काठमाडौं, २३ फागुन – अभिनेत्री दीपाश्री निरौला पछिल्लो समय पहिरन छनोटमा ध्यान दिन थालेकी छन् । ग्ल्यामर फिल्डमा टिकिरहन आफूमा रूपान्तरण ल्याउनुपर्ने उनको सोचाइ छ । उनी पातलो लुक्स कसरी देखाउने भनेर हमेसा कन्सियस हुँदै छिन् । पछिल्लो समय फिल्म ‘छक्का पञ्जा’ बाट सफलताको श्रेय बटुलेकी उनी बाहिर देखिन भए पनि केही न्यु र स्टाइलिस्ट हुनुपर्ने बताउँछिन् ।
‘मोटोपन घटेकै छैन तर पातली भने देखिएकी छु,’ उनी भन्छिन्, ‘ड्रेस डिजाइनमा ध्यान दिन सकियो भने सजिलै पातली देखिने रहेछ ।’ उनी फेसन डिजाइनर रोजिना श्रेष्ठकी रेगुलर क्लाइन्ट हुन् । रोजिनाले नै दीपालाई पातली र फरक देखिने आइडिया दिएकी हुन् । वैशाखमा नयाँ फिल्मको काम थालनी गर्दै गरेकी दीपालाई रोजिनाको साथ फापेको छ ।
हास्यकलाकारको झलक–मलक स्वरूपमा देखिने दीपालाई रोजिनाले रोयल र अलि बेग्लै स्वरूपमा ढाल्न थालेको बताइन् । ‘दीपा पातली देखिँदै छिन्,’ उनी भन्छिन्, ‘पहिरन र कन्सेप्टको कमाल हो यो ।’
रोजिनालाई धेरैले आफू मोटो भएको भन्दै चिन्ता व्यक्त गर्छन् । रोजिनाचाहिँ सजिलै उनीहरूलाई पहिरनमार्फत पातलो देखिने उपाय दिन्छिन् । ‘ड्रेस डिजाइनमा कन्सस हुन सके पातलो देखिन सजिलो छ,’ उनी भन्छिन् । उनका अनुसार मोटो शरीरका लागि ‘लाइका’, ‘सिफन’, ‘जर्जियट’ जस्तो फेब्रिक उपयुक्त हुन्छ । त्यस्तै, सकेसम्म चोली नछुट्याई वानपिसमै ‘ए’ लाइनमा कपडा काट्नुपर्ने उनी बताउँछिन् ।
नायिका सञ्चिता लुइँटेल सकेसम्म छोटा पहिरन लगाउन रुचाउँदिनन् । अलि मोटो शरीरलाई यस्ता पहिरनले भद्दा देखाउने उनको अनुभव छ । ‘हल्का पातली देखिने ड्रेस छनोट गर्छु,’ उनी भन्छिन्, ‘कलरमा पनि डार्क रोज्छु ।’
त्यस्तै, नायिका वर्षा राउत पनि आफूलाई अलि मोटी नै भएको बताउँछिन् । यस्तो अवस्थामा फिल्ममा भन्दा बाहेकको अवस्थामा प्राय: कुर्थी, कुर्था सुरुवाल लगाउन मन पराउँछिन् । ‘लुज कुर्थामा स्लिम र सजिलो फिल गर्छु,’ उनी भन्छिन्, ‘अरूले के भन्छन्, भन्दा पनि आफ्नो रुचि जे छ त्यस्तै लगाउँछु ।’
फेसन डिजाइनर तेन्जिङ छितेन भुटिया गर्मी लागेपछि ड्रेस डिजाइनमध्ये, मोटो फिगरमा बढी मिहिनेत गर्छन् । उनका अनुसार पातलो शरीरलाई जति सहज रूपमा ड्रेस बनाउन सकिन्छ उति मोटो शरीरमा विशेष जुक्ति लगाउनुपर्ने हुन्छ । शरीरको कुन भाग पातलो छ त्यो ठाउँमा हेभी एम्ब्रोइड नगर्ने, डिजाइन नगर्ने र कपडाले छोप्ने गर्नुपर्छ । डिजाइन र एम्ब्रोइड गर्दा धेरैको ध्यान केन्द्रित हुने हुँदा मोटोपना देखिने उनले बताए । कपडाले शरीरको मोटोपन घटाउने होइन । तर, मोटो शरीर छोपेर पातलो महसुस गराउने काम चाहिँ पक्कै गर्छ ।
‘यो एक प्रकारको इलुजन हो’, तेन्जिङ भन्छन्, ‘हेर्नेहरूलाई पहिरनमा भ्रम पार्ने ।’ उनका अनुसार डार्क रंगका लुगा लगाउँदासमेत पातलो देख्न सकिन्छ । ‘डार्क रंगले प्रकाशलाई सोस्ने काम पनि गर्छ,’ उनी भन्छन्, ‘जसका कारण आँखामा रिफलेक्सन पर्दैन र पातलो देखिने भ्रम पैदा गर्छ ।’
डिजाइनर आस्तिक शेरचन मोटो शरीर भएकाले सकेसम्म फुलबुट्टे पहिरन नलगाउन सल्लाह दिन्छन् । हल्का लुज पहिरन, फुल ब्लाउज र हेभी एम्ब्रोइड नगरिएका लुगा छनोट गर्नु राम्रो हुने उनको सुझाव छ ।