इजरायलका राष्ट्रपति इसाक हर्जोगले विपक्षी नेता गादी आइजेनकोटलाई नयाँ सरकार गठनको जिम्मेवारी दिएका छन् । शनिबार साँझ निर्णयबारे जानकारी गराएका हर्जोगले आइतबार औपचारिक रूपमा उनलाई म्यान्डेट हस्तान्तरण गर्नेछन् ।
अक्टोबर २७ को निर्वाचनमा कुनै पनि पक्षले बहुमत हासिल नगरेपछि हर्जोगले राजनीतिक दलहरूसँग परामर्श गरेका थिए । त्यसक्रममा ६७ सांसदले आइजेनकोटलाई समर्थन गरेका थिए भने वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको पक्षमा ४६ सांसद थिए ।
अब आइजेनकोटले १२० सदस्यीय नेसेटमा सरकार गठनका लागि आवश्यक ६१ सांसदको समर्थन जुटाउन २८ दिनको समय पाउनेछन् । आवश्यक परे थप १४ दिनको म्याद दिइन सक्नेछ ।
निर्वाचनमा आइजेनकोट नेतृत्वको चारदलीय गठबन्धनले ४८ र नेतान्याहूको दक्षिणपन्थी तथा धार्मिक गठबन्धनले ५३ सिट जितेका थिए । अरब नेतृत्वका दलहरूले भने कीर्तिमानी १९ सिट प्राप्त गरेका थिए ।
आइजेनकोटले अरब दललाई सरकारमा सहभागी नगराउने बताउँदै आएका छन् । उनीहरूको समर्थन लिएमा ६७ सांसद पुग्ने भए पनि दुई अल्ट्रा–अर्थोडक्स दल युनाइटेड टोराह जुडाइजम र शासको समर्थन जुटाउन सके उनको पक्षमा ६१ सिट पुग्नेछ ।
सदजान विश्वासको मत प्राप्त गरेमा उनले ६१ सिटको समर्थनबिनै पनि अल्पमतको सरकार गठन गर्न सक्छन् ।
अलजजिराका अनुसार, सबैभन्दा बढी सांसदको सिफारिस पाएकाले हर्जोगले आइजेनकोटलाई जिम्मेवारी दिएका हुन् । अब उनको चुनौती चुनावी प्रतिबद्धता कायम राख्दै संसद्बाट विश्वासको मत प्राप्त गर्ने र नेतान्याहू नेतृत्वको दक्षिणपन्थी विपक्षी गठबन्धनको विरोध सामना गर्न सक्ने सरकार बनाउनु हुने बताइएको छ ।
आइजेनकोट असफल भए हर्जोगले अर्को उमेदवारलाई जिम्मेवारी दिन सक्नेछन् । दोस्रो उमेदवार पनि असफल भए संसद्को बहुमतले तेस्रो उमेदवार अघि सार्न सक्नेछ, जसलाई अन्तिम १४ दिनको समय दिइनेछ । त्यसपछि पनि सरकार गठन हुन नसके ९० दिनभित्र नयाँ निर्वाचन हुनेछ । त्यतिन्जेल नेतान्याहू कामचलाउ प्रधानमन्त्री रहनेछन् ।
आइजेनकोटले सन् २०१५ देखि २०१९ सम्म इजरायली सेनाको नेतृत्व गरेका थिए । गाजामा सन् २०२३ अक्टोबरमा सुरु भएको युद्धको पहिलो आठ महिनासम्म उनी नेतान्याहू नेतृत्वको युद्ध मन्त्रिपरिषद्मा पर्यवेक्षकका रूपमा सहभागी थिए ।
