बागलुङ, २४ फागुन/जिल्लाबाट प्रकाशित हुँदै आएको धौलागिरी जागरण दैनिक सोमबारदेखि ११ औँ वर्षमा प्रवेश गरेको छ । आदर्श संचार सहकारी संस्थाद्धारा प्रकाशित पत्रिकाको दशौँ वार्षिकोत्सवको अवसरमा सोमबार जिल्लाको तग्राम गाविस स्थित सप्तरङ्गी सामाजिक महिला उद्यम सहकारी संस्थाको संयोजनमा विशेष कार्यक्रम भएको होे । सो अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले नयाँ–नयाँ प्रविधिको आगमन सँगै पत्रिका प्रकाशनमा धेरै चुनौति थपिएकाले खोजमूलक समाचार सामग्री, बिविधतामा ध्यान दिएर पत्रिकाको आवश्यकता पुष्टि गर्न आवश्यक रहेको बताएका थिए । ‘पत्रिका प्रकाशन आफैमा चूनौतिपूर्ण भएको छ’ शिरिषले भने–‘अनलाइन, रेडियो र टेलिभिजनको बिचमा यसको आवश्यकता र औचित्यबारे बहस शुरु भएको र अब पत्रिकाले पठनीय सामग्री पस्केर फेरी चुनौतिलाई अवसरमा बदल्नुपर्ने बेला आएको छ ।’ कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले स्थानीय तहको निर्वाचनलाई सफल पार्न पत्रकारहरुले सकरात्मक भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए । जिल्लाको पत्रकारिता अझै पनि सदरमुकाम केन्द्रीत रहेको बताउँदै उनीहरुले स्थानीय तहसम्म सञ्चारको उपस्थिती बलियो बनाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा तंग्राम गाविस सचिव पहलमान थापा, आदर्श सञ्चार सहकारी संस्थाका सल्लाहकार डिलबहादुर कार्की, नेकपा एमालेका जिल्ला सदस्य श्याम पुन, नेपाली कांग्रेसका गाउँ सभापति यामदत्त कँडेल, एमाले गाउँ कमिटी अध्यक्ष रनबहादुर थापा, नेकपा माओवादी केन्द्रका सचिव जितबहादुर पुन, राष्ट्रिय जनमोर्चाका लक्ष्मण पुन, राप्रपाका गाउँ अध्यक्ष मनबहादुर पुन, सेयर सदस्य यामबहादुर पुन, दलित संजालका अध्यक्ष तथा अभिनेता टिकासँगम विक, जनजाति सञ्जालका अध्यक्ष थमबहादुर पुन, प्रगतिशिल पत्रकार सघंका केन्द्रीय सदस्य ताराप्रसाद शर्मा, नेपाल प्रेस युनियन बागलुङका उपाध्यक्ष प्रदीप पन्त, प्रेस सेन्टरका जिल्ला सचिव खगेन्द्र विक, प्रेस चौतारीका जिल्ला सदस्य विक्रम सुनार, सुनगाभा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गिरबहादुर पुन, सप्तरंगी सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष थमकुमारी श्रीस लगायतले मन्तव्य व्यक्त गरेका थिए । सहकारी र पत्रिकाका बारेमा जानकारी दिदै सम्पादक रामबहादुर जिसीले आदर्श सहकारीले हरेक बर्ष पत्रिकाको बार्षिकोत्सवको अवसरमा सदरमुकाम केन्द्रित हुने प्रचलनका बिरुद्ध गाउँमा बार्षिकोत्सव मनाउने संस्थाको निरन्तर कार्यक्रम अनुसार यस बर्ष तंग्राममा कार्यक्रम गरिएको बताएका थिए । संस्थाले धौलागिरी जागरण दैनिकका साथै अग्रसर साप्ताहिक समेत प्रकाशन गर्दै आएको छ । कार्यक्रम आदर्श संचार सहकारी संस्थाका अध्यक्ष अमर थापाको अध्यक्षता, सञ्चालक सदस्य योगेन्द्र्र पराजुलीको स्वागत र अञ्जु जिसीको संचालनमा सम्पन्न भएको थियो ।
Previous Articleजिविसमा लगाएको ताला प्रशासनले फोड्यो
Next Article स्थानीय चुनावमा महिला