डाँडाखेतमा तिन दिनदेखि अवरुद्ध भएको विद्युत सेवा बुधबार दिउँसो मर्मत पछि सूचारु भएको थियो । विद्युत आपूर्ती भएको केही समयमै भवनमा आगोलागी भएको थियो । आगोलागीको क्षतिको विवरण संकलन भैरहेको घटनास्थल पुगेको प्रहरीले जनाएको छ ।
Previous Articleदेश विकासमा प्रवासीको महत्वपुर्ण भूमिकाःसापकोटा
Next Article कुहुँ गाविसमा सार्वजनिक सुनुवाई