अमृत बास्कुने, म्याग्दी
बेनी, २५ असोज ।
मालिका गाउँपालिकाको केन्द्र दरवाङमा केन्द्रीय कार्यालय रहेको पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारणसभाबाट संस्थाको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ । आइतबार बेनी नगरपालिका–४, तातोपानीमा सम्पन्न अधिवेशनले कृष्णप्रसाद आचार्यको अध्यक्षतामा नयाँ सञ्चालक समिति तथा लोकनाथ रेग्मीको संयोजकत्वमा लेखा तथा सुपरिवेक्षण समिति सर्वसम्मत निर्वाचित गरेको हो ।

निर्वाचन नीतिको दफा १७ बमोजिम सार्वजनिक गरिएको अन्तिम परिणाम अनुसार संस्थाको उपाध्यक्षमा लेकबहादुर पुन, सचिवमा श्रीराम पौड्याल र कोषाध्यक्षमा दामोदर शर्मा निर्वाचित भएका हुन् । त्यसैगरी, सञ्चालक समितिको सदस्यहरूमा मायादेवी शर्मा, प्रेमलाल पौडेल, दीर्घबहादुर के.सी., दिलबहादुर बरुवाल र दीलनाथ पौडेल सर्वसम्मत रूपमा चयन भएका हुन् ।
संस्थाको वित्तीय पारदर्शिता र आन्तरिक सुशासनलाई मजबुत बनाउनका लागि आवश्यक पर्ने लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा लोकनाथ रेग्मी तथा सदस्यहरूमा शंकरजय मल्ल र श्रीकृष्ण रिजाल रहेका छन् ।
निर्वाचन अधिकृत दिवाकर सुवेदी तथा निर्वाचन समिति सदस्य नगेन्द्र क्षेत्रीद्वारा जारी गरिएको परिणाम मुचुल्का अनुसार अधिवेशनमा उपस्थित सम्पूर्ण शेयरधनीहरूबीचको आपसी सहमति र सर्वसम्मतिबाट नयाँ सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिको घोषणा गरिएको हो ।
नवनिर्वाचित नेतृत्वले संस्थाको हित, शेयरधनीहरूको बचतको सुरक्षा, पारदर्शी वित्तीय कारोबार तथा सहकारीको सेवालाई थप सर्वसुलभ र प्रविधिमैत्री बनाउने प्रतिबद्धता अध्यक्ष आचार्यले व्यक्त गरेका छन् ।

म्याग्दी जिल्ला पुरै र पर्वतको जलजला गाउँपालिका कार्यक्षेत्र भएको सहकारीमा कुल चार हजार २९ जना शेयर सदस्यहरु रहेका छन् । संस्थाको कुल शेयर पुँजी ११ करोड ४० लाख ३१ हजार नौ सय, जगेडा कोषमा ३ करोड ४८ लाख ७२ हजार चार सय ७, अन्य कोषमा १ करोड ४४ लाख ७८ हजार ५ सय ९४ रुपैंया रहेको संस्थाको वार्षिक प्रतिवेदनमा उल्लेख छ । त्यस्तै संस्थाको कर्जा नोक्सानी जोखिम कोषमा ४ करोड ७३ लाख ८० हजार ३ सय ९५, कुल निक्षेप रकम ७५ करोड ६६ लाख ९७ हजार ८ सय ७८ रहेको सहकारीको लगानीमा ५५ करोड ४४ लाख ४६ हजार ९ सय ८७ रहेको छ । सहकारीले आर्थिक वर्ष २०८२।०८३ मा कुल ८ करोड ७६ लाख ७१ हजार ३ सय ५९ आम्दानी र ८ करोड ७५ लाख ९६ हजार २३४ खर्च गरी कुल ७५ हजार १२४ नाफा गरेको छ ।
संस्थाको जग्गा २ करोड ५४ लाख ४० हजार १९० रुपैंया पर्ने रहेको छ भने भवन ६४ लाख ७६ हजार २ सय ५५, फर्निचर ३ लाख ६५ हजार ३२७, कम्प्युटर तथा प्रिन्टर २ लाख ६३ हजार ४६, सफ्टवेयर १ लाख ५५ हजार ११६, सवारीसाधन ४ लाख ५३ हजार ४३८ तथा अन्य विविध सम्पत्त २ लाख ७४ हजार ३१५ मुल्याङ्कन भएको सहकारीको प्रतिबेदनमा उल्लेख छ । संस्थाको कुल सम्पत्ती ९७ करोड ३३ लाख ९१ हजार ८ सय २१ बराबरको रहेको सहकारीले जनाएको छ । सहकारी संस्थामा २९ जना कर्मचारीले ७ वटा सेवा केन्द्रबाट सेवा प्रवाह गरी रहेका छन् ।
सहकारीले सेवा केन्द्र स्तरीय साधारणसभापछि केन्द्रीय रुपमा प्रतिनिधि मुलक सभा गरेको हो । आइतबार भएको साधारणसभाको सञ्चालन संस्थाका मुख्य व्यवस्थापक प्रेमलाल कँडेले गरेका थिए । भीमप्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा धवलागिरी गाउँपालिकाकी निवर्तमान अध्यक्ष थमसरा पुनको प्रमुख आतिथ्यता रहेको थियो भने देशीव्रसाद शर्मा, सुरेन्द्रराज शर्मा र मोतीराज गौतमले मन्तव्य राखेका थिए ।

