म्याग्दी, २४ फागुन/ ‘छयासी वर्षका बृद्धले सगरमाथा चढ्ने रे’ सुन्दा पनि पत्यार नलाग्न सक्छ । तर म्याग्दीका मिनबहादुर शेरचनले भने सुन्दै पत्याउन नसक्ने चुनौति स्वीकार्दै ८६ बर्षको उमेरमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने घोषणा गरेका छन् । ‘म जे बोल्छु त्यो गरेरै छाड्छु, सगरमाथा चढ्ने मेरो धोको पुरा गरेरै छाड्छु’ सोमबार काठमाडौंमा पत्रकारसँग उनले भने, ‘मलाई त ८६ बर्ष पुगे जस्तो पनि लाग्दैन, बरु कसैले किर्ते गरेर मलाई ८६ बर्ष पु¥याए जस्तो पो लाग्दैछ त’ । पत्रकारहरुसँग उत्साहित देखिएका शेरचनले यसो भनिरहँदा उनमा यो उमेरमा पनि सगरमाथा आरोहण गर्न सकिन्छ भन्ने आत्मविश्वास देखिन्थ्यो । आफूसँग इश्वरको कृपा भएको भन्दै उनले सगरमाथामा चढेर मात्रै मर्नेमा आफू ढुक्क रहेको बताए । ८६ वर्षको उमेरमा सगरमाथा चढ्दा विश्वाशान्ति, मानव कल्याण र पृथ्वीको रक्षाको उद्देश्य रहेको पनि उनले जानकारी दिए । राखेमा शरिर कहिले पनि अस्वस्थ नहुने र बुढ्यौलीले पनि नछुने शेरचनले बताए । ‘सगरमाथा फु मन्त्र गरेर चढिन्न आत्मविश्वासले हुने कुरा हो, म ढुक्क छु मरेर होइन, सगरमाथा आरोहण गरेर तपाईहरुलाई यसै गरेर अनुभव सुनाउने छु ।’ उनले भने । उनले विश्व कीर्तिमान लागि अब अप्रिलको पहिलो हप्ता सगरमाथाको यात्रा सुरु गर्ने घोषणा गरे । शेरचन सगरमाथा आरोहणमा जान लागेको पहिलो अवसर हैन । उनले सन् २००८ मा ७६ बर्षको उमेरमा सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान राखेका थिए । जापानका नागरिकले उनको कीर्तिमान तोडेका थिए । शेरचनले जापानी नागरिकले खोसेको आफ्नो कीर्तिमान फिर्ता ल्याउन सन् २०१५ मा सगरमाथा आरोहणको प्रयास गरेका थिए । तर भूकम्पका कारण अरु आरोहीजस्तै उनी आरोहण त्यागेर आधार शिविरबाटै फर्केका थिए । शेरचनको सगरमाथा आरोहणको लागि एक करोड रुपैयाँ भन्दा धेरै रकम खर्च हुने अनुमान गरिएको छ । मिनबहादुर शेरचन सगरमाथा आरोहण अभियानले उनलाई सहजीकरण गरेको छ । यस्तै म्याग्दी प्रवासी नेपाली संघ, बेलायत गैर आवासीय नेपाली संघ, बेलायत थकाली समाज, मगर समाज बेलायतलगायतका संस्थाले पनि उनलाई आर्थिक सहयोग गरेका छन् ।