न्युयोर्क, २३ फागुन – अमेरिकाको कान्सासमा भारतीय इन्जिनियरको गोली हानी हत्या गरिएको एक सातापछि अर्का भारतीय मूलका व्यापारीको हत्या गरिएको छ । दक्षिण क्यारोलिनाको ल्यानस्यास्टर काउन्टीमा एक स्टोरका मालिक ४३ वर्षीय हर्निस पटेलको गोली हानी हत्या गरिएको हो ।
उनको शव बिहीबार उनकै घरअगाडि गोली लागेको अवस्थामा भेटिएको थियो । स्टोर बन्द गरेर गाडीमा घर जान लागेका अवस्थामा आक्रमणकारीसँग उनको भिडन्त भएको अधिकारीहरूले अनुमान गरेका छन् ।
स्थानीय हेराल्ड अखबारले जनाएअनुसार उनको स्टोर उनको घरभन्दा ६ किलोमिटरको दूरीमा छ । प्रहरीका अनुसार उनी मृत भेटिनु १० मिनेटअघि मात्र उनले आफ्नो स्टोर बन्द गरेका थिए । कान्सासमा गत साता एक पूर्वसैनिकले गोली हानी भारतीय इन्जिनियर श्रीनिवास कुचिभोट्लाको हत्या गरेका थिए ।
भारतीय मूलका व्यापारी हर्निस पटेलको हत्या गरिएपछि उनको स्टोरमा टाँसिएको बन्दको सूचना । तस्बिर : इन्डिया टुडे
Previous Articleस्थानीय तहमा शिक्षाको अधिकार
Next Article पहिलो पटक चन्द्रमाको भ्रमणमा दुई व्यक्ति !