बागलुङ, २६ फागुन /नेपाल सरकार पर्यटन बोर्डका डेनमार्क प्रतिनिधी सोप सापकोटाले देश विकासमा प्रवासी नेपालीको महत्वपुर्ण भुमिका रहने बताएका छन् । उदय रिघा बौद्ध बिहार निर्माण समिति बागलुङले बुधबार आयोजना गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै सापकोटाले उक्त धारणा राखेका हुन् । सापकोटाले विश्वभरी छरिएर रहेका नेपालीले उत्पादनशिल क्षेत्रमा लगानी गर्ने वातावरण सरकारले पनि मिलाउनु पर्ने बताए । गैरआवासिय नेपाली संघमार्फत आफुहरुले नेपालमा लगानी गरिरहेको र थप लगानी गर्न तत्पर रहने उनको भनाई थियो । उदय रिघा बोद्ध बिहार निर्माणले गलकोटमा धार्मिक पर्यटनको विकासमा टेवा पु¥याउने भएकोले अभियाननै चलाएर सहयोग गरेको उनले बताए । युरोप र जापान लगायतका देशमा रहेका नेपालीहमार्फत पच्चिस लाख संकलन गर्न सफल भएको र अभियानलाई निरन्तरता दिने उनको भनाई थियो । सो अवसरमा बोल्दै उदय रिघा बौद्ध बिहारका अध्यक्ष शेरबहादुर घर्तिले आफूले सुरु गरेको अभियानमा प्रवासीबाट सहयोग पाउँदा थप उर्जा मिलेको बताए । हाल स्तुपा निर्माण कार्य अन्तिम चरणमा पुगेको र धम्बहल निर्माण कार्य चलिरहेको उनले जानकारी दिए । ६० लाख बराबरको सहयोगमा उक्त संरचनाको काम भईरहेको उनले बताए । गुम्बा, चैत्य, आश्रम, पोखरी, बुद्ध मुर्ति, सडक, बनभोज स्थल र प्रवेशद्वार लगाएतका संरचनाको लागि २ करोड खर्च लाग्ने घर्तिले जानकारी गराएका थिए । गाविस, जिविस, पर्यटन मन्त्रालय, सहरी विकास मन्त्रालयबाट पनि सहायता लिएर रिघा १ चित्रे गुफामा स्तुपा निर्माण गरिएको हो । स्थानीय दाताले समेत स्तुपा निर्माणमा सहयोग गरेका छन् । बागलुङ सदरमुकामदेखि २० कोष पश्चिममा अवस्थित रिघा गाविसमा बन्न लागेको बौद्व विहारले पर्यटनका साथै त्यहाँको आर्थिक, सामाजिक र साँस्कृतिक विकासमा समेत टेवा पुग्ने विश्वास लिइएको छ ।
Previous Articleएसएसबीको आतंक – बन्दुक देखाएर घर छाड्न धम्की
Next Article बालमन्दिर निमाविमा भीषण आगलागी