नवलपरासी, २४ फागुन – चौधरी ग्रुपले निर्माण गरेको शाश्वतधामको उद्घाटन गर्न राष्ट्रपति भण्डारी हेलिकप्टरमा पुगेकी छिन् भने पूर्वराजा ज्ञानेन्द्र शाह आफैं गाडी चलाएर कार्यक्रम स्थलमा पुगेका छन्।
राष्ट्रपति भण्डारीले धामको उद्घाटन गरेर फर्के लगत्तै पूर्वराजा ज्ञानेन्द्र एक घण्टापछि कार्यक्रम स्थलमा पुगेका थिए। धाम उद्घाटनपछि चौधरी ग्रुपले सर्वधर्मसभाको आयोजना गरेका थिए। पूर्वराजा धर्मसभाको प्रमुख अतिथिको रुपमा रहेका थिए।
धाम उद्घाटन र धर्मसभाको मञ्च एउटै थियो। राष्ट्रपति भण्डारी हेलिकप्टरबाट पुगेकी थिईन भने पूर्वराजा चितवनबाट आफैं गाडी चलाएर सभामा पुगेका थिए। राष्ट्रपति आउँदा सर्वसाधरणहरुको घुईचो नदेखिएपनि पूर्वराजाआउँदा भने भिड नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मे-हम्मे परेको थियो।
पूर्वराजा आए लगत्तै उनी धर्मसभाको मञ्चमा नपुगी धाम र मठ मन्दिरको पूजाआजामा लागेका थिए। करिब डेढ घण्टाको मन्दिरको दर्शन र दिवा खानापछि मात्र पूर्वराजा सभामा सहभागी भएका थिए। सभाको उद्घाटनमात्र गरेर पूर्वराजा फर्केका थिए।
‘धार्मिक सहिष्णुता र जातिय सदभावका लागि सबै एक हौं’ – राष्ट्रपति
राष्ट्रपति विद्यादेवी धार्मिक सहिष्णुता र जातिय सदभावका लागि सबै नेपालीहरु एक हुनुपर्नेमा जोड दिइन्। उनले बदलिदो परिस्थितिमा सबैले चाहेको परिस्थितिको वातावरण बनाउनुपर्नेमा जोड दिईन्।
चौधरी ग्रुपले मंगलवार नवलपरासीको दुम्कौलीमा आयोजना गरेको शाश्वतधाम उद्घाटन कार्यक्रममा भण्डारीले असल परम्परासँगै मूल्य र मान्यतालाई गौरव गर्दै सबै सुहाँउदो परिस्थितिको सृजना गर्नुपर्नेमा जोड दिईन।
छोटो मन्तव्यमा भण्डारीले सभ्य समाजका लागि अस्विकार्य गर्ने संस्कार प्रयोग र मान्यतालाई जुनसुकै आवरणमा आएपनि त्याग गर्न सक्नुपर्ने बताईन्।
शाश्वतधाम सर्वसाधारणका लागि खुला
चौधरी ग्रुपले निर्माण गरेको शाश्वतधाम मंगलवारदेखि सर्वसाधारणलाई खुला गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले धामको उद्घाटन गरे लगत्तै सर्वसाधरणको अवलोकनका लागि खुला गरिएको हो।
धाम खुला गरेसँगै सर्वसाधरणको घुईचो लागेको छ। देवचुली नगरपालिका-२ दुम्कौलीस्थित सिजी इण्डस्ट्रियल पार्क परिसरमा निर्माण गरिएको धामको उद्घाटन राष्ट्रपतिले गरेकी हुन् भने प्राणप्रतिष्ठान स्वामी रविशंकरले गरेका थिए। उद्घाटन कार्यक्रममा मन्त्री, पूर्वमन्त्री, श्रीलंकाली मन्त्री दयागामागी धार्मिक गुरुहरु, पशुपतिका पुजारीलगायतको सहभागिता रहेको थियो।
धामबारे जानकारी दिदैं चौधरी ग्रुपका संस्थापक विनोद चौधरीले १९ वर्षअघि पहिलो पटक पशुपतिमा भेट भएका शंकराचार्यको प्रेरणाले धाम निर्माणको सोंच बनाएको बताए। भेटका क्रममा शंकराचार्यले नेपाल विश्वमा एकमात्र हिन्दु राष्ट्र भएको र यहाँ मठ मन्दिर र गुम्बाहरु छरिएर रहेका कारण धर्मतर्फ पनि केन्द्रित हुने प्रेरणाले आफूले १६ वर्षअघिदेखि निर्माण कार्य थालनी गरेका बताए।
धाम बनाउने सोंचमा रविंशकरको आध्यात्मिक यात्राले आफूलाई सफल बनाएको चौधरीले बताए। नेपालमा पुजा पाठ गर्नेहरुको संख्या घट्दै गएकोले हरेक वर्ष १५ जना पण्डितहरु उत्पादन गर्ने लक्ष्य अनुरुप हाल विद्याश्रममा ३० जना विद्यार्थीहरु अध्ययनरत रहेको उनले जानकारी दिए।
कार्यक्रममा स्वामी रविशंकरले उद्योग र योगसँगै लैजान सक्नु नै जीवनको आनन्द भएको बताए। पार्क परिसरमा इण्डस्ट्रियलको ८० विगाहा क्षेत्रफलमध्ये सात विगाहामा शाश्वत धामसहित विभिन्न देवी देवताका मन्दिर, आश्रम, गुरुकुल, धार्मिक संग्राहलय, डिजिटल धार्मिक पुस्ताकालय, गौशाला, ध्यानकेन्द्रलगायत निर्माण गरिएको छ।
शाश्वत धाम खजुरवान शैलीमा निर्माण गरिएको छ। यो शैली दक्षिण भारतमा प्रचलित शैली हो। परिसर भित्र रहेका मन्दिरमा शंकरचार्य मठका कालिगढले बनाएको शिवलिंगसमेत रहेको छ। मन्दिरभित्र विभिन्न १६ देवी देवताका मूर्तीहरु रहेका छन्।
धामको चारैतिर ढुंगाले खोपेर बनाइएका साना स्पिकरबाट पर्यटक र पाहुनाहरुले मधुर आवाजनमा भजन सुन्न सक्नेछन्। धाम परिसरमा निर्माण गरिएका संरचना काठमो बुट्टा जस्तो देखिएपनि सिमेण्टबाट बनाइएको छ। धामभित्र १२ राशी र २७ नक्षत्रअनुसारका रुखहरुसमेत रोपिएका छन्।
पर्यटकिय स्थलको रुपमा समेत विकास गर्न सकिने उद्देश्यले निर्माण गरिएको धाम परिसरमा पशुपति नाथ मुक्तिानाथ, स्वर्गद्धारी,गोसाई कण्ड, बद्री केदार, हरिद्धारालगायतका धार्मिक स्थलहरुको डिजिटल प्रविधिद्धारा दृष्यवलोकन गर्न पाईने व्यवस्था मिलाइएको छ। त्यस स्थानमा नेपालका प्रसिद्ध तिर्थ स्थलहरुमा रहेका जल, माटो, अलौकिक गोबर, विभूती, शालिग्राम राखिएको छ।