डेभिड एडमन्ड्स
प्रायः सबै भाषामा छाडा शब्द हुन्छन् । मकार, लकार, चकार लगायतबाट शुरु हुने छाडा गालीका शब्दहरू नेपालीमा बग्रेल्ती प्रयोग हुन्छन् । अंग्रेजी एफ वर्णबाट शुरु हुने चार वर्णको शब्द बढी प्रचलित छ । मूलधारमा त्यो शब्दको पहिलो वर्ण राखेर अरू चाहिँ तारा (एस्टेरिक्स) दिने चलन छ । (नेपालीमा त यतिसम्म पनि गर्न सकिने स्थिति छैन ।)
छाडा गालीले व्यक्तिलाई क्रुद्ध बनाउँछ । दार्शनिक रेबेका रोचेका अनुसार क्रुद्ध बनाउनुका अलावा छाडा शब्दका अन्य विशेषता पनि छन् । ‘हामीहरू कुनै प्रकारको भावना व्यक्त गर्न प्रायः छाडा शब्द प्रयोग गर्छौं,’ उनी भन्छिन्, ‘तपाईं क्रुद्ध हुनुहुन्छ वा खुशी हुनुहुन्छ भने छाडा गाली दिँदा तपाईंमा एक किसिमको विरेचन हुन्छ ।’
रोचेका अनुसार गाली दिनु समाजले प्रतिषेध गरेका वस्तु (ट्याबू) सँग पनि सम्बन्धित छ । संसारभरि छाडा गालीका शब्दहरू शौचालय, यौन र धर्मसँग बढीजसो सम्बन्धित छन् ।
तर गाली दिनुमा एकखाले विरोधाभास पनि लुकेको हुन्छ । ‘सामाजिक प्रतिषेधलाई तोड्नैका लागि मात्र पनि छाडा शब्द प्रयोग गरिन्छन् । तपाईंले त्यस्ता शब्द प्रयोगको अनुमति पाउनुहुन्न तर त्यही नियमलाई भत्काउनका लागि तिनीहरू अस्तित्वमा छन्,’ रोचे भन्छिन् ।
शब्दहरूले समय बितेसँगै शक्ति विकास गर्दै जान्छन् । यो ऐतिहासिक प्रक्रिया हो । विगतमा धेरै छाडा शब्द धर्मसँग सम्बन्धित थिए । तर बेलायत जस्ता देशहरू धर्मनिरपेक्ष भएपछि सराप्नका लागि प्रयोग हुने शब्दहरू ‘ड्याम’ र ‘जिसस क्राइस्ट’ले धार गुमाउँदै गए ।
‘द टाइम्स’ पत्रिकाका प्रमुख लेखक ओलिभर कामले गालीका शब्द आजकल धर्मबाट कमै लिइने र शरीरबाट निस्कने पदार्थबाट चाहिँ धेरै लिइने बताउँछन् । ‘सार्वजनिक स्थानमा बोल्दा कति घिनलाग्दो सुनिन्छ त्यसका आधारमा शरीरबाट निस्कने पदार्थको पनि आदरक्रम छ । शिट (आची) भन्ने शब्द पिस (मूत) भन्दा खराब सुनिन्छ र त्यो आफैं चाहिँ फार्ट (पाद) भन्दा खराब सुनिन्छ । फार्ट चाहिँ स्पिट (थुक) भन्दा बढी खराब सुनिन्छ अनि थुक आफैंमा गाली होइन । शरीरबाट निस्कने पदार्थहरू कत्तिको रोगग्रस्त छन् वा खतरनाक छन् वा घिनलाग्दा लाग्छन् भन्ने कुरामा ट्याबूहरू भर पर्छन् जुन आफैंमा रमाइलो भाषिक परिकल्पना हो ।’
गाली बक्दा हुने भावनात्मक विरेचनलाई अनेकौं तरिकाले मापन गरिएको छ । गाली दिँदा पीडा कम हुने विश्वास गरिन्छ । तपाईंले हिउँजस्तो चिसो पानीमा हात राख्दै गर्दा छाडा गाली दिनुभयो भने कम पीडा महसूस गर्नुहुन्छ । अनि एकभन्दा धेर भाषा बोल्नेहरूलाई आफ्नो मातृभाषामा गाली दिँदा बढी सन्तुष्टि मिल्छ किनकि यसले झन् ठूलो भावनात्मक मुक्का हान्छ ।
विरेचनका अलावा गालीका अन्य फाइदा पनि छन् । गाली दिँदा सम्बन्ध बनाउन पनि सजिलो हुन्छ । राम्रो नियतले केही गालीका शब्द उच्चारण गर्दा आत्मीयता झल्किन्छ । हालै गरिएको एक अध्ययनले गाली बक्ने मानिस नबक्नेको तुलनामा थप विश्वासिला हुने संकेत दिएको छ ।
गालीको शब्दका वर्णलाई एस्टेरिक्सले छोप्दा पूर्ण शब्द जतिको आक्रामकता रहँदैन । यसो किन हुन्छ त ? रोचेका अनुसार गाली दिनु भनेको शिष्टाचार तोड्नु हो । अर्काको घरमा पाहुना लाग्न जाँदा उसको टेबलमा लगेर आफ्नो जुत्ता राख्नु जस्तै हो यो । यसो गर्दा मान्छे रिसाउँछ भन्ने थाहा पाएर पनि तपाईं त्यही नै काम गर्नुहुन्छ भने तपाईंले पर्याप्त मात्रामा त्यो व्यक्तिप्रति सम्मान देखाइरहनुभएको हुँदैन ।
तर गालीको शब्दलाई एस्टेरिक्सले छोप्दा तपाईंले अरूको भावनालाई विचार गर्नुभएको संकेत मिल्छ । शब्दलाई सेन्सर गर्दा सम्मान झल्किन्छ । द टाइम्सका ओलिभर काम गालीलाई एस्टेरिक्सले छोप्ने आफ्नो पत्रिकाको नीति अंगीकार गर्छन् । पूरै शब्द लेखिदिँदा पाठकहरूका लागि अपाच्य हुने उनी तर्क गर्छन् । धेरै मानिस जस्तै म पनि गालीका शब्ददेखि आत्तिन्छु । त्यसैले अब साबुनले मुख धुन जाँदैछु ।
बीबीसी डट्कमको म्यागेजिन सेक्सनमा फागुन १६ गते प्रकाशित ‘ह्वाई डु पिपुल स्वेर’ को भावानुवाद
Previous Articleजेडटीईले ल्यायो विश्वकै पहिलो फाइभ जी स्मार्टफोन
Next Article प्रेस जनताका शत्रु होइनन्-जर्ज डब्लु बुस