वासिङ्टन,१७ फागुन – अमेरिकाका पूर्वराष्ट्रपति जर्ज डब्लु बुसले मिडियासँग लडाइँ, इस्लामविरुद्ध भाषण र अध्यागमनसम्बन्धी आदेश दिएर राष्ट्रपति डोनाल्ड ट्रम्प गलत बाटोमा हिँडिरहेको बताएका छन् । एनबीसी टेलिभिजनलाई सोमबार दिएको अन्तरवार्तामा बुसले प्रत्यक्ष रूपमा ट्रम्पको आलोचना नगरे पनि आफ्नो कार्यकाल र अहिले भइरहेको क्रियाकलापको तुलना गरेका थिए ।
मिडियासँग ट्रम्पको मनमुटावबारे सोधिएको प्रश्नमा बुसले आफूले प्रेसलाई कहिल्यै अमेरिकी जनताको शत्रु भनेर नठानेको उल्लेख गरे । ‘मैले जहिले पनि मिडियालाई प्रजातन्त्रका लागि अपरिहार्य ठानें,’ बुसले भने, ‘मजस्ता मानिसलाई जिम्मेवार बनाउन हामीलाई स्वतन्त्र मिडिया चाहिन्छ, प्रतिशोधपूर्ण र नाशक हुन सक्छ, त्यसैले शक्तिको दुरुपयोग रोक्न पनि हामीलाई मिडिया चाहिन्छ ।’
कार्यक्रममा एनबीसीका म्याट लाउरले बुसको एक चर्चित भाषण पढेका थिए । सेप्टेम्बर ११ को आतंकवादी आक्रमणको भोलिपल्ट गरेको उक्त भाषणमा बुसले विश्वका मुस्लिमसँग अमेरिकाको युद्ध नभएको बताएका थिए । यसविपरीत ट्रम्पले अमेरिका उग्र इस्लामिक आतंकवादविरुद्ध लडिरहेको बताएका छन् । एजेन्सी
Previous Articleमानिसहरू किन छाडा बोल्छन् ?
Next Article सेना पनि निर्वाचनमा : सुरक्षा निकायसँग गृहको छलफल