म्याग्दीको बेनीमा शनिबार सम्पन्न सातौँ अर्थुङ्गे कप फुटसल प्रतियोगिताको उपाधि आयोजक अर्थुङ्गे युवा क्लबले जितेको छ । थकाली एक्स निलगिरी हार्डवेयरलाई ४–१ गोलले पराजित गर्दै आयोजकले उपाधि आफ्नो पक्षमा पारेको हो ।
युवालाई खेलकुदतर्फ आकर्षित गर्दै अनुशासित, सिर्जनशील र सामाजिक उत्तरदायित्वप्रति सचेत बनाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष बिबेक बानियाँले बताउनुभयो । सामाजिक कार्यहरुमा पनि सक्रियता जनाउँदै आएको बेनी नगरपालिका–६, अर्थुङ्गेमा रहेको क्लबले युवाहरुको खेल प्रतिभालाई प्रष्फुटन गर्ने हेतुले प्रतियोगिता आयोजना गरेको हो । असोज २३ र २४ गते बेनी फुटसल, शिक्षामार्गमा सञ्चालन भएको प्रतियोगितामा विभिन्न जिल्लाका १७ टोलीको सहभागिता रहेको थियो ।
प्रतियोगिताको विजेता आयोजकले एक लाख ११ हजार एक सय ११ रुपियाँ तथा उपविजेता थकाली एक्स निलगिरी हार्डवेयरले ५५ हजार पाँच सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । क्लबका अध्यक्ष बानियाँका अनुसार प्रतियोगिताकै उत्कृष्ट खेलाडी आशिष गुरुङ र उत्कृष्ट गोलरक्षक अञ्जन क्षेत्रीलाई जनही पाँचपाँच हजार रुपियाँ सहित ट्रफी प्रदान गरिएको थियो । प्रतियोगिताकै सबै भन्दा अनुशासित टिम धुवीबोट एफसीले सात हजार नगद सहित ट्रफि प्राप्त गरेको क्लबका खेलकुद संयोजक लक्ष्मण खत्रीको भनाई छ ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो भने वडा नम्बर ६ का अध्यक्ष कृष्णसिंह बानियाँले समापन गर्नुभएको थियो । क्लबले असोज १७ र १८ गतेका लागि तय गरेको प्रतियागिता असोजको ८ देखि ११ गते सम्मको अविरल वर्षा र वर्षा पछिको बाढी पहिरोका कारण एक हप्ता ढिला गरि सञ्चालन गरिएको क्लबका अध्यक्ष बानियाँको भनाई छ ।
खेलकुदसँगै सामाजिक सेवामा पनि सक्रिय अर्थुङ्गे युवा क्लबले सक्रिय सहभागिता जनाउँदै आएको छ । फुटसल प्रतियोगिता जस्ता खेलकुद गतिविधिमा मात्र सीमित नभएर सामाजिक तथा मानवीय सेवासँग पनि क्लब जोडिँदै आएको छ । हालैको बाढीपहिरोका कारण बेनीबजार तथा आसपासका क्षेत्रमा खानेपानीको अभाव भएपछि क्लबले प्रभावितलाई निःशुल्क खानेपानी वितरणसमेत गरेको थियो ।
क्लबका सल्लाहकार विवेक हमाल लगायतको नेतृत्वमा बेनी बजार तथा आसपासको क्षेत्रमा पानी वितरण गरेको म्याग्दी उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष बेलबहादुर कटुवालको भनाई छ ।
सातौँ संस्करणसम्म आइपुगेको अर्थुङ्गे कपले स्थानीय खेलाडीलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्नुका साथै युवाबीच सहकार्य, अनुशासन र खेलभावना विकास गर्न सहयोग पु¥याएको क्लबका कार्यक्रम संयोजक केशब शाहीको भनाई छ । स्थानीय युवालाई खेलकुदमा जोड्ने र सामाजिक सेवामा परिचालन गर्ने उद्देश्यसहित यस्ता गतिविधिलाई निरन्तरता दिन दिँदै स्थानीय खेल प्रतिभाको विकाससँगै समुदायमा सहयोग र सहकार्यको संस्कृतिलाई थप बलियो बनाउनका लागि क्लब सदैव लागि रहने क्लबका सल्लाहकार विवेक हमालको भनाई छ ।

