कृष्णप्रसाद शर्मा
गाउँको एउटा प्राविमा आँखा शिविर सञ्चालन गरिएको थियो । म त्यहाँ स्वएमसेविकाकाको रुपमा खटिएकी थिएँ । खै किन मलाई सानैदेखि सामाजिक काममा सहभागी हुन औँधी रुची लाग्थ्यो । स्कुलमा सरले विद्यार्थीहरुलाई तिम्रो भोलिको उद्देश्य के छ भनेर सोध्दा मैले जहिले पनि समाज सेवा सर भनेर जवाफ दिन्थेँ । त्यो उद्देश्य मेरो केवल बाल्यकालीन मानसिकताले निर्धारण गरेको उद्देश्य थिएन । हृदयमा परमसन्तुष्टि मिल्ने काम थियो ।
शिविरमा आएका आँखाका बिरामीहरु मध्ये धेरै जसो वृद्ध वृद्धाहरु थिए । आँखाको शल्यक्रिया गरिसकेपछि आँखामा सेतो पट्टी बाँधेका ती वृद्ध वृद्धाहरु देख्दा मन पग्लंथ्यो । उनीहरुको हात समाएर डोर्याएर चउरसम्म पुर्याउन वा गाडीसम्म पुर्याउने कामको जिम्मा मैले नै लिएकी थिएँ ।
शिविर तीन दिनसम्म चल्यो । म कत्ति पनि नथाकेर त्यहाँ खटिएर लागेँ । मसँग स्वयं सेविकाको रुपमा खटिएका अरु साथीहरु भने आलोपालोमा बसे । म बसिन । मलाई बस्नुमा भन्दा त्यो काममा खट्नुमा नै आनन्द थियो । म काममा खटेर लागेकी हुनाले शिविरमा आउने धेरैमान्छेहरु र डाक्टरहरुले समेत मलाई राम्रोसँग चिन्दथेँ । बिरामी लिएर आएका आफन्त, बिरामी र डाक्टरले कुनै कामको लागि सहयोग चाहिएमा प्राय मलाई नै खोज्थे ।
समाज सेवा मेरो रुचीको कुरा थियो । मन पर्ने पेशा नर्स । म पढेर नर्स बन्न चाहन्थेँ । तर मैले कहिलै पनि मेरो नर्स बन्ने आन्तरिक इच्छालाई कसैको अघि पोख्न सकिन किन कि त्यो मेरो सपना मेरो बुबा आमाको हैसियत भन्दा निकै परको कुरा थियो । म भोलि पर्सी पढेर नर्स बन्ने कुरा गर्दा सबैको लागि त्यो हाँसोलाग्दो कुरा मात्र हुनेछ भन्ने कुरामा म विश्वस्त थिएँ ।
गरिबीकै कारण मैले नर्स पढ्ने इच्छालाई पूरा गर्न सकिन । तापनि इच्छा मर्दै मरेन । आफै जबरजस्ती मारिदिएँ । अनि म म्यानेजमेन्ट पढ्न थालेकी थिएँ । नर्स बन्ने इच्छा पूरा नहुनुकै कारणले पनि हुन सक्छ मलाई धेरै जसो स्वास्थ्य शिविरहरुमा स्वयंसेविकाको रुपमा काम गर्ने अवसर पाउँदा म आफूलाई केही मात्रामा भाग्यमानी ठान्दथेँ । त्यसमा पनि शिविरमा सेतो रङको एप्रोन लगाउन पाइयो भने त झन त्यो शिविरबाट घर र कलेज कतै जान नपरे हुन्थ्यो जस्तो लाग्थ्यो ।
शिविर समापन हुँदाको दिन मलाई शिविरमा स्वएमसेविकाको रुपमा अत्यन्त राम्रो भूमिका खेलेको भनेर प्रशंशापत्र पनि दिइयो । सबैले सुन्ने गरी आफ्नो नाम बोलाएर यसरी प्रमाणपत्र पाउँदा अत्यन्त पुलकित थिएँ । निकै खुशी भएँ । खुशीले रोऊँ रोऊँ जस्तो पनि लाग्यो । साच्चिकै एउटा नर्सकै प्रमाणपत्र पाएजस्तै अनुभूत भयो ।
त्यो खुशी एकैछिनमा फेरि शुन्यप्राय ः भयो । जब मैले लगाएको सेतो रङ्को एप्रोन खोल्नुपर्ने भयो । एप्रोन खोलिसकेपछि एक पटक ऐनामा हेरेँ । साच्चिकै त्यतिखेर मलाई रुनै मन लाग्यो आँसु थाम्छु भन्दा भन्दै पनि थाम्न सकिन । आँखा रसाइहालेँ तर आँसुलाई बाहिर खस्न दिइन । रुमालले पुछिहालेँ । त्यति बेलासम्म त्यो एप्रोन मेरो हातमा नै थियो मैले शरीरबाट निकालेर पनि हातबाट छोड्न सकेकी रहेनछु । त्यत्तिकैमा अरु दुई जना साथी भित्र पसे मैले मन नलागी नलागी त्यो एप्रोनलाई त्यहीँ छोडेर बाहिर निस्केँ ।
घर आएँ । खाना मन लागेन । आमालाई सञ्चो छैन भनेर ढाटेँ । कलेज पनि गइन । दिन भर आँखा अघि त्यही सेतो रङ्को एप्रोन मात्र बल्झिरह्यो । अरु त के कुरा राति सपनामा पनि त्यही सेता रङ्को एप्रोन लगाएर कलेज गएको देखेँ । तर सपनाको कलेज र म बिपनामा पढ्न जाने कलेज फरक थियो । म सपनाको कलेजमा औँधी खुसी थिएँ । तर सपनाको संसार कति नै लामो हुन्छ र ? म भोलि पल्ट फेरि त्यही कलेज जानुपर्यो । जहाँ म किन जान्छु र किन पढ्छु भन्नेकुरा म आफैलाई थाहा थिएन ।
आफू पढेर नर्स पढ्न नसकेको पीडा बिर्सन पनि मलाई यो समाज सेवाको बाटोले सिकाउँदै थियो यसबाट मैले कुनै आर्थिक लाभ र रोजीरोटी त पाउँदैनथेँ तर त्यो भन्दा हजारगुणा मुल्य भएको वा मैले कतै नपाएको सन्तुष्टि पाउथेँ ।
आँखा शिविर सकिएको पर्सिपल्ट एउटा पत्रिकामा त्यही आँखा शिविरको समाचार पहिलो पृष्ठमा छापिएर आयो जहाँ एउटा फोटो मेरो पनि थियो एउटी आँखा अप्रेसन गरेकी बुढीआमालाई खुट्टामा जुता लगाइदिदै गरेको मेरो फोटोले त्यो पत्रिकामा मात्र होइन त्यतिबेला मलाई थाहा नभएको फेसबुक अरु खै के केमा जताततै आएछ । त्यो आँखा शिविरमा हातमा क्यामरा लिएका मान्छे त देखेकी थिएँ । अनि उनीहरुले फोटो खिच्दा अरु मान्छेसँग मेरो फोटो पनि आउछ कि भनेर धेरै पटक हुलहालमा पनि मिसिएकी थिएँ ।
सोचेकी थिइन मेरो फोटो कतै आउला भनेर तर नसोचेकै भयो मेरो फोटो नै सबैभन्दा महत्वपूर्ण भएर आयो । आफूले हेर्ने गरेको ऐनामा भन्दा त्यो तस्बिरमा आधा अनुहार देखिएको भएपनि राम्री भने म त्यही तस्बिरमा नै भएजस्तै लाग्यो । १७ वर्ष उमेरकी थिएँ नराम्री हुने कुरा पनि थिएन । साथीसँगातीहरुको बिचमा पनि अलि फरक नै थिएँ रे, उनीहरुले नै भन्ने गर्थे ।
जिस्काउँथे पनि तँ तँ हिरोनी नै हुने मान्छे होस् भनेर तर मैले कहिलै पनि आफूलाई त्यो हिरोनीको रुपमा कल्पना गरिन । गाउँमा जन्मेकी मान्छे । हिलोमाटो र गोबर मल अनि घाँस र दाउराको भारीसँग हुर्के बढेकी मान्छे । कतै त्यस्तै आँखा शिविरहरुमा सेतो एप्रन लगाएर बिरामीहरुको हात समाएर डोर्याउन पाए धन्य ठान्थेँ । फोटो आफैलाई पनि असाध्यै राम्रो लाग्यो तर कसले र कतिखेर खिचेको हो त्यो फोटो मलाई थाहा भएन ।
त्यसरी विभिन्न ठाउँमा मेरो फोटो र कामको चर्चा हुन थालेपछि मलाई सोध्ने र खोज्नेहरु धेरै भए । एउटा १५०० रुपियाँ पर्ने मोबाइल थियो हातमा । आमासँग रोइकराई गरेर मागेकी थिएँ त्यै पनि । त्यही मोबाइलमा दिनभर उठाएरै नसकिने फोनका घण्टी बज्न थाले । विभिन्न रेडियो, पत्रपत्रिका र टेलिभिजनका मान्छेसम्म क्यामरा लिएर मेरो घरसम्म आउन थाले ।
गाउँघरमा खेतिपाती गरेर बस्ने बाबुआमाकी छोरी म घरायसी काममा पनि उत्तिकै खट्नु पथ्र्यो । खनखोरस गर्नु, घाँस दाउरा जानु, तरकारी रोप्नु तरकारी फलेपछि बोकेर बजारसम्म लैजानु यी मेरा घरायसी काम थिए । घरमा मलाई भेट्न र खोज्न आउने धेरैको क्यामराले मलाई जुन काममा देखे त्यही फोटो खिच्ने काम गर्थे । कतिले त मलाई आउनुस् न एक छिन भनेर नजिक तान्थेँ अनि सेल्फी खिज्थे । अनि आ–आफ्नो फेसबुकमा पोस्ट गर्थे ।
पहिला त मेरो फोटो यसरी चारैतिर फैलिएको र मलाई धेरै मान्छेले खोज्न थालेपछि मेरी आमा दुविधामा पर्नुभयो । मेरी छोरीलाई कसले के के गर्ने हुन् ? या के गर्न थाले भनेर । सबैले उदार हृदय भएकी, सहयोगी सरल कोमल हृदयकी मान्छे भनेर व्याख्या गर्न थालेपछि आमा पनि साँघुरो सोचबाट बाहिर निस्कनु भयो ।
म पनि अब घरको आँगन भन्दा बाहिरको परिवेशमा आएँ ।
पहिलोपटक टेलिभिजनको स्टुडियो भित्र अन्तर्वाताको लागि पस्दा खुट्टा यति लुला भएका थिए कि मानौँ मलाई मेरै जिउँको भार थाम्न पनि मुश्किल थियो । अर्थात् मेरो शरीर मेरै नभएर पिठ्युमाथि बोकाइएको अरु कसैको शरीर हो ।
भित्र बसेर अन्तर्वाताकारले सोधेका प्रश्नहरु साह्रै सजिला । जवाफ दिन मात्र अप्ठ्यारो ।
बाहिर निस्केपछि पत्रकार र अरु मिडियाकर्मीले पछ्याउन थाले ।
कसैले भने — अब के फिल्म खेल्नुहुन्छ ?
कसैले सोधे —अब मोडलिङ गर्नुहुन्छ ?
कसैले सिनेमाको कथा र भूमिका नै लिएर आए हाम्रो यो सिनेमामा नायिकाको रोल दिनुपर्यो भनेर ।
कसैले गीतमा मोडलिङ् गरिदिनुस् भन्न आए ।
सबैका अनुरोधहरुलाई एकैचोटि कसरी हुन्छ भन्न सक्थेँ । म त्यसरी चर्चामा आएपछि स्थापित मोडलहरु खोज्ने पनि मतिर आउन थाले ।
एउटी तरकारी बेच्न शहर आउँदै गरेकी केटी एक्कासी यो मिडियामा आएर मैले कसलाई के दिन सक्थेँ । म कुनै रङ्ग मञ्चमा अभिनय गर्दागर्दै मेरो कला देखेर मान्छे यहाँ सम्म ल्याएका पनि होइनन् । अभिनयको नाममा एक पटक कक्षा ५मा पढ्दा एउटा सडक नाटकमा एउटी स्कुल पढ्न नपाठाएकी घाँस दाउरा गर्ने छोरीको रुपमा अभिनय गरेकी थिएँ तर नसकेरै घाँस लिन बन गएको बेला उतैबाट गाएब भएकी थिएँ ।
त्यस दिन मेरै कारणले गर्दा त्यो नाटक बीचैमा रोकिएको थियो । मेरो अभिनयमा रुची थिएन म आफू खुसी अभिनय गर्छु पनि भनेकी थिइन । म राम्रो नाच्न जान्ने केटी पनि होइन । राम्रो अभिनय गर्न सक्ने केटी पनि होइन । अनुहार पनि औसतमा ठिक हो असाध्यै राम्री पनि होइन । आखिर किन यिनीहरुले मलाई यसरी पछ्याइरहेका छन् यो कुरा मैले कहिलै सोचिन ।
यस्तैमा एउटा साप्ताहिक पत्रिकामा तापईँको एउट तसवीर छाप्नु छ भनेर बोलाए । गएँ ।
त्यहाँ जादा मैले कुर्तासुरुवाल लगाएकी थिएँ । फोटो खिच्ने भनेपछि अलि राम्रा र नयाँ छानेर लगाएँकी थिएँ । दशैँमा एक दिन र तिहारको एक दिनमात्र लगाएको । कलेजी रङ्को । सुहाउँदो ।
बोलाएको पत्रिकाको अफिसमा पुगेर फोटो खिच्ने कुरा भएपछि मलाई ड्रेस चेन्ज गर्न लगाए ।
यत्तिकैमा खिच्दा हुँदैन र ? मैले सोझै तरिकाले सोधेँ ।
दुई जना वयस्क पुरुषहरु मेरो कुरा सुनेर अलि जोडले हाँसे ।
मेरो शीर लाजले निहुरियो । मन खिन्न भयो ।
बहिनी अब त तपाईँ धेरै माथि पुगिसक्नुभएको छ मोडल हुन मोर्डन हुनुपर्छ । यसको लागि तपाईँमा धेरै कुराको चेन्ज आउनु जरुरी छ ।
मलाई अरु दुईजना मेरै उमेरका केटीहरुसँग भित्र पठाइयो अनेक प्रकारका कपडाहरु थिए तर मैले लगाएका र लगाउने खालका कपडा थिएनन् त्यै पनि म रोज्दै थिएँ ।
मसँग भित्र पसेकी मध्ये एउटी केटीले एक जोर कपडा हातमा समाएर भनी— यि अहिले तपाईँले लगाउने कपडा यो हो हेर्नुस् । पछि फेरि चेन्ज गर्नुपर्छ ।
मैले उसले दिएको कपडा हेरेँ । त्यसलाई के भन्छन् थाहा भएन । लगाउने कसरी त्यो पनि थाहा थिएन । उनीहरुले नै लगाइदिए । कपडा लामो भएकाले म ढुक्क थिएँ । कपडा लगाइसकेपछि आँखामा, ओठमा, गालामा खै के के लगाइदिए । अनि एक छिन पछि अब ऐना हेर्नुस् एक पटक भने ।
आम्मै ऐना हेर्दा ऐनाभित्रबाट अर्की कुनै शहरीया केटीले आफूलाई हेरे जस्तो पो लाग्यो । म त अलमलमै परेँ ।
चिन्नु भएन कि के हो आफैँलाई ? सोधेँ उनीहरुले ।
जवाफमा म हासेँ । बनावटी हाँसो देखाएर ।
कपडा तलतिरको त ठिक थियो माथिको कपडा भने छाती पुरा नछोपिने खालको थियो ।
भनेँ — अरु त ठिक छ यो कपडा चाहिँ अलि ठुलो भए हुने हो अलि साँघुरो नै भयो ?
मेरो कुरा सुने ती दुवैजना खुब जोडले हाँसे । मेरो शीर लाजले फेरि निहुँरियो ।
होइन त यो त सेट नै हो खास्टो जस्तो पुरा शरीर छोप्ने कपडा लगाएर पनि मोडल भइन्छ त बहिनी ?
एउटी ले भनी म केही बोलिन ।
यति गरिसकेपछि मलाई मलाई फोटो खिच्ने कोठामा लगे । सोचेकी थिएँ मलाई उत्तिखेरै एक दुईवटा फोटो खिचेर पठाइदिई हाल्नेछन् । तर त्यस्तो भएन । मलाई दायाँ बाँया अघि पछि चारैतिर मन्दिर परिक्रमा गरेजस्तै गरेर ओल्टाई पल्टाई आठ दश वटा फोटा खिचेँ ।
फेरि एक छिनपछि अर्काे ड्रेस लगाएर पनि फोटा खिच्नुपर्छ भने । यसपालि भने पहिलाको भन्दा निकै फरक कपडा थियो । त्यस्तो कपडा मैले प्राय फिल्म हिरोइनहरुले लगाएको देखेकी थिएँ । मलै लगाउनु त के यस्ता कपडा कुनै दिन लगाउँला भन्ने सम्म पनि सोच्न सक्दिनथेँ । तलमाथि पुग्ने एकै लहरोको कपडा लगाएर आफैँलाई हेर्दा लाज लाग्थ्यो अरुले हेर्दा त मरेजस्तै लाग्थ्यो आफूलाई ।
त्यो तसवीर छापियो । त्यो पत्रिकाको बाहिरी मात्र होइन अधिकांश भित्री पाना पनि मेरै तसवीर र मेरै कुराहरुले भरिएको थियो । फेरि ठाउँठाउँबाट मलाई फोनको घण्टी बज्न थाले । विभिन्न पसलका होडिङ्बोर्डमा मेरो फोटो राख्न अनुमति माग्न थाले मान्छेहरुले । म शहरभरि व्याप्त भएँ ।
यस्तैमा मसँग अन्तर्वाता लिने एकजना पत्रकारसँग मेरो नजिकको सम्बन्ध गाँसियो । जसले अरुले भन्दा मेरो तस्बिर निकै सुन्दर निकाल्थे । उनी मेरा लागि प्रेमी भए । म उनकी प्रेमिका भएँ । मेरो परिचय बदलियो । म पत्रकारकी पत्नी भएँ । मलाई भन्दा मेरा पतिलाई धेरै शुभकामना र बधाई सन्देस आए ।
मेरो दैनिकी परिवर्तन भयो । मैले सोचेजस्तो वैवाहिक जीवन भएन । म घरमा भएपछि पत्रकार पतिदेव स्वतन्त्र भएर आफ्नो काममा जान थाल्नुभयो । म बन्धित भएँ एउटै घरभित्र । खाना पकाउनु, श्रीमान् र सासु सुरालाई खाना खुवाउनु, जुठा भाँडा र मैला कपडासँग प्राय दिनहरु बित्न थाले । मन खुल्न नसकेपनि अनुहार त्यसै ओइलाउँदो रहेछ ।
मलाई ऐना हेर्दा आफ्नै अनुहार देख्दा पनि दया लाग्न थाल्यो । मलाई मोडल भएर भर्खर बाँचेर आएको मोडलको जिन्दगी सम्झँदा पनि पीडाको अनुभूत हुन्थ्यो । अब म त्यो विगतमात्र हैन वर्तमानको जीवन पनि बाँच्न चाहदैनथेँ । मलाई मेरो बाल्यकालिन् सपनानै प्यारो लाग्न थाल्यो । म त्यो घरबाट निस्केर बाहिर समाजमा जान चाहन्थेँ ।
एक दिन पत्रकार श्रीमान्लाई भनेँ—मेरो बाल्यकालदेखिको सपना समाजसेवी बन्ने थियो अब म त्यो क्षेत्रमा लाग्न चाहन्छु कसो होला ?
उहाँ मेरो कुरा सुनेर हाँस्नु भयो । हाँस्न पनि सामान्य तरिकाले होइन । अलि असामान्य तरिकाले, मेरो अन्तरहृयमा नै घोच्ने गरी ।
त्यस्तो चाहना भएको भए मोडल हुनुभन्दा पहिले नै सोच्नुपथ्र्यो —श्रीमान्ले भन्नु भयो ।
म मोडल हुने मान्छे नै थिइन तपाईँहरु जस्तै पत्रकार र मिडियाले बनाएका त हुन् नि —मैले हाँस्दै भनेँ ।
त्यसको जवाफ श्रीमान्ले पनि हाँसेर मात्र दिनुभयो केही बोल्नुभएन ।
आज भोलि म मेरो श्रीमानसँग केही स्वतन्त्र भएर सामाजिक जीवन बाँच्ने अवसर दिनुस् भनेर आग्रह गर्छु तर उहाँले नसुनेझैँ गर्नुहुन्छ ।
आज मेरो भित्री चाहना बुझेर कुनै पत्रकार पत्रिकामा लेखिदेओस् भन्ने चाहन्छु । म अब सामाजिक जीवन बाँच्न चाहन्छु, एउटा सामाजिक अभियान चलाउन चाहन्छु तर यो कुरा लेखिदिने कुनै पत्रकार यो सहरमा भेटिदैनन् यति सम्म कि मेरा आफ्नै श्रीमान् पत्रकार हुनुहुन्छ उहाँले धेरै सेलीब्रेटीहरुको सम्बन्धको नालीबेली खोतलेर धेरै कुरा लेख्नुहुन्छ, धेरैको मनमस्तिष्को कुरालाई बाहिर ल्यादिनुहुन्छ तर मेरो कुरालाई कहिलै लेख्नुहुन्न ।
र शायद अरु कुनै पत्रकारले मेरो कुरा लेख्न सक्थ्यो होला तर ऊ म कहाँ आउन पनि अब पहिला जस्तो सजिलो छैन । पहिला मेरो जीवनमा सबैको लागि प्रवेश खुला थियो त्यहीँबाट मेरो श्रीमान् म कहाँ आइपुग्नु भयो अहिले उहाँ दैलो हुनुभएको छ, जसले मेरो जीवनमा आउने जो सुकैलाई प्रवेश निषेध गर्नुहुन्छ र मलाई पनि बाहिर निस्कन मन लाग्छ उहाँको अनुमति पाउँदिन ।
Previous Articleडा. ब्रिजेशको देशप्रेमबाट ओतप्रोत म्युजिक भिडियो सार्वजनिक
Next Article केयर होममा सयौं बच्चाको अवशेष