नेपालले २०४६ सालदेखिनै बहुदलीय व्यवस्था स्विकार गर्दै आएको छ । नेपालका सबै राजनीतिक दलले पनि बहुदलीय प्रजातन्त्रलाई स्विकार गरेका छन् । यो अभियानमा नेपाली जनता र राजनीतिक दलले दलीय व्यवस्थालाई थप सशक्त बनाउनका लागि गणतन्त्र सम्मको यात्रा गरेका छन् । संघिय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल बनाउने अभियानमा सबै लागेका छन् । तर समय समयमा राजनीतिक कार्यक्रममै अराजक गतिविधि भैरहेका छन् । बिशेषगरी तराईका केही घटनाले यस्तो समस्या ल्याएको देखिन्छ । चाहे गौरमा माओवादीले गरेको कार्यक्रममा भएको हिंसात्मक घटना होस् वा सोमबारको सप्तरी घटना होस् यी सबै भत्सना योग्य छन् । लोकतन्त्रमा सबैलाई आफ्नो संगठन गर्ने, शान्तिपूर्ण कार्यक्रम गर्ने र भेला हुने अधिकार हुन्छ । एमालेले थालेको मेचीमहाकाली अभियानको घोषित कार्यक्रम अन्र्तगत सप्तरीमा भएको आमसभा बिथोल्ने प्रयास पछि गोली चलेको सरकारी भनाइ छ । त्यस्तो अवस्था किन र कसरी सिर्जना भयो ? त्यसको छानविन हुन जरुरी छ । अन्य राजनीतिक दलले कार्यक्रम गर्नै नपाउने भन्ने निषेधको राजनीति भन्दा स्वच्छ प्रतिष्पर्धा गरेर जनताको मत मार्फत कसलाई राख्ने नराख्ने निर्णय गर्न दिएको भए राम्रो हुने थियो । किनकी प्रजातन्त्र भनेको आवधिक निर्वाचन मार्फत जनताको अभिमतबाट स्विकार गरिएको प्रतिनिधिले शासन गर्ने भन्ने हो ।
नेपाल संघियतामा गैसकेकोले स्थानीय तहको निर्वाचन मार्फत गाउँ र नगरपालिका तथा त्यसपछि प्रदेश सभाको निर्वाचन गरेर कार्यान्वयन गर्ने राज्यको जिम्मेवारी हो । यो जिम्मेवारी पुरा गर्न तत्काल निर्वाचन हुन आवस्यक छ । बरु हिमाल,पहाड र तराईबासीले निर्वाचनको माहोल निर्माण गर्नुपर्ने आवस्यकता छ । आम जनतालाई राजनीतिक रुपमा प्रशिक्षित बनाउन सकेमा मात्र निर्वाचन मार्फत जनताका प्रतिनिधिले शासन गर्ने वातावरण बन्ने छ । मधेसीका मुद्दाको संरक्षण गर्नेनै हो भनेपनि स्थानीय तहको निर्वाचन अपरिहार्य छ । किनकी आफ्नो नीति आँफै बनाएर मधेसी जनतापनि अधिकार सम्पन्न हुन सक्छन् । कुरा आयो सप्तरी घटनाको । यो घटना किन र कसरी भएको हो राज्यले छानविन गर्नैपर्छ । मधेसीमोर्चाले तराईमा अरुको उपस्थितिनै देख्न नचाहने प्रवृत्ति हो भने त्यो अन्त्य हुनुपर्छ । त्यस्तै एमाले नेताहरुले पनि उत्तेजक भाषण दिएर घटनालाई मलजल गरेको हो भने त्यो पनि राम्रो होइन । नहुनुपर्ने घटना भैसकेको छ । मृतकको लासमा राजनीति गर्नुपनि आवस्यक छैन । साथै सबैले यो घडीमा संयम अपनाउनुनै बुद्धिमानी हुनेछ । किनकी हिंसात्मक घटनाको प्रतिशोधले शान्ति ल्याउन सक्दैन । बरु प्रतिहिंसा जन्मने खतरा हुन्छ । तसर्थ एकपटक सबैले आफ्नो कामको समिक्षा गरेर शान्ति, सद्भाव प्रकट गर्नु आवस्यक छ । स्थानीय निर्वाचनलाई सफल बनाउन सकियो भने भोलीका दिनमा यस्ता प्रकारका घटना नहुने दिर्घकालिन उपाया पनि भेट्न सकिनेछ । देशको सुरक्षा प्रशासन पनि मजबुत र चनाखो हुन जरुरी छ । सानो बल प्रयोग गरेर पनि शान्ति ल्याउन सकिने संभावना भएको खण्डमा गोली चलाउने सम्मको निर्णयमा नपुग्दा सर्वहित हुने देखिन्छ । किनकी नेपालीले दशकौं देखिको सशष्त्र द्वन्द्व पनि भोगेर आइसकेका छन् । अव हिंसाको राजनीति कसैलेपनि चाहेका छैनन् । त्यसप्रति एकपटक फेरी सबै सचेत बनौं ।