नेपालमा विवाहका लागि कानुनी उमेर २० वर्ष र १८ वर्षभन्दा कम उमेरका बालबालिकाको यौन सुरक्षाका लागि समेत कानुनले विशेष व्यवस्था गरेको भए पनि प्रदेश अस्पताल बेनीमा पछिल्लो १४ महिनामा एक जना १४ वर्षको सहित ७६ जना २० वर्ष मुनिका आमा बनेका छन ।
अस्पतालको प्रसूतिमा पछिल्लो १४ महिनामा ७६ जना २० वर्ष भन्दा कम उमेरमै आमा भएका छन् । २० वर्ष मुनिका ७६ जना सुत्केरी भएका मध्ये १८ वर्ष पुरा नभएका पनि ३७ जना रहेको बेनी अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा.हेमन्त बाँस्तोलाले बताउनुभयो ।
डा.बाँस्तोलाका अनुसार सबैभन्दा कम उमेरकी १४ वर्षकी बालिकाले बच्चा जन्माएकी छिन् । त्यस्तै प्रदेश अस्पताल बेनीमा १५ वर्षका तीन जना, १६ वर्षका चार जना, १७ वर्षका १० जना र १८ वर्षका २२ जना किशोरीले सुरक्षित प्रसुति सेवा लिएको तथ्यांकमा उल्लेख छ ।
नेपालको कानुनले २० वर्ष पूरा नगरी विवाह गर्न निषेध गरेको छ । त्यस्तै १८ वर्षभन्दा कम उमेरका बालिकासँग सहमतिमा यौन सम्बन्ध राखिएको अवस्थामा समेत कानुनले त्यसलाई बलात्कारको रूपमा परिभाषित गरेको छ । यस्तो कानुनी व्यवस्था हुँदाहुँदै १४ वर्षकै उमेरमा बालिका आमा बन्न अस्पताल पुग्नु गम्भीर सामाजिक, कानुनी र जनस्वास्थ्यको विषय बनेको डा.बाँस्तोला बताउनुहुन्छ ।
यो तथ्यांकलाई केवल कम उमेरमा बच्चा जन्माएको घटनाका रूपमा हेर्ने भन्दा पनि यसको पछाडि बालविवाह, गरिबी, शिक्षा बीचमै छुट्ने अवस्था, सामाजिक दबाब, लैंगिक असमानता, यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जानकारीको कमी र बालबालिकाको संरक्षणमा रहेका कमजोरीजस्ता कारण हुन सक्ने उहाँको भनाइ छ ।
प्रदेश अस्पताल बेनीले उपलब्ध गराएको तथ्याङ्कको अध्ययनले किशोरी आमाहरूमा स्वास्थ्यसम्बन्धी जोखिमसमेत उच्च रहेको देखाएको छ । २०८२ साउन १ गते देखि हाल सम्मको तथ्याङ्क अनुसार ७६ जना सुत्केरी भएकामध्ये ३० जनाको शल्यक्रिया गरेर बच्चा जन्माइएको थियो । विश्व स्वास्थ्य संगठनले बढीमा १५ प्रतिशत शल्यक्रिया हुन पर्छ भन्ने गरेको भए पनि किशोरी आमाहरुको दर ३९ दशमलव ५ प्रतिशत रहेको छ । कम उमेरमा बच्चा जन्माउने अवस्थाले गर्दा शल्यक्रियाको दरसमेत बढेको तथ्यांकले देखाएको प्रदेश अस्पताल बेनीका मेडिकल अधिकृत रामु सापकोटाको भनाई छ ।
प्रदेश अस्पतालका मेसु डा.बाँस्तोलाका अनुसार २० वर्ष भन्दा माथिल्लो उमेर पुगेका युवतीमा शल्यक्रियाको दर २९ दशमलव ४ प्रतिशत रहेकामा १८ वर्षमुनिका किशोरीमा यो दर ४० प्रतिशत देखिन्छ । अझ १५ वर्ष उमेरका सुत्केरीमध्ये ७५ प्रतिशतको शल्यक्रिया गर्नुपरेको उहाँको भनाई छ ।
कलिलो उमेरमा गर्भधारण गर्दा शरीर पूर्ण रूपमा परिपक्व नभइसकेका कारण गर्भावस्था र प्रसूतिको समयमा जटिलताको जोखिम बढ्न सक्छ । अध्ययनमा केही किशोरीलाई प्रसूतिको समयमा भ्याकुमको प्रयोग गर्नुपरेको तथा गर्भावस्थाको उच्च रक्तचाप, अत्यधिक रक्तस्राव र बच्चा उल्टो बसेका कारण आकस्मिक शल्यक्रिया गर्नुपरेका घटनाहरु अस्पतालले अभिलेख गरेको पाइएको छ । समग्रतामा हेर्दा अस्पतालमा जन्म भएका ७६ नवजात मध्ये १० जनाको तौल २ दशमलव ५ किलोग्रामभन्दा कम रहेको पाइएको छ ।
प्रदेश अस्पतालमा सुत्केरी हुनका लागि आएका २० वर्ष मुनिका ७६ जनामध्ये ५२ जना अर्थात् ६८ दशमलव ४ प्रतिशत दलित समुदायका छन् । जनजाति समुदायका १७ जना र ब्राह्मण÷क्षेत्री समुदायका सात जना रहेका छन् । यसले गरिबी, शिक्षामा पहुँचको कमी, विद्यालय छाड्ने अवस्था र बालविवाहजस्ता सामाजिक जोखिम केही समुदायमा बढी रहेको संकेत गर्छ । यद्यपि अस्पतालमा उपचारका क्रममा शल्यक्रियाको दर भने समुदायअनुसार ठूलो अन्तर देखिएको छैन ।
प्रदेश अस्पतालमा आएका मध्ये म्याग्दीको मंगला गाउँपालिकाबाट १८, बेनी नगरपालिकाबाट १६, मालिका गाउँपालिकाबाट १२, धवलागिरिबाट नौ, रघुगंगाबाट आठ जना र पर्वतको जलजला गाउँपालिकाबाट आठ किशोरी सुत्केरी भएको तथ्याङ्कले देखाएको छ । म्याग्दीका सबै स्थानीयतह र छिमेकी जलजला गाउँपालिका भन्दा अन्यत्रबाट पनि पाँच जनाले अस्पतालबाट सेवा लिएको अस्पतालले जनाएको छ । अस्पतालमा सेवाका लागि आएका मध्ये जलजला गाउँपालिका र रघुगंगा गाउँपालिकाबाट आएका किशोरी सुत्केरीमा शल्यक्रियाको दर क्रमशः ६२ दशमलव ५ र ५० प्रतिशत देखिएको अस्पतालले जनाएको छ । यसले ग्रामीण क्षेत्रमा गर्भावस्थाका जोखिम समयमै पहिचान गरी उपयुक्त स्वास्थ्य संस्थामा पठाउने प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखाउँछ ।
बेनी अस्पतालले सेवा दिएको भन्नु भन्दा पनि १४ वर्षकी बालिका प्रसूति वार्डमा पुग्नु एउटा परिवारको मात्र विषय नभएर विद्यालय, समुदाय, स्थानीय सरकार र राज्यका सबै तहका लागि गम्भीर चेतावनीको विषय पनि हो । बालिका आमा बन्ने अवस्थासम्म पुग्नुअघि नै बालविवाह रोक्न, विद्यालयबाट बाहिरिन नदिन र जोखिममा रहेका बालबालिकाको पहिचान गर्न आवश्यक छ ।
स्थानीय तहले किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा प्रभावकारी बनाउन, विद्यालय तथा समुदायमा उमेरअनुकूल यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी शिक्षा विस्तार गर्न र महिला स्वास्थ्य स्वयंसेविकामार्फत बालविवाहविरुद्धको सचेतना गाउँगाउँसम्म पु¥याउन आवश्यक देखिएको जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले बताउनुभयो ।
बेनी अस्पतालको यो तथ्यांक केवल स्वास्थ्यसम्बन्धी अभिलेख होइन, समाजको अवस्थाको ऐना पनि हो । कानुनले विवाहको उमेर तोकेर मात्र बालविवाह अन्त्य हुँदैन । १४ वर्षकी बालिका आमा बन्नुपर्ने अवस्था आउनै नदिन परिवार, समाज, विद्यालय, स्थानीय सरकार र राज्यका संयन्त्र एकसाथ सक्रिय हुनुपर्छ । किशोरीलाई समयअगावै मातृत्वको बोझ होइन, सुरक्षित बाल्यकाल, शिक्षा र आफ्नो भविष्य रोज्ने अवसर दिन सक्नु नै यस्तो अवस्थाको वास्तविक समाधान हो ।
