तिहार पर्व नजिकिएसँगै म्याग्दीको बेनी बजारमा परम्परागत परिकार झिनिया रोटीको माग बढेको छ । चाडपर्वलाई लक्षित गरी झिनिया उत्पादन गर्दै आएका बेनीका उद्यमीलाई मागअनुसार उत्पादन गर्न भ्याइनभ्याई भएको छ । घरपरिवारका सदस्यसँगै श्रमिक परिचालन गरेर उद्यमीहरू झिनिया बनाउन व्यस्त भएका छन् ।
नेपाली मौलिक परिकारमध्ये झिनियालाई झिलिङ्गा रोटी पनि भन्ने गरिन्छ । चामलको पिठोबाट बनाइने झिनिया तिहारमा विशेष रूपमा प्रयोग हुन्छ । हेर्दा आकर्षक र खान स्वादिलो हुने भएकाले तिहार नजिकिएसँगै बेनी बजारमा यसको बिक्री बढेको हो ।

तिहारमा दाजुभाइ तथा दिदीबहिनीबीच आत्मीयता साटासाट गर्ने र पाहुनालाई सत्कार गर्ने क्रममा झिनिया रोटीको माग हुने गरेको बेनी नगरपालिका–७ की टकसरा रानाले बताउनुभयो । उहाँले विगत २५ वर्षदेखि झिनिया बनाउँदै आउनुभएको छ ।
“झिनिया बनाउने परम्परागत संस्कृति भएकाले छाड्न सकिएन । दिनभर त्यसै बस्नुभन्दा झिनिया बनाउँदा घरखर्चका लागि रकम पनि जम्मा हुने र अरू महिला दिदीबहिनीलाई पनि प्रेरणा मिल्ने भएकाले यो काम गर्दै आएकी छु,” उहाँले भन्नुभयो ।

उहाँका अनुसार बेनी बजारका साथै ग्रामीण भेग र पोखराबाट समेत झिनियाको माग आउने गरेको छ । विदेशबाट पनि माग आउने गरेको उहाँले बताउनुभयो । दुई वर्षअघि अस्ट्रेलियाबाट २५ हजार रुपियाँ बराबरको झिनियाको माग आए पनि उत्पादन गर्न नसक्दा १३ हजार रुपियाँ बराबरको मात्रै बिक्री गरेको उहाँले सुनाउनुभयो ।
बेनी नगरपालिका–७ मङ्गलाघाटका हेमबहादुर पुनलाई पनि यतिबेला झिनिया बनाउन भ्याइनभ्याई छ । परिवारका १० जना सदस्य दैनिक झिनिया उत्पादनमा जुट्ने गरेको उहाँले बताउनुभयो । पुनका अनुसार दैनिक एक बोरा चामलको पिठो बराबरको झिनिया उत्पादन हुने गरेको छ ।
दसैँ–तिहारमा झिनियाको माग बढी हुने भएकाले परिवारका सबै सदस्य मिलेर उत्पादन गर्ने गरेको उहाँले बताउनुभयो । चाडपर्वको समयमा दुईदेखि तीन लाख रुपियाँसम्मको झिनिया बिक्री हुने गरेको उहाँको भनाइ छ ।
“बेनी बजारका साथै पोखराबाट पनि झिनियाको माग आउने गरेको छ । उत्पादन गर्न सके बिक्रीको समस्या छैन । पछिल्लो दुई महिनादेखि दैनिक १० जना परिवारका सदस्य झिनिया बनाउने काममा लागेका छौँ,” उहाँले भन्नुभयो ।

मङ्गलाघाटकै कल्पना श्रेष्ठ पनि झिनिया उत्पादनमा व्यस्त हुनुहुन्छ । उहाँले एक जना श्रमिक राखेर झिनिया बनाउँदै आउनुभएको छ । छोराछोरी विदेशमा रहेकाले आफू र श्रीमान् मिलेर चाडपर्वका बेला झिनिया उत्पादन गर्ने गरेको उहाँले बताउनुभयो ।
“चाडपर्वका समयमा करिब तीनदेखि चार लाख रुपियाँसम्मका झिनिया बिक्री हुन्छन्,” उहाँले भन्नुभयो, “तिहारमा माग धेरै आउने भएकाले एक जना श्रमिक राखेर उत्पादन गरिरहेका छौँ । उत्पादित झिनिया बेनी बजार, म्याग्दीका ग्रामीण भेग, पर्वत, बागलुङ र पोखरासम्म बिक्री हुने गरेको छ ।”
हेर्दा आकर्षक, स्वादिलो र सजिलै तयार पारेर खान सकिने भएकाले चाडपर्वका समयमा झिनिया रोटीको खपत बढी हुने गरेको श्रेष्ठको अनुभव छ ।

चामलको पिठो पकाएर मेसिनमा पेलेपछि चाउचाउको जस्तो त्यान्द्रो निकालिन्छ । त्यसलाई दुई दिनसम्म घाममा सुकाएपछि झिनिया तयार हुने उहाँले बताउनुभयो । उहाँले विद्युत्बाट चल्ने झिनिया बनाउने मेसिन प्रयोग गर्दै आउनुभएको छ ।

झिनियालाई घिउ वा तेलमा तारेर खान सकिन्छ । श्रेष्ठका अनुसार १२ वटा झिनिया भएको एक प्याकेट १४० देखि १५० रुपियाँसम्ममा बिक्री हुने गरेको छ । बेनीको मङ्गलाघाटमा मात्रै १५ जना झिनिया उद्यमी रहेको र अहिले सबैजसो उद्यमी उत्पादनमा व्यस्त रहेको बताइएको छ ।गोरखापत्र अनलाइनबाट साभार
