नुवाकोट र रसुवा जिल्लामा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि म्याग्दीका निजी विद्यालय र विद्यार्थीले नौ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) म्याग्दीको पहलमा जिल्लाका विभिन्न निजी विद्यालय, शिक्षक, विद्यार्थी तथा अभिभावकबाट संकलित नौ लाख ३३ हजार दुई सय ८१ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप तथा विपद् व्यवस्थापन कोषमा जम्मा गरिएको हो ।
विपद्का कारण ठूलो जनधनको क्षति व्यहोरेका परिवारलाई सहयोग गर्ने उद्देश्यले प्याब्सन केन्द्रीय कार्यालयको परिपत्र तथा निर्देशनअनुसार जिल्लाका विद्यालयमा सहयोग संकलन अभियान सञ्चालन गरिएको थियो । अभियानमा विद्यालय तथा विद्यार्थीले स्वस्फूर्त रूपमा सहभागिता जनाएका थिए ।
प्याब्सन म्याग्दीका अध्यक्ष हीराबहादुर पुनका अनुसार संकलित सम्पूर्ण रकम तोकिएको सरकारी खातामा दाखिला गरिसकिएको छ । विपद्का बेला पीडित परिवारलाई आफ्नो क्षमताअनुसार सहयोग गर्नु सामाजिक दायित्व भएकाले विद्यालय परिवारलाई अभियानमा सहभागी गराइएको उहाँले बताउनुभयो ।
सहयोग संकलनमा न्यू वेष्टपोइन्ट बोर्डिङ स्कुलको सबैभन्दा ठूलो योगदान रहेको छ । उक्त विद्यालयबाट चार लाख ५१ हजार रुपैयाँ संकलन भएको छ । त्यस्तै माउन्ट एभरेष्ट सेकेन्डरी बोर्डिङ स्कुलबाट दुई लाख दुई हजार रुपैयाँ सहयोग प्राप्त भएको छ ।
दरबाङ इङ्लिस बोर्डिङ स्कुलबाट १६ हजार ७० रुपैयाँ, म्याग्दी एकेडेमीबाट १३ हजार रुपैयाँ, बेनी बोर्डिङ सेकेन्डरी स्कुलबाट १० हजार एक सय ११ रुपैयाँ, रुमा नमुना इङ्लिस बोर्डिङ स्कुलबाट १० हजार रुपैयाँ र केबी एकेडेमीबाट चार हजार रुपैयाँ संकलन भएको प्याब्सन म्याग्दीले जनाएको छ ।
त्यसैगरी लिटिल गार्डन एकेडेमीलगायतका विद्यालयबाट समेत सहयोग प्राप्त भएको जनाइएको छ । विद्यालयगत रकममा उल्लेखित विवरणअनुसार कुल रकम नौ लाख ३३ हजार दुई सय ८१ रुपैयाँ पुगेको प्याब्सन म्याग्दीले जनाएको छ ।
प्राकृतिक विपद्ले प्रभावित परिवारको दैनिकी नै अस्तव्यस्त बनाइरहेका बेला बालबालिका र विद्यालय परिवारबाट संकलित सहयोगले मानवीय संवेदनाको सकारात्मक सन्देश दिएको छ । विपद् पीडितको दुःखमा आफ्नो जिल्ला र समुदायभन्दा बाहिरका नागरिकसमेत जोडिनुपर्ने भावनालाई विद्यार्थी तहदेखि नै विकास गर्नुपर्ने आवश्यकता रहेको प्याब्सन म्याग्दीको भनाइ छ ।
प्याब्सन म्याग्दीले सहयोग अभियानमा सहभागी हुने सबै विद्यालय, शिक्षक, विद्यार्थी तथा अभिभावकप्रति आभार व्यक्त गरेको छ । साथै विपद्को कठिन घडीमा पीडित परिवारप्रति सहानुभूति प्रकट गर्दै उनीहरूको शीघ्र पुनर्स्थापनाको कामना गरेको छ ।