म्याग्दी, २६ फागुन/जिल्लाको कुहुँमा बुधबार सार्वजनीक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कुहुँ गाविसको कार्यालयको आयोजनामा सार्वजनिक सेवा प्रवाह र विकास निर्माणका विषयमा स्थानीय सरोकारवालाहरुबीच अन्तरक्रिया भएको हो । कार्यक्रममा सहभागि स्थानीय बासिन्दाहरुले गाउँबाटै गाविसको सेवा प्रवाह हुनुपर्ने, योजनाको सर्वेक्षण, जाँचपास र अनुगमनका लागि प्राबिधिक कार्यक्षेत्रमा खटिनुपर्ने, सडक स्तरवृद्धीका लागि प्राथमिकता दिनुपर्ने मागका साथै गाउँ र ईलाका परिषद्बाट प्रस्ताव गरिएका योजनालाई जिल्लामा प्राथमिकता नदिइएको गुनासो गरेका थिए । उपभोक्ता समिति गठनका क्रममा गाविस सचिव र सामाजिक परिचालक अनिवार्य उपस्थित भैदिन आग्रह गरेका थिए । यसैगरी स्वास्थ्य संस्थामा नियमित रुपमा स्वास्थ्यकर्मी उपस्थित हुनपर्ने र सरकारले निशूल्क वितरण गर्ने औषधिको व्यवस्था गर्नुपर्ने, कृषि र पशु सेवा प्राबिधिक मार्फत औजार तथा औषधीको सुबिधा पाउन सके गाउँलेलाई राहत मिल्ने बताएका थिए । कार्यक्रममा गाविस सचिव श्रीराम पौडेलले चालु आर्थिक वर्षमा बजेट बिनियोजन भएका योजना तथा कार्यक्रमको कार्यान्वयनको अवस्थाको विषयमा जानकारी गराउँदै पूर्वाधार योजनाका लागि छिटो सम्झौता गर्न आग्रह गरे । उनले सेवाग्राहीको सुझावको आधारमा सेवा प्रवाहलाई थप व्यवस्थित, सहज र विकास योजना निर्माणलाई पारदशीमुलक बनाउन पहल गर्ने बताए । यसैगरी स्वास्थ्य चौकीका भवीकला रोका, कृषि प्राबिधिक रिया पुन, नायव पशु सेवा प्राबिधिक आकाश जिसी, दिपशिखा माविका प्रअ नन्दबहादुर खत्री, विद्युत उपभोक्ता समितिका गोविन्द केसी, कृषि सञ्जालका अध्यक्ष केशरबहादुर जिसीले सहभागीले सोधेका जिज्ञाशाको उत्तर दिएका थिए । गाविस सचिव श्रीराम पौडेलको अध्यक्षता, देउराली युवा कल्वका जिवन रोका (एकजित)को सञ्चालन, सामाजिक परिचालक सन्तोषी रेग्मीले स्वागत गरेको कार्यक्रमको सहजिकरण पत्रकार सन्तोष गौतमले गरेका थिए । कार्यक्रममा संगम म्याग्दीद्धारा सञ्चालित स्थानीय निकायको कानुनी तथा नितीगत व्यवस्था पालना अनुगमन कार्यक्रमका अधिकृत सन्तोष ढुङ्गानाले सार्वजनिक सुनुवाईको उद्देश्य र प्रक्रियाको बारेमा प्रकाश पारेका थिए ।