बागलुङ, २४ फागुन/अधिकांस दलित र आर्थिक रुपमा विपन्न बालबालिका पढ्ने सिसाखानीको एक विद्यालयमा सरसफाई, प्रशिक्षण तथा शिविर संचालन गरिने भएको छ । सिसाखानी ७ तारान्जाको कञ्चनपुर प्राविमा बालबालिकाको लुगा मैलो, नङ नकाटेको, विद्यालयकै पनि सरसफाईमा ज्यादै कमजोर अवस्था भेटिएपछि जिल्ला शिक्षाका विद्यालय निरिक्षक प्रकाश ओझाको अगुवाईमा यो अभियान संचालन गर्न लागिएको हो । बालबालिका, उनीहरुका अभिभावक र शिक्षक समेतलाई राखेर सरसफाईको सन्देश दिने र स्वास्थ्यप्रति चासो बढाउने उद्धेश्यले यस्तो शिविर संचालन हुन लागेको हो । कलाकारिता क्षेत्रका मोडलहरु, सांसद, राजनीतिक दलका अगुवा, स्वास्थ्यकर्मी, शिक्षा कार्यालयका अधिकृतहरु र पत्रकार समेत पुगेर उक्त विद्यालयमा स्वास्थ्यशिक्षाको सन्देश दिने योजना बनाएको ओझाले जानकारी दिए । ‘यो अभियानमा बालबालिकालाई विद्यालयमै नुहाइदिने, कापाल काटिदिने, नङ काटिदिने र त्यसको सन्देश अभिभावकलाई दिएर आगामी दिनमा सरसफाईको नमूना बनाउन प्रेरित गर्ने लक्ष राखिएको छ’ ओझाले भने, ‘शिक्षा कार्यालयबाटै चासो दिएर यस्तो अभियान संचालन गरिने जिल्लाकै पहिलो घटना हुनेछ ।’ विभिन्न दाताको सहयोग जुटाएर बालबालिकालाई शैक्षिक सामाग्री, विद्यालय पोशाक समेत वितरण गरिनेछ । साथै निशुल्क स्वास्थ्य परिक्षण गर्ने र औषधि वितरण समेत गरिने योजना बनाइएको हो । फागुन २४ गते मंगलवगार बिहानै देखि संचालन गरिने यो अभियानमा यहाँका १ सय २५ बालबालिकालाई लक्षित गरिनेछ । यो विद्यालयका कुल विद्यार्थी मध्ये ७५ जना दलित परिवारका बालबालिका रहेका छन् । ओझाका अनुसार दलित, गरिव परिवारका बालबालिका भएकोले सरसफाईको चेतना विकास गर्ने लक्ष राखिएको हो । यो कार्यलाई समाजसेवी जोन्स ह्याल्मो, महेन्द्र गुरुङ र आदिम ध्वज श्रेष्ठलाई अनुरोध गरिएको बताइएको छ । साथै महिला मोडल, स्वास्थ्यकर्मी समेतको टोलीले बालबालिकालाई नुहाइदिने र सरसफाई गरिदिने कार्यक्रम छ । सांसद ज्ञानकुमारी छन्त्याललाई पनि यो अभियानमा समावेश गरिने बताइएको छ । यो अभियानलाई प्रकाशमणी लामिछाने, प्रेमचन्द्र भुषाल समेतले सहयोग गर्ने बताइएको छ । आर्थिक रुपमा विपन्न भएकोले अधिकांस बालबालिकाले दुइछाक पनि खान नपाउने अवस्थाका भएको प्रअ पुनाराम गिरीले बताए । सदरमुकामदेखि ७२ किमी पश्चिममा पर्ने यो गाउँ भौगोलिक रुपमा पनि बिकट छ । यस्ता अभियानले बालबालिकामा समेत मनोबैज्ञानिक रुपमा स्वास्थ्य र सरसफाईको सन्देश जाने ओझाले बताए । जिल्लालाई पूर्ण सरसफाई युक्त बनाउने अभियान चलिरहेको समयमा यस्ता क्रियाकलापले सहयोग पुग्ने जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद मिश्रले बताए ।