पर्वत, २४ फागुन – उपराष्ट्रपति नन्दबहादुर पुनले भयरहित रुपमा निर्वाचन हुने वातावरण बनाउन सबै पक्षलाई आग्रह गरेका छन । पर्वतको कुस्माबजारमा मंगलबार देखि शुरु भएको नवौ पश्चिमाञ्चलस्तरीय महिला महोत्सब तथा रेडियो दिदीबहिनीको सातौ बार्षिकोत्सबको उद्घाटन गर्दै भयरहित र निष्पक्ष निर्वाचन गराउने वातावरण बनाउन सबै पक्षलाई ध्यानाकर्षण गराएका हुन ।
‘निर्वाचनका क्रममा देखिएका केही असन्तुष्टि, असमझदारीहरुलाई संबाद सहमति र सहकार्यको माध्यमबाट हटाउनुपर्छ’ उनले भने ‘शक्तिशाली स्थानिय तहमा आफ्नो प्रतिनिधी छान्ने सुनौलो अवसरलाई सबैले प्रयोग गर्ने वातावरण बन्नुपर्छ’ ।
सरकारले घोषणा गरको स्थानिय तहको निर्वाचनमा सबै पक्ष सरिक भएर दुई दशक देखि रिक्त स्थानिय जनप्रतिनिधी चुन्नुपर्ने बताउँदै उपराष्ट्रपति पुनले स्थानिय तहमा जनउत्तरदायी जनप्रतिनिधी नभए सम्म हामीले चाहे अनुसारको दिगो बिकास र समृद्धि हासिल हुन सक्दैन भने ।
उनले मिडीयाले पनि २०६४ र २०७० मा निर्वाचनको वातावरण बनाउन महत्वपुर्ण भूमिका खेलेको स्मरण गराउँदै निष्पक्ष, स्वतन्त्र र जनताप्रति उत्तरदायी निर्वाचन गराउन मिडीयाले महत्वपुर्ण भूमिका निर्वाह गर्न पनि आग्रह गरे ।
कार्यक्रममा बोल्दै संसदको अर्थ समितिका सभापति तथा नेकपा(एमाले)ंका पोलिटब्युरो सदस्य प्रकाश ज्वालाले लोकतन्त्रमा निषेधको राजनिती नगर्न आग्रह गरे । स्थानिय तहको निर्वाचनको वातावरण बिथोल्नकै लागि सप्तरीमा गृहप्रशासन र बिदेशी दलालले घटना गराएको अरोप उनले लगाए ।
‘निर्वाचनको वातावरण बनाउन एउटा दलले शान्तिपुर्ण रुपमा चलाएको अभियानलाई चुनाब भाँड्ने उद्देश्यले आक्रमण गरियो’ उनले भने ‘यो निर्वाचन गर्न नचहाने र हुन नदिनेको षडयन्त्र हो’ । सप्तरी घटनापछि निर्वाचन हुन्छ वा हुन्न भन्ने आशंका थपिएको भएपनि निर्वाचन गर्न अझै संभब रहेको दाबी गरे ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा ब्यबस्थापिक संसद सदस्य अर्जुनप्रसाद जोशीले पछिल्लो समयमा भएका घटनाक्रमले निर्वाचन बिथोलिने खतरा बढेको र सप्तरी घटनाले त्यसलाई बढवा दिएको बताए । उनले सबै पक्षले संयम अपनाउन नसक्दा समस्या बल्झदै गएको आरोप लगाए ।
रेडियो दिदीबहिनीकी अध्यक्ष तथा ब्यबस्थापिका संसद सदस्य प्रकाश ज्वालाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका पुर्ब बरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनी, नेपाल यातयात ब्यबसायी राष्ट्रिय महासंघका महासचिब सरोज सिटौला, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछाने, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छबिलाल तिवारी लगायतले आफ्ना धारणा राखेका थिए । उक्त अवसरमा बृद्धबृद्धा, अपांग, बिभिन्न पेशा ब्यबसायीलाई समेत सम्मान गरिएको थियो ।
‘जनयुद्धकालमा म पर्वत सिडीयो सापको कार्यकक्षमै पुगे’
उपराष्ट्रपति नन्दबहादुर पुनले ‘जनयुद्धकाल’ मा पर्वतमा आक्रमणको योजना बनाएको खुलासा गरेका छन । नवौ पश्चिमाञ्चलस्तरीय महिला महोत्सबको उद्घाटनका लागि आएका पुनले २०५८ सालमा जिल्ला आक्रमणको योजना बनाएको खुलासा गरेका हुन ।
‘पर्वत जिल्लामा पनि आक्रमणको योजना बनाउन सबै कार्यालयहरु घुमेको छु’ उनले भने ‘पर्वतबासी भाग्यमानी हुनुहुँदो रैछ, त्यसबेला पर्वतमा आक्रमण भएन’ उनले जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र कारागार तथा शसस्त्र प्रहरीको गणमा समेत कोठाकोठामा पुगेर ‘रेक्की’ गरेको सुनाए ।
‘मेरो त्यस बेला टाउकाको मुल्य तोकिएको थियो’ उनले भने ‘म सिडीयो सापको कार्यकक्षमै पुगे तर उहाँले चिन्न सक्नुभएन’ पर्वत मात्रै होइन बागलुङ्ग, म्याग्दी , स्याङ्गजा र पाल्पा पनि त्यही क्रममा डुलेको उनले सुनाए । हिजो युद्धको समयमा र अहिलेको परिस्थिति फरक भएको बताउँदै अहिलेको परिर्वतन ल्याउन जनताले गरेको योगदानलाई खेरजान नदिन आग्रह पनि गरे ।