बागलुङ, १८ फागुन – धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को चुनाव हुँदैछ । धौलागिरी अञ्चल कै एकमात्र आंगिक क्याम्पस धवलागिरी बहुमुखी क्याम्पसमा बुधबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म हुने स्ववियु निर्वाचनको लागि आवश्यक सुरक्षा व्यवस्था, मतदान केन्द्र तयार लगायत सम्पूर्ण तयारी पुरा भएको निर्वाचन अधिकृत डा. दिन बहादुर थापाले जानकारी दिए । क्याम्पसमा निश्पक्ष, धाँधली र विवादरहित नमुना निर्वाचन गराउनको लागि क्याम्पसको सबै जनशक्तिको परिचालन गर्ने निर्वाचन अधिकृत थापाले बताए । उनले निर्वाचन स्थल व्यवस्थित गर्नेको लागि क्याम्पसको दुवै गेटमा तथा निर्वाचन स्थान वरीपरी सुरक्षाकर्मीको साथै क्याम्पसको जनशक्तिहरुको परिचालन गर्न लागेको जानकारी दिए । प्रत्यक्ष तथा समानुपातिकतर्फ ३ वटा मतदान केन्द्र रहने निर्वाचन केन्द्रमा एक मतदान केन्द्रमा ७ जना कर्मचारी खटाईने छ । प्रत्यक्षतर्फ ८ पदको लागि धौलागिरी बहुमुखी क्याम्पसमा ५ संगठनका १९ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । क्याम्पसमा विभिन्न संकायका ९ सय ८२ जना विद्यार्थीहरुले मताधिकार प्रयोग गर्नेछन् । स्ववियुको अध्यक्षको लागि अखिल संयुक्त प्यानलका शेखर खड्का र नेपाल विद्यार्थी संघका मनबहादुर थापाबीच प्रतिस्पर्धा हुँदैछ ।
अन्नपूर्ण क्याम्पस र गुप्तेश्वर क्याम्पसमा निर्विरोध
स्वतन्त्र विद्यार्थी यूनिएनको निर्वाचनमा पर्वत जिल्ल्लाका दुईवटा क्याम्पसमा सर्वसहमत नेतृत्व चयन भएको छ । जिल्लाको सदरमुकाममा रहेको गुप्तेश्वर बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघको नेतृत्वमा र दक्षिणीबर्ती गाविस कार्किनेटामा रहेको अन्नपूर्ण बहुमुखी क्याम्पसमा अनेरास्वबीयूको नेतृत्वमा सर्वसहमत भएको हो । देश भरका क्याम्पसहरुमा निर्वाचनका विषयमा थुप्रै जटिलताहरु देखिएता पनि जिल्लाका दुई क्याम्पसमा भने सौहाद्रतापूर्वक निर्वाचनको लागि सर्वसहमत भएको हो । गुप्तेश्वर क्याम्पसमा शिशिर क्षेत्रीको नेतृत्वमा सर्वसहमत भएको हो भने, अन्नपूर्ण क्याम्पसमा भने हिमाल श्रेष्ठको नेतृत्वमा सर्वसहमत भएको हो । निर्वाचन विना नै सवै विद्यार्थी संगठनहरुको सहमतीमा सर्वसहमत भएपछि अन्य पदहरुमा पनि विद्यार्थी संगठनहरुले आफना प्रतिनिधिहरु पठाएका छन । उता, पर्वत बहुमुखी क्याम्पसमा भने क्याम्पस प्रशासनले चुनावी प्रक्रिया शुरुवात नै नगरेको भन्दै अखिल लगाएतका विद्यार्थी संगठनहरुले विरोध जनाउँदै आएका छन ।
Previous Articleमहायज्ञमा १ करोड २७ लाख संकलन
Next Article गाउँपालिकाको केन्द्र माग्दै बेनी–जोमसोम सडक बन्द