अजय ढुंगाना
काठमाडौं, २५ फागुन – हालैका दिनमा दैनिकजसो पत्रपत्रिकामा शेयर लिलामीका सूचनाहरु प्रकाशित भइराखेका हुन्छन्। पछिल्लो समय कृषि विकास बैंकको हकप्रद निष्कासनको क्रममा नबिकेका झण्डै २० लाख कित्ता शेयर लिलामीको सूचना आएको थियो। जसमा सामान्य लिलामीको प्रकृयामा भन्दा अधिक आवेदन परेको तथ्यहरु बाहिर आएका थिए।
विगतका जस्तो केही सय वा हजारको संख्यामा पर्ने गरेको आवेदनको सिमा नाघेर करिब एघार हजारभन्दा बढी लगानीकर्ताले आवेदन पेश गरेका थिए। जब लिलामीको बाँडफाँटको नतिजा प्रकाशित भयो र आवेदनको क्रममा परेको अधिकतम रकमको बारेमा जानकारी बाहिर आयो, उक्त आँकडाले बजार तरङ्गित भएको थियो।
धितोपत्रको दोस्रो बजारमा समान्य अवश्थामा नै रु ४३५ को हाराहारीमा उपलब्ध शेयर लिलामीमा रु ६०१ मा सकार्नु अनौठो कुरा थियो। सामाजिक संजालहरुमा यस विषयमा अनेक टिका टिप्पणीहरु देख्न सकिन्थ्यो। सस्तोमा खरिद गर्ने र महंगोमा बिक्री गर्ने लगानीको सामान्य सिद्धान्त विपरित बजार मुल्य भन्दा निक्कै माथी गएर महंगोमा खरिद गर्नु र खरिद गरेकै दिनबाट निक्कै ठूलो घाटा बेहार्नु बुद्धिमतापूर्ण लगानीको निर्णय हुनै सक्दैन। कृषि विकास बैंकको हकप्रद लिलामी त एक प्रतिनिधि घटना मात्रै हो, विगतमा अन्य संगठित संस्थाका शेयर लिलामीमा समेत यस्तै प्रकृतीका बोलकबोल अक्सर देख्न सकिन्थ्यो।
संगठित संस्थाको हकप्रद बिक्री गर्दा तोकिएको समय भित्र हकबाला शेयरधनीले शेयर खरिद नगरेमा वा खरिद गर्न नचाहेमा बाँकी रहन गएको शेयर धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम २० मा उल्लेख गरिए अनुसार त्यसरी बाँकी रहन गएको शेयर लिलाम, बोलकबोल प्रणालीअन्तर्गत निष्पक्ष रुपमा बिक्री विवतरण गर्नुपर्ने हुन्छ। लगानीकर्ताले हकप्रदमार्फत नबिकेका शेयर लिलामीमा सकार्नुअघि विविध कुरामा ध्यान दिनुपर्ने हुन्छ, जसको चर्चा यहाँ गर्न खोजिएको छः
आफूले लगानी गर्न लागेको शेयर निष्काशन कर्ता संगठित संस्थाको आधारभूत वित्तीय अवश्थाको विश्लेषण गर्ने गर्नुस्।
हकप्रद लिलामीका लागि बजारमा उपलब्ध हुने सबै शेयरहरु राम्रा नै हुन्छन भन्ने नहुन सक्छ, त्यो कुरा विचार गर्नुहोस्। लगानीकर्ताले राइट इस्युलाई रिजेक्ट गरेका कारण पनि उक्त शेयर लिलामीका लागि उपलब्ध भएको हुनसक्छ भन्ने कुरा नबिर्षनुहोस।
- वर्तमान परिस्थितीमा हकप्रदमा नबिकेका शेयर लिलामी मार्फत खरिद गर्दा त्यो शेयर धितोपत्रको दोस्रो बजारमा सूचीकृत हुन कम्तीमा ४/५ हप्ता लाग्ने र त्यती समयसम्म शेयर बिक्री गर्न नमिल्ने कुरा प्रति जानकार रहनुस्। उक्त समयसम्म हुनसक्ने बजार मुल्य जोखिमको तथ्यलाई शुक्ष्म बिश्लेषण गर्नुस्।
- हकप्रद बाँडफाँट भन्दा पहिल्यै बोनस घोषणा गरेका संगठित संस्थाहरुले हकप्रदमा बोनस नदिने संम्भावना रहन्छ, यसर्थ तपाईंले लिलामीमार्फत् सकार्न लाग्नुभएको शेयर हो पत्ता लगाउनुहोस। बोनस रकम वा शेयर नपाइने हो भने त्यही अनुसार मुल्य समायोजन हुने कुरा नभुल्नुहोस्।
- उक्त धितोपत्रको कारोबार लामो समयसम्म रोकिएको छ भने, शेयर कारोबार रोकिएको अवश्थाबाट बजार कुन दिशा तर्फ उन्मुख भएको छ विश्लेषण गर्नुहोस। उदाहरणका लागि, त्रिवेणी बिकास बैंकको अन्तिम कारोबार मुल्य ३४६ छ जुन २०१६/१०/२७ गतेको कारोबार मुल्य हो, त्यसपश्चात् जनता बैंकमा मर्जरमा जाने सम्झैता गरेकाले त्रिवेणी बिकास बैंकको कारोबार रोक्का छ। कारोबार रोक्का हुँदाको समयमा समग्र नेप्से सुचक १७५९.७१ बिन्दुमा थियो, बोलकबोल खुल्दाको दिनमा नेप्से सुचक १३६४.५ अंकमा आइपुगेको थियो। यो बिचमा उक्त बैंकले १९% बोनस शेयर दिने प्रस्तावलाई साधारणसभाले पास गरेका देखिन्छ। यी तथ्यको आधारमा लगानीकर्ताले मूल्य कबोल गर्दा अन्तिम कारोबार मुल्यलाई समायोजन गर्नु पर्ने देखिन्छ।
- उक्त धितोपत्रको कारोबार लामो समयसम्म रोकिएको छ भने, बोलकबोल मूल्य पेश गर्नु अघि उक्त शेयर बजारमा पुनः कहिले कारोबार गर्न मिल्छ यकिन गर्नुहोस्।
- शेयर लिलामीमा मुल्य बोलकबोल गर्दा दोस्रो बजारमा निरन्तर कारोबार भैराखेको शेयरको हकमा पछिल्लो कारोबार मुल्यको तथ्यलाई विचार गर्नुहोस्। याद गनुहोस्, दास्रो बजारमा उपलब्ध मूल्य भन्दा कम मूल्यमा तपाईले बोलकबोल गरेर खरिद गर्न सक्नुभयो भने मात्रै शेयर लिलामीबाट तपाईले फाइदा लिन सक्नुहुन्छ।
- दोस्रो बजारमा पर्यात्त मात्रामा शेयर उपलब्ध हुने अवश्था छ भने दोस्रो बजारको पछिल्लो कारोबार मुल्य भन्दा बढी रकम बोलकबोल मार्फत पेश गर्ने गल्ती नगर्नुस्।
- बोलकबोलमा अधिकतम फाइदा बाँडफाँटको न्युनतम मूल्य (कट-अफ प्राइस)मा बोलकबोल गर्नेलाई हुने हुनाले शेयर लिलामीको पछिल्लो ट्रेन्डलाई अध्ययन गरेर आफ्नो मूल्य तय गनुहोस, हल्लाको पछाडि नलाग्नुहोस्।
- धितोपत्र लिलामीमा उपलब्ध हुने संख्याका आधारमा कट–अफ फरक पर्ने (कम संख्या हुदा अन्तिम कारोबार मुल्य नजिक रहने र संख्या बढ्दै जाँदा अन्तिम कारोबार मुल्यबाट पर धकेलिदै जाने) तथ्य बिभिन्न अध्ययनहरुले देखाएका छन्। मुल्य बोलकबोल गर्दा यस्ता अध्ययन प्रतिवेदनहरुको अध्ययन गर्ने बानी बसाल्नुस्।
- उक्त धितोपत्र खरिद गर्दा तपाईले बहन गर्ने जोखिम र प्राप्त गर्न चाहेको प्रतिफलको गणना शुरुमै गर्नुहोस्, तपाईको जोखिम बहन गर्न सक्ने क्षमता अर्को व्यक्तिले बहन गर्ने जोखिम क्षमता र प्रतिफलको चहाना पनि फरक हुने भएकाले अरुको लहैलहैमा लागेर आफ्नो बोलकबोल मूल्य तय नगर्नुहोस्।
- फरक फरक मूल्यमा बोलकबोल पेश गर्न मिल्ने अवश्थामा भिन्न भिन्न मूल्यमा बोलकबोल पेश गरेर औसत मुल्य कम गराएर फाइदा लिने कोशिस गर्नुहोस्।
समग्रमा धितोपत्र बजारमा कारोबार भइराखेको मुल्य भन्दा कम मुल्यमा त्यै शेयर खरिद गरेर लगानीकर्ताले आर्बिट्रेज प्रोफिट लिन सक्दछन्। लिलामीमा कट–अफ प्राइस ठ्याक्कै यही नै हुने वा यति नै हुने भन्ने त्यस्तो केही हुदैन तर उस्तै प्रकृतिका शेयरको लिलामीको अध्ययनबाट बोलकबोलका लागि उपयुक्त रेन्ज पत्ता लगाउन सकिन्छ, जुन रेन्जभित्र रहेर बोलकबोल मुल्य पेश गर्दा अधिक प्रतिफलसंगै शेयर पर्ने संम्भावना पनि रहन्छ यद्यापि आवेदकले त्यो रेन्जमा हरेक पटक शेयर निश्चित रुपमा पाँउछन् नै भन्ने हुदैन। तथापि माथि उल्लेखित तथ्यहरु अध्ययन गरेर लगानीको निर्णय गर्दा अवश्य पनि जोखिम भने कम गर्न सकिन्छ।